• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

ओलीको आरोप: जनयुद्ध प्रधानमन्त्री बनेर सत्ता कब्जाका लागि मात्रै थियो



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला गतिविधिहरु हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताउनु भयो । उहाँले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताउनु भयो ।

उहाँले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गर्नुभयो । उहाँले हिंसा किन गरेको थियो भन्नेकुरा हालसम्म पनि पुष्टि गर्न नसकेको बताउनु भयो । उहाँले युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दु:खद् भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले साह्रै जटिल अवस्था पार गरेर आयौँ । धेरै जटिल अवस्था । एउटा त, हिंसात्मक द्वन्द्व भयो । हिंसा भयो देशमा । हिंसा किन र केका लागि भयो ? त्यसको पुष्टि कसैले गर्न सकेको छैन । जनताले आवाज राख्न, बोल्न पाएन, बोलेर आफ्ना कुरा र हीत राख्न पाएन भन्ने अवस्था थिएन । संविधानले बोल्ने अधिकार, संगठित हुने अधिकार दिएको थियो । र आफ्ना कुरा राख्ने अधिकार दिएको थियो,हिंसा किन गर्नुपर्‍यो, त्यो पुष्टि अहिलेसम्म कसैले गर्न सकेको छैन । अनि हिंसा भयो, त्यहाँ शान्तिपूर्ण ढंगले परिवर्तन गर्न र ल्याउन सकिने सरकारमा पुग्न सकिने, सरकारमा पुगेर आफ्ना नीति, देश र जनताको पक्षमा बनाउन सकिने अवस्था थियो ।

संविधानले शान्तिपूर्ण बाटाहरु बन्द गरेको थिएन । संवैधानिक हिसावले नै बाटाहरु उपलब्ध थिए । त्यस्तोमा हिंसा रहर हुन, लहड हुन सक्दैन । हिंसा भयो । यो कुनै राणा शासन थिएन, पञ्चायती थिएन । संगठन गर्न नपाइने, बोल्न नपाइने, विचार व्यक्त गर्न नपाइने अवस्था थिएन । अनि फेरि हिंसा किन गर्नुपर्‍यो ? अलिक पछि हिंसा बिसाएर फेरि आउनुपर्‍यो । बिसाएर त्यही प्रणालीमा आउँदा ०६३ सालमा हिंसा शुरु गरेको मिति ०५२ सालमा हुँदा ०६३ सालमा आइपुग्दा केमा फरक परेको थियो ? के कारणले फेरि त्यही व्यवस्था, त्यही प्रणालीमा आउनुपरेको थियो । त्यही संसदमा नलडीकन हिस्सा लिइयो । सरकारमा भुनाव नलडी पुगियो । अनि हिंसा छोडियो । के भएर ? किन त्यत्ति थियो । त्यसको उद्देश्य । पाल्र्यामेण्टमा अच्छाखासा सिट संख्या ? र सरकारमा राम्रो हिस्सा ।

अरु त केही प्राप्त गरेको देखिँदैन । भनेपछि हिंसा किन गरेको थियो अहिलेसम्म पुष्टि छैन । तर १७ हजार मानिस मारिए । मानव अधिकारको भयावह उल्लंघन भयो । मारिने १७ हजारको कुरा बेग्लै हो, धेरै घाइते, अशक्त भए, अहिले शरीरमा गोली बोकेर हिँडेका छन् । कोही वर्षौंसम्म बिस्तारमा परेर मर्नुपर्ने अवस्था आयो । हिंसाको मात्रै कुरा होइन, आतंक बेग्लै खालको थियो । मान्छे गाउँमा बस्न सकेनन् । सदरमुकाम गए, सदरमुकाममा बस्न सकेनन् राजधानी आए, राजधानीमा बस्न सकेनन् विदेश पलायन भए । विदेश पलायन हुने कुराको लस्कर त्यहाँबाट शुरु भएको हो । भयावह हिंसा भयो । राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा चाहिएको सत्ता रहेछ । जम्माजम्मी सत्ता । सरकार रहेछ, सांसद रहेछ । चाहिएको त प्रधानमन्त्री न रहेछ । अनि त्यत्तिका लागि यत्रो मान्छे मर्नुपर्ने ?’

अध्यक्ष ओलीले नेकपा एमालेको नीति राजनीतिक हितहरुका लागि मात्रै रहेको बताउनु भयो ।