१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीबी राईका साझेदार पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापा



अ+ अ-

काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) का संस्थापक छविलाल जोशीको घरमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले जोशीको शंखमूलस्थित घरबाट सहकारीका खातापाता रहेका सफ्टवेयरसहितका हार्डड्राइभ नियन्त्रणमा लिएको हो ।

‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सम्पूर्ण कारोबार यहीं (काठमाडौं) बाटै हुने गरेको रहेछ । त्यसको सफ्टवेयरसमेत यहीं रहेछ, पोखरामा कार्यालय र केही सामान्य कागजात मात्रै रहेछन्,’ प्रहरी अधिकारीहरूले भने, ‘यहाँ रहेका विवरण तथा सफ्टवेयरहरू नियन्त्रणमा लिइदिनू भनेर कास्की प्रहरीले अनुरोध गरेको थियो । केही विवरण नियन्त्रणमा लिएका छौं ।

गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी जोशी र पूर्वसञ्चारकर्मी रवि लामिछाने साझेदार थिए । २०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर कायम हुँदा ५० प्रतिशत सेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत सेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत सेयरसहित लामिछाने प्रबन्ध निर्देशक थिए । ४ करोड २० लाख रुपैयाँको उक्त सेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरी उनी बाहिरिएका हुन् ।

जोशीको घरमा हालसम्म जीबी राईसम्बद्ध कम्पनी र सूर्यदर्शन सहकारीका कागजात तथा कम्प्युटर फेला परेका हुन् । उनको घरमा नेचर हर्ब प्रालिको कार्यालयसमेत छ । यही कार्यालयबाट सूर्यदर्शन सहकारीका सम्पूर्ण कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ । ‘सूर्यदर्शन सहकारीको अनुसन्धान सुरु गरेपछि त्यससँग सम्बन्धित दस्ताबेज तथा कम्प्युटर उपकरणहरू लुकाईछिपाई राखिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले बुधबार दिउँसो अप्रेसन गरी ४ कम्प्युटरका हार्डड्राइभ नियन्त्रणमा लिएका हौं । ती हार्डड्राइभमा सहकारीको कारोबार हुने सफ्टवेयर फेला परेको छ ।’

नियन्त्रणमा लिइएका उक्त सामग्री लिनका लागि बुधबार नै कास्की प्रहरीको टोली काठमाडौं आइसकेको छ । ‘सहकारीको रकम हिनामिना गर्नेमाथि छानबिन हुनुपर्‍यो भनेर उजुरी दर्ता भएपछि कास्की प्रहरीले सूर्यदर्शन सहकारीको बचत हिनामिनाको विषयको अनुसन्धानलाई तीव्रता दिएको छ,’ कास्की प्रहरी स्रोतले भन्यो, ‘उजुरी परेका र ऋण प्रवाह भएका व्यक्तिहरूमाथि हामीले अनुसन्धान केन्द्रित गरेका छौं ।’ पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायतमाथि जाहेरी दिएका छन् ।

जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जसमा चार जना पक्राउ परेका छन्, बाँकी फरार छन् । फरारमध्ये जीबीसहित तीनविरुद्ध डिफ्युज नोटिस जारी भइसकेको छ । