• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo

बारुदको थुप्रोको छेवैमा रहेको बस्ती



काठमाडौं । तत्कालीन काठमाडौं नगरपालिकाले नगरपालिकाभित्र फोहोर फाल्नका लागि मुलपानीको खाली स्थान प्रयोग गर्‍यो । केही बर्ष सम्म फोहोर फालेपछि सो स्थानमा बायोग्यास निस्कन थाल्यो । स्थानीयबासिन्दाहरुले सो स्थानबाट खानेपानीमा प्रयोग हुने खानेपानीको पाईपलाई एउटा ड्रमभित्र जोडेर घर घरमा पुर्‍याएर ईन्धनको भरपुर उपयोग गरे । जब फोहोरको घनत्व बढ्दै गयो त्यसपछि स्थानीयले बस्तिको बिचमा फोहोर व्यवस्थापन होईन फाल्ने कार्य रोके । त्यस समयमा फालेको फोहोरबाट अझैसम्म पनि कतिपय स्थानमा ग्यास निस्किरहेको छ ।

फोहोर फालेको स्थानमापछि घेरै नै माटो थुपारेर पुर्ने काम भयो तर पनि ग्यास निस्किरहेको छ । धन्य कुनै दुर्घटना हुन पाएन । मुलपानीमा फोहोर व्यवस्थापन गर्न नमिलेपछि वैकल्पिक स्थानमो खोजी हुँदा छिमेकी जिल्ला नुवाकोट र धादिङको सीमामा रहेको स्थान सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा फोहोर फाल्न थालियो ।

यहाँ फोहोर फाल्न मात्र थालियो तर वैज्ञानिक व्यवस्थापन भने भएन । काठमाडौं उपत्यकाको फोहोरको वैज्ञानिक व्यवस्थापन हुन नसक्दाको दुष्परिणाम ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय जनताले भोग्दै आएका छन् । फोहोर फालिएको क्षेत्रका जनतामा फोहोरका कारण बहुआयामिक असर देखिएको छ । यस क्षेत्रका अधिकांश स्थानीय रोगी छन् । त्यसमा झन्डै ८० प्रतिशतमा क्यान्सर देखिएको छ । कृषि उत्पादनमा कमी हुँदै गएको छ भने भएको उत्पादन पनि कुहिएर झर्न थालेको छ ।

स्थानीय स्तरमा खुलेका साना उद्योग सबै बन्द भइसकेका छन् । यसले स्थानीयको आयआर्जन र उद्यमशिलतामा असर गरेको छ । यो संगै त्यसक्षेत्रमा बायोग्यास समेत जम्मा हुदै गएको छ । लामो समय सम्म त्यसको बैज्ञानिक व्यवस्थापन नहुने हो भने कुनै पनि अर्को भवितब्य नहोला भन्न सकिन्न ।

यो पनि पढ्नुहोसल्याण्डफिल साइटमा सकस: बञ्चरेडाँडा क्षेत्रमा मानव स्वास्थ्यमा समस्या–तस्बिर र भिडियो सहित

ककनी गाउँपालिका २ का स्थानीय विश्वनाथ बजगाईं र राजकुमार घिमिरे फोहोर आएपछि अहिले ६५ प्रतिशत मानिसलाई क्यान्सर बढेको बताउनुहुन्छ ।जन्मजातै क्यान्सर बोकेर आउनुपर्ने बाध्यता आफूहरुमा रहेको जिकिर उहाँहरुको छ । उहाँहरुले कृषि उत्पादनहरुमा पनि किरा लाग्ने र बिग्रिने गरेको बताउनु भयो । फोहोरको गन्धले टाउको दुख्ने समस्या त दैनिक रुपमा नै भोग्नुपर्ने अवस्था रहेको बताउनुभयो । फोहरका कारण यस क्षेत्रका स्थानीयको आर्थिक चक्र नै ठप्प जस्तो भएको छ ।

यो पनि पढ्नुहोसल्याण्डफिल्ड साइटको सकस: छोरी अन्मिएर जान्छन् ,बुहारी खोज्नै कठिन ! (भिडियोसहित)

