• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

विभागले व्यापार गरेर पैसा कमाउने होइन : मेयर शाक्य



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित हुनुभएको छ  । 

आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निमाणका क्रममा विवाद हुने गरेको बताउनुभएको हो । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताउनुभयो । अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लाउनुभयो । उहाँले भन्नुभयो ‘पुरातत्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? के लडाउने काम हो ? त्यसकारण पुरातत्व विभागलाई त्यस्तो किसिमले छाडा रुपमा छोडन सकिन्न । जनता जनताबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्व विभागलाई कानूनको दायराभित्र हामी ल्याउँछौं ।’

मेयर शाक्यले पुरातत्व विभागले यही अनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनी समेत दिनुभयो । महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि बताउनुभयो । हनुमानढोका भित्र रहेका सतलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खालि गराउन विभागलाई पत्राचार गरिसकेको बताउनुभयो । सबै पसल र होटलहरु नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि दिनुभयो । उहाँले भन्नुभयो ‘काठमाडौं महानगरपालिका मौलिक संस्कृति, मौलिक सम्पदालाई मौलिक रुपमा कायम गर्न चाहन्छौं । हामीले पुरातत्व विभागलाई पत्र पनि लेखिसकेका छौं । हनुमानढकोका भित्र जुन जुन सतलहरु थियो, ती सतलबाट पुरातत्व विभागले व्यापार गरेर खाइरहेको छ । ती पसल बन्द गर भनेर पत्रचार गरिसकेका छौं । पुरातत्व विभागले व्यापार गरेर पैसा कमाउने होइन । सतल खुल्ला नै हुनुपर्छ । बटुवा मैत्री हुनुपर्छ भन्ने काठमाडौ महानगरपालिकाको धारणा हो । हामीले पत्राचार गरिसकेका छौं । पुरातत्वले कस्तो व्यवहार गर्छ हेर्न बाँकी छ । अरु सबैलाई सिकाएर हिँडने पुरातत्व विभाग आफै होटल राखेर व्यापार गरेर पैसा काईराखेको छ । त्यसको अव हामी काठमाडौं महानगरबासी सहने छैनौं । हटाउँछौं । हटाएन भने अब स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गरेर अगाडि बढ्छौं । ’

मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनैपनि विवादमा नबोल्दा समेत निर्माण कार्यमा ढिलाई हुने गरेको बताउनुभयो । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि मेयर शाक्यले लगाउनुभयो । उहाँले भन्नुभयो ‘मैले पुनर्निर्माण प्राधिकरणलाई पनि भनेको छु । आफूले गर्दा जे पनि ठिक अरुले गर्दा बेठिक भन्न पाइन्न । हाम्रोलागि बोल्ने को ? उहाँहरुले गर्दा सबै बोल्ने हामी, उहाँहरुलाई पर्दा सबै संरक्षण हामीले गरिदिनुपर्ने अनि विवाद आएपछि आफू पन्छिएर भाग्न पाइन्न ।’