५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा



अ+ अ-

बागलुङ । जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दुवै मात्रा खोप पाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ । 

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ । कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्ष भित्रका बालबालिका र किशोरकिशोरीलाई पनि खोप दिन सुरु गरिएको बताउनुभयो ।

सो उमेर समूहका २३ हजार दुई सय २८ जनाले मोडर्ना खोप पाइसकेको उहाँको भनाइ छ । कुल २७ हजारलाई लगाउने लक्ष्य लिइएकामा ८४ प्रतिशतले खोप पाइसकेका छन् । यसअघि खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगिसकेका दुई हजार ३९ जनालाई बुस्टर मात्रा दिइएको प्रमुख गुरौले जानकारी दिनुभयो । 

कोभिसिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् । पहिलो चरणमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायतलाई बुस्टर मात्रा दिइएको हो । सरकारले ६० वर्षमाथिकालाई पनि बुस्टर मात्रा दिने नीति बनाएको छ । “खोप अभियान जिल्लाका दसै स्थानीय तहमा निरन्तर चलिरहेको छ”, प्रमुख गुरौले भन्नुभयो, “१२ वर्ष माथिका सबैले खोप पाउहुनुहन्छ ।”

उहाँका अनुसार खोपको अभाव हुने स्थिति अहिले छैन । सानो उमरेका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने भनेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान सञ्चालन भएमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्छ ।

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो । उहाँका अनुसार यस चरणमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून छ । 

“खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन”, उहाँले भन्नुभयो, “अस्पताल भर्ना भएकाको अवस्था पनि सामान्य छ, अक्सिजन पनि कम मात्र दिए पुग्ने स्थिति छ ।” अस्पतालको आइसोलेशनकक्षमा अहिले चार जना सङ्क्रमित उपचाररत छन् ।

आईसियूमा भने कुनै पनि बिरामी छैनन् । सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा बिरामी थपिन सक्ने प्रमुख चिकित्सक पोखरेललको भनाइ छ । पछिल्लो लहरमा अस्पतालकै १८ जना चिकित्सक/स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । प्रत्येक व्यक्ति जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेमा सङ्क्रमण रोक्न सकिने उहाँको भनाइ छ ।  

स्वास्थ्य कार्यालयको आँकडाअनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ८३ छ । धवलागिरि अस्पतालको आइसोलेशनमा रहेका चार जनाबाहेक अरु सबै सङ्क्रमित होम आइसोलेशनमा छन् । पछिल्लो साता सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर पाँच सय नाघेको हो ।