ककनी गाउँपालिका ३ का स्थानीय मनिष ढुंगाना र कृष्णहरि ढुंगानाले फोहोरका कारणले विभिन्न क्यान्सरका रोगदेखि फलफूल लगायतका कृषि उब्जनीमा ह्रास आएको बताउनु भयो । फोहोरकै कारणले विवाह गर्न नमान्ने, जग्गा बैंकमा राखेर बैंकले ऋण नदिने समस्या भइरहेको उहाँहरुको भनाइ छ । युवतीहरुको विवाह गरेर अन्यत्र जान केही सहज भएपनि अन्यत्र ठाउँमा विवाहका लागि युवकहरुलाई युवती खोज्न समस्या भइरहेको बताउनु भयो । अन्यत्र स्थानका मानिसहरुले फोहोर फाल्ने ठाउँ भएकै कारण कन्या नदिने गरेको बताउनु भयो ।

नुवाकोटको सिसडोलबाट २०६२ सालमा २ वर्षको क्षमता रहनेगरी शुरु भएको अस्थायी स्यानिटरी ल्याण्डफिल्ड अहिले ओखरपौवा हुँदै बञ्चरेडाँडासम्म पुगेको छ । २ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिल्डमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन १३ वर्षसम्म गरिएको थियो । सिसडोल, ओखरपौवा र बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर निरन्तर फाल्न थालेको १९ वर्ष बढी भइसकेको छ ।

फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा स्थानीय जनता मारमा परिरहेका छन् । यस क्षेत्रको समग्र विकासमा असर गरिरहेको छ । स्थानीय गाउँ छोडेर बसाईं सर्न थालेका छन् । केही समय यस्तै रहे स्थानीयको जीवन रक्षा गर्न पूरा गाउँ नै स्थानान्तरण गर्नुपर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।
बञ्चरेडाँडाका स्थानीय प्रकाश घिमिरेले सरकारले फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा बञ्चरेडाँडाका स्थानीयहरुको स्वास्थमा समस्या आउन थालेको बताउनु भयो । उहाँले हरेक वर्ष ५ देखि १० जना मानिसहरु र पशुपंक्षीहरुको समेत क्यान्सरको कारण मुत्यु हुन थालेको बताउनु भयो ।

यो पनि पढ्नुहोस- फोहोरको गन्धका कारण ककनीमा हुँदैन उब्जनी, भएको उब्जनी बिक्री हुनै गाह्रो(फोटो फिचर)

उहाँले फोहोरको गन्ध पुग्ने जति स्थानमा खेती समेत हुन छोडेको बताउनु भयो। मानिसहरुदेखि पशुपंक्षी र खेतीपातीमा समेत विभिन्न रोग लाग्ने प्रकोप नै फैलिएको उहाँको भनाई छ । स्थानीयवासी घिमिरेले फोहोरको दुषित गन्धको हावाको कारण मानिसहरुलाई श्वासप्रश्वासमा नै समस्या परेको दुखेसो पोख्नुभयो । उहाँले फोहोरको गन्धको कारण घरभित्र बसेर खाना खान समेत सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले वातावरण प्रभाव मूल्यांकन टोलीहरु आएर फोहोरबाट निस्कने मिथेन ग्यासको असरको कारण यो क्षेत्रमा मानिसहरु बस्न नहुने भने पनि सरकारले उचित कदम अहिलेसम्म नचालेको गुनासो गर्नुभयो । उहाँले सिसडोल र बञ्चरेडाँडामा फोहोर विसर्जन गरी सरकारले मानव स्वास्थ्यमाथि खेलवाड गरिरहेको बताउनु भयो ।

अर्का स्थानीयवासी नारायणप्रसाद घिमिरेले सरकारले एक घर एक रोजगार दिने भनेर फकाएर बञ्चरेडाँडामा उपत्यकाको फोहोर ल्याएर फालेको भन्दै सरकारले बस्तीलाई स्थानान्तरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सोझा जनतालाई ललिपप्प देखाएर फोहोर जहाँ त्यहाँ मोहर भने पनि अहिलेसम्म केही नभएको गुनासो गर्नुभयो । उहाँले सरकारले मुआब्जा दिएर बस्ती स्थानान्तरण तत्काल नगरे फोहोर फाल्न बन्द गर्नुपर्ने माग राख्नुभयो । उहाँले सरकारले जनतालाई फकाएर फोहोर फाल्दा मोहर आउँछ भनेर तालि पिटेर स्वागत गरेका बञ्चरेडाँडाका बासीन्दालाई अहिले फोहोर बिष ल्याए जस्तो भएको दु:खे सो गर्नुभयो ।

यो पनि पढ्नुहोसफोहोर व्यवस्थापनमा अहिलेको समस्या निकै भयावह छ, जहिलेपनि बन्द हुनसक्छ: चिरिबाबु महर्जन (भिडियोसहित)

