• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

विमानस्थलमा हातपात प्रकरण: तीन प्रहरीको सरुवा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग हातपात घटनामा संलग्न तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ ।

सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो रहेका छन् । उनीहरुलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको एक प्रहरी अधिकृतले बताए ।

माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा जाँचमा खटिएका प्रहरीहरूबीच हातपात भएको थियो ।

दुई पक्षबीच हातपात भएपछि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा डिआइजी राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसीसहितको समिति बनाएको थियो । समितिले असई तामाङलाई निलम्बन र दुई जवानलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार कारबाही प्रक्रिया अघि बढाउन उनीहरूलाई रानीपाखेरीमा काज गरिएको बताईएको छ ।

समितिले अधिकृत छायालाल मोक्तानलाई पनि जिम्मेवारीबाट हटाएर विभागीय कारबाहीमा सिफारिस गरेको छ ।