९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल

छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल
अ अ+ अ-

कञ्चनपुर । तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आउनुभएको छ । स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उहाँले बेच्ने गर्दै आउनुभएको छ ।

कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरेको छ । दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने गरेको उहाँ बताउनुहुन्छ । “साइकल चढेर दैनिक गाउँघरमा पुग्छु”, उहाँले भन्नुभयो, “गाउँबाट खरिद गरिएका कुखुरा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा पुर्याएर बेच्ने गर्छु, यो कार्य ३६ वर्षअघिदेखि गर्दै आएको छु ।” अठार वर्षको उमेरदेखि कुखुरा खोज्ने र बेच्ने कार्यमा सार्की संलग्न छन् ।

“घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ”, सार्कीले भन्नुभयो, “आमाबुवाले विद्यालय पठाएनन्, दलित समुदायको भएर होला पढ्नुपर्छ भन्ने त्यसबेला चेतना नै थिएन, जीवन चलाउनका लागि केही त गर्नैपर्यो, त्यही भएर कुखुरा खोज्ने बेच्ने कार्यमा लागेँ ।”

आर्थिक अवस्था निकै नाजुक भएकाले बुवाले घरमै पालिएको कुखुरा बेच्न बजार पठाए, त्यसबेला कुखुरा प्रतिकिलो रु ३० मा बिक्री हुन्थ्यो”, विगत सम्झै सार्कीले भन्नुभयो, “कुखुरा बेचेर नगद रकम हातमा पर्यो, खरिद गर्ने व्यक्तिले अरु कुखुरा भए ल्याउन भने, मनमनै सोचे यसै कार्यलाई व्यापार बनाएर जीविका चलाउने आधार बनाए अघि बढ्ने निधो गरेँ ।” त्यसपछि कुखुरा खोज्ने, बिक्री गर्ने कार्य गर्न थालेको उहाँ बताउनुहुन्छ ।

कुखुरा खरिद गर्नका लागि पैसा नभएपछि आफन्तसँग केही रकम सापटी मागेर कुखुरा खरिद गर्न थालेको उहाँ स्मरण गर्नुहुन्छ । महेन्द्रनगर बजार पुर्याएर बेच्ने गर्न थालेपछि आम्दानी सोचेजस्तै भएपछि यस कार्यलाई अहिले पनि नछाडेको उहाँ उल्लेख गर्नुहुन्छ ।

गाउँघरबाट रु छ सय प्रतिकिलोका दरले सार्कीले कुखुरा खरिद गरेर बजारमा पुर्याएर रु छ सय ५० मा बिक्री गर्नुहुन्छ । जसबाट उहाँको मासिक आम्दानी रु २० देखि २५ हजारसम्म हुने गरेको छ । कुखुरा बेचेर आएको आम्दानीबाट सार्कीले गाउँमा तीनकोठे पक्की घर ठड्याउनुभएको छ । उहाँले चार छोरीको पढाइसँगै विवाह खर्च कुखुरा बेचेकै पैसाबाट व्यहोर्नुभएको छ । उहाँका एक छोरी विद्यालयमा पढ्दैछिन् भने छोरा यस वर्ष कमाउनका लागि भारततर्फ लागेका छन् ।

“पहिले स्थानीय जातका कुखुरा विशेषगरी थारू समुदायका घरघरमा निकै बढी हुने हँुदा खोज्न बढी परिश्रम गर्नु पर्दैनथ्यो”, उहाँले भन्नुभयो, “हाल थोरै परिवारका घरमा मात्रै स्थानीय जातका कुखुरा पाइने गरेका छन्, कुखुरा खोज्नका लागि टाढाटाढाका गाउँसम्म पुग्नुपर्ने हुन्छ ।” कुखुरा पाइएका दिन आम्दानी हुने भए पनि कुखुरा नपाइएका दिन रित्तो हात घर फर्कनुपर्ने अवस्था पनि हुने गरेको उहाँ सुनाउनुहुन्छ । घरमा उहाँको आफ्नो स्वामित्वको सात कठ्ठामात्रै जग्गा छ ।

वर्षभरिका लागि जग्गामा उत्पादन हुने अन्नले नपुग्दा बजारबाट कुखुरा बेचेकै पैसाले खरिद गरी साँझ बिहानको छाक टार्नुपर्ने अवस्थासमेत उहाँलाई आइलाग्ने गरेको छ । नुन, तेल, सोडा साबुन, लुगाफाटोलगायतका घरायसी खर्च कुखुरा बेचेकै पैसाले व्यहोर्दै आएको उहाँ बताउन्हुन्छ । वर्षौँदेखि यसै पेसामा लागेकाले अधिकांश गाउँका बासिन्दाले उहाँलाई चिन्छन् । चिनजान बढ्दै जाँदा कुखुरा खोज्न सहज हुने गरेको उहाँ उल्लेख गर्नुहुन्छ । “यस व्यापारमा लागेपछि अरुसँग हात फैलाएर माग्न गएको छैन”, उहाँले भन्नुभयो, “अरुलाई आपत्विपत् पर्दा सहयोग गरेको छु, आफू र परिवार खर्च सहजरूपमा चलाउँदै आएको छु, यसमै खुसी छु, ।”

वडाध्यक्ष रमेशबहादुर ऐर छविलाललाई पौरखीका रूपमा चिन्ने गर्दछन् । “आफैँ पौरख गरेर जीविका चलाउने व्यक्तिका रूपमा उहाँलाई चिनेको छु”, उहाँले भन्नुभयो, “आफ्नो कार्यमा सधैँ खटिरहन्छन्, युवाहरूका लागि उहाँ प्रेरणाका स्रोतका रूपमा रहेका छन् ।” रासस