१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि काम निजी क्षेत्रलाई नदिइने



अ+ अ-

काठमाडौँ। सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्रीहरुलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिइने भएको छ ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरुको संशोधनउपर छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरु मुद्रण गर्न निजी क्षेत्रलाई नदिने निर्णय गरेको हो ।

विधेयकमा सुरक्षण मुद्रण गर्नुपर्ने राष्ट्रिय परिचय पत्र, नागरिकता, बैंक नोट र राहदानी बाहेकका सामग्रीहरुलाई अन्य व्यक्ति वा निकायहरुमा पनि दिन सकिने व्यवस्था आएपछि सांसदहरुले संशोधन हाल्दै सरकारी निकायभन्दा बाहिर मुद्रण गर्न दिनु नहुने बताएका थिए । सोही संशोधनउपर छलफल गर्दै समितिले सुरक्षण मुद्रणसँग सम्बन्धित कुनैपनि सामग्रीहरु नीजि क्षेत्रलाई मुद्रणसँग नदिनेगरी सो विषय टुंग्याएको हो । यद्यपी नेपाल सरकारले नसकेको खण्डमा सरकारकै स्वामित्वमा रहेका निकायहरुलाई भने मुद्रणको जिम्मेवारी दिन सकिने व्यवस्था गरिएको छ । बैठकमा बोल्दै समिति सदस्य देवेन्द्र पौडेलले निजी क्षेत्रलाई पैसा दिएर गराउनुपर्ने काम सार्वजनिक संस्थाहरुलाई नै गराउन सके ति संस्थाहरुको समेत उन्नति हुने बताउनु भयो । उहाँले काम नपाएर बसेका कतिपय मुद्रणसँग सम्बन्धित संस्थाहरु रहेका भन्दै तिनैलाई दिनुपर्ने धारणा राख्नुभयो । उहाँले निजी क्षेत्रलाई दिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पैसा नै दिने हो भने यो सँग सम्बन्धित काम लिएर, भद्रगोल गरेर थन्किएका संस्थाहरु छन् । तिनलाई तोकेर लेखौा । प्रज्ञा प्रतिष्ठान काम नपाएर बसेको छ, तोकेर लेखौँ । अथवा भाषा मिलाएर लेखौँ । जनक शिक्षा सामग्री छ, किताब छाप्छ । उसले पनि छाप्न सक्छ । साझा प्रकाशन छ, ठाउँ लिएर थला परेर बसेको छ । पैसा दिने हो भने त्यसलाई दिएर यो जिम्मेवारी दिउँ । मुद्रणसँग सम्बन्धित कुनै न कुनै रुपमा जोडिएका सरकारले स्थापित गरेका संस्थाहरुलाई नेपाल सरकारले छाप्न नसक्ने हो भने, उनीहरुलाई दिनेगरी तोकियो भने ती संस्थाहरु पनि बच्छन् । दुई, चार पैसा नाफा भयो भने संस्था पनि टिक्छन् ।’

त्यस्तै प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले सुरक्षण मुद्रण सुरक्षाको हिसावले पनि चुनौतिपूर्ण हुने भन्दै निजी क्षेत्रलाई दिएमा सुरक्षा नहुने धारणा राख्नुभयो । उहाँले दुरुपयोग हुँदा त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गर्नुभयो । उहाँले पनि राज्यले नै सुरक्षण मुद्रणको सम्पूर्ण काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुरक्षाको हिसावले कतैबाट खतरा नहुनेगरी यसलाई सञ्चालन गर्नेछौँ भन्ने कुरा थियो । तर यहाँ चाहीँ अन्य व्यक्ति वा निकायलाई अथवा निजि क्षेत्रलाई दिने जस्तो बुझिन्छ । निजी क्षेत्रलाई दिदाँ सुरक्षाको ग्यारेन्टी के हुन्छ ? राज्यले गर्दा तिनवटा सुरक्षा घेराभित्र गरेर सुरक्षा मजबुत बनाएर दुरुपयोग नहुनेगरी गर्छौ भनेजस्तो के व्यक्ति र निकायहरुलाई यो दिदैँ गर्दाखेरी त्यसको सुरक्षाको ग्यारेन्टी हुन्छ त ? हल्का तरिकाले यसलाई अगाडी बढायौँ भने भोलि यसको दुरुपयोग हुँदा जिम्मेवारी को हुन्छ ?’

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सार्वजनिक संस्थाहरुलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै सरकारले नसकेको सुरक्षण मुद्रणको काम सार्वजनिक संस्थाहरुलाई दिनुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रलाई दिदाँ नियमन गर्न समेत चुनौति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘निजी क्षेत्रलाई दिदाँखेरी त्यसको नियमन गर्ने कसरी ? त्यसकारण यि विषयमा सरकार जिम्मेवार हुनुपर्छ र यसको जिम्मेवारी सरकारले नै लिनुपर्छ भन्ने मेरो कुरा । हाम्रो सार्वजनिक संस्थाहरुलाई बलियो बनाउनेगरी हामी जाने हो भने हामी नीजिमै पहिले किन पुगिहाल्ने त ? ति संस्थालाई कसरी बलियो बनाउने भन्ने कुराको अवधारणा पनि त यो ऐनले समेट्न सक्यो भने भोलिका दिनमा त्यो परिणाममुखि हुनसक्छ । त्यसैले निजीतिर अहिले हामी नजाऔँ । सार्वजनिक क्षेत्रलाई नै कसरी समुन्नत बनाएर लाने भन्नेकुरामै जोड दिउँ भन्ने लाग्छ । त्यसतर्फ आकर्षित भएर बनाऔँ ।’

उहाँले निजी क्षेत्रलाई सुरक्षण मुद्रणको काम दिनु नहुने धारणा राख्नुभयो । समितिका सबै सदस्यहरुले सुरक्षण मुद्रणको कुनैपनि काम निजी क्षेत्रलाई दिनु नहुने धारणा राख्नुभएको थियो ।