फोहरको समस्या जटिल बन्दै गएपछि उपत्यका मेयर्स फोरमले सरोकारबाला निकायलाई निरन्तर ध्यानकर्षण गराउदै आएको छ । फोहोर व्यवस्थापनबारे सम्पूण अधिकार बोकेका काठमाडौं उपत्यकाका स्थानीय सरकार एक अर्कालाई देखाइदिने घमण्डले लामो समय सम्म यो समस्या समाधान हुन सकेको छैन । यो स्थानमा फोहोरको वैज्ञानिक व्यवस्थापन र दीर्घकालीन समाधानको लागि संघीय सरकारको लगानी रहेको छ ।

काठमाडौं उपत्यकाभित्र दुईवटा महानगरपालिका, १६ वटा नगरपालिकाहरु छन् । लगभग १८ वटै नगरपालिकाहरुको कसैको बढी, कसैको थोरै फोहोर त्यहाँ जाने गरेको छ । त्यहाँ लगभग दिनको १२ सय मेट्रिक टन फोहोर जान्छ । त्यो मध्येमा ६५ प्रतिशतभन्दा बढी काठमाडौं महागरपालिकाको पर्छ । ललितपुर महागरपालिकाको लगभग १८ /१९ प्रतिशत छ भने बाकी अन्य नगरपालीको रहेको छ ।

२०११ मा नेपवेस्ट नामको निजी कम्पनीलाई सरकारले दिइसके पनि पूर्णरुपमा काम हुन सकेको छैन । मेयर्स फोरमले निरन्तर आग्रह गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोहोर व्यवस्थापन दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन महानगरलाई विशेष आग्रह गर्नुभएको थियो ।

ललितपुर महानगरपालिकाको १०५औ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवं रोजगारी सिर्जनासँग जोडेर जानुपर्दछ भन्नेमा सङ्घीय सरकार स्पष्ट छ । उहाँले भन्नुभयो-  काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या काठमाडौंका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको सङ्घीय सरकारलाई अवगत नै छ ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक छलफल एवं यसको वैज्ञानिक एवं दीर्घकालीन व्यवस्थापनका निम्तिसमेत पहल गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ । त्यसका निम्ति मेरै पहलमा पटकपटक बैठक गरी समस्या समाधानको पहलसमेत गरिएको छ ।तसर्थ, फोहोर व्यवस्थापनको महानगरको प्रयासमा सङ्घीय सरकारको सधै साथ र सहयोग रहने जानकारी गराउँदै दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन म महानगरलाई विशेष आग्रह गर्दछु ।

ललितपुर महानगरपालिकाका प्रमुख तथा फोरमका अध्यक्ष चिरिबाबु महर्जन फोहरका कारण त्यहाँको जनजिवनलाई नै अस्तव्यस्त भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो- काठमाडौँ उपत्यकाको फोहोरले त्यहाँको स्थानीय जनतालाई दुस्ख दिन पाइँदैन । दु:ख दिनु हुँदैन । त्यहाँ यस्तो चरम अवस्था छ कि हेर्दाखेरी हामीलाई लाज लाग्छ । उहाँले भन्नुभयो -नेपाल सरकारले २०११ जुन महिनामा ग्रिनलाइन र नेपवेस्ट भन्ने संस्थासँग काठमाडौं उपत्यकाभित्रको नगरपालिकाहरुमा फोहोर व्यवस्थापन गर्न एउटा सम्झौता गरेको थियो । त्यो सम्झौताको पहिलो चरणमा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका र नागार्जुन नगरपालिका यि दुई, तीनवटा नगरपालिका त्यसमा पर्छ ।

उहाँले भन्नुभयो- यो विषयमा काम, कुरो अगाडी बढाउँदै जाँदाखेरी यसमा निकै समय लाग्यो । र त्यो फाइल काठमाडौं महानगरपालिकामा गएर अड्कियो । अहिले यसमा कानूनी कुरा आएको अवस्थामा नेपाल सरकारले यसलाई कि त खारेज गर्नुपर्‍यो । कि त यसलाई कार्यान्वयन गर्नुपर्‍यो । होइन भने यसले गर्दा ललितपुर महानगरपालिकालाई पनि अफ्ठ्यारो परिरहेको छ । गोदावरी नगरपालिकालाई अफ्ठ्यारो परिरहेको छ ।

उहाँले भन्नुभयो- उपत्यकाभित्रको नगरपालिकाहरु सबैलाई अफ्ठ्यारो परिरहेको छ । तसर्थ त्यो अफ्ठ्यारोलाई सजिलोमा परिवर्तन गर्नको निमित्त कि त त्यो सम्झौता रद्ध गर्नुपर्‍यो । होइन भने त्यो सम्झौताले काम गर्नुपर्‍यो भनेर हामी जाग्यौँ । हामी जागिसकेपछि हाम्रो पहिलो विचार चाहीँ के भयो भने यत्रो वर्षसम्म काम नगरेको यो सम्झौता राखेर के काम रु त्यसैले यसलाई रद्ध गरिदिउँ भन्ने हाम्रो सिफारिस भयो । तर त्यसको अन्तरवस्तु नियालेर हेर्दाखेरी नेपाल सरकारले पनि ठ्याक्कै रद्ध गर्नसक्ने अवस्था रहेनछ ।

लामो समय सम्म काठमाडौ महानगरमा रोकिएको फाईल अहिले सरकारके टेबलमा पुगेका छ । तर प्रक्रिया भने फेरी पनि रोकिएको छ । मेयर महर्जनले भन्नुभयो – अहिलेको समस्या निकै भयावह छ । भरे, भोलि जहिलेपनि बन्द हुनसक्छ । बन्द भएको अवस्थामा हामी महानगरपालिका, नगरपालिका अहिले सबै मेयरसापहरु काम गर्छौं भन्ने हिसाव, कितावमै उहाँहरु अग्रसर हुनुहुन्छ र काम पनि गर्दै हुनुहुन्छ ।

उहाँले भन्नुभयो- तर जतिसुकै राम्रो काम गरेको अवस्थामा पनि ८/९ दिन फोहोर उठेन भने त्यही फोहोरले हामीले गरेको कामलाई छोपिदिन्छ । तसर्थ हामी यो विषयवस्तुमा निकै संवेदनशील छौँ । यसलाई समाधान गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ ।

पूर्वाधार विज्ञ आशिष गजुरेल वैज्ञानिक फोहोर व्यवस्थापन गर्न नेपालमा ठूलो समस्या र चुनौति रहेको बताउनु हुन्छ । उहाँले सार्वजनिक निजी साझेदारी मोडलमा गरीको व्यवस्थापन सफल भएको उदाहरणहरु रहेको बताउनु भयो । उहाँले सार्वजनिक निजी साझेदारीमार्फत वैज्ञानिक रुपमा फोहोरको व्यवस्थापन गर्ने भनेर राज्य अगाडि बढेको भन्दै प्रारम्भिक रुपमा हस्ताक्षर समेत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ फोहोरको वैज्ञानिक व्यवस्थापन विश्वमा हेर्दा सार्वजनिक निजी साझेदारीमा गर्दा सफल भएका उदाहरणहरु छन् । १४ वर्ष अगाडि सरकारले यो मोडलमा काम गर्न टेण्डर निकालेको हो । त्यसमा दुईवटा कम्पनी छनोट भए, जसमा काठमाडौं जिल्लाको लागि नेपोष्ट र क्लिनभ्याली कम्पनी भनेर ललितपुर भक्तपुरको लागि कानून सम्भव छनोट भएको हो । निजी साझेदारी मोडललाई लगानी बोर्डले हेर्ने भनेपनि २०१३मा यो परियोजना लगानी बोर्डमा आयो । सार्वजनिक निजी साझेदारीमार्फत वैज्ञानिक रुपमा फोहोरको व्यवस्थापन गर्ने भनेर राज्य अगाडि बढेको भन्दै प्रारम्भिक रुपमा हस्ताक्षर समेत भएको छ । २००९ देखि २०२३ सम्मको परिर्वतनलाई विश्लेषण गरेर कसरी सामधान गर्ने भन्ने विषयमा अगाडि बढ्नुपर्छ । वास्तविक अवस्थाको विश्लेषण गरेर समाधान गर्ने भन्दा पनि अनेक किसिमका उपायहरु खोज्दा प्रक्रिया लामो हुँदै गएको हो ।’

उहाँले २००९ देखि २०२३सम्मको परिवर्तनलाई विश्लेषण गरेर कसरी सामधान गर्ने भन्ने विषयमा अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले वास्तविक अवस्थाको विश्लेषण गरेर समाधान गर्ने भन्दा पनि अनेक किसिमका उपायहरु खोज्दा प्रक्रिया लामो हुँदै गएको बताउनु भयो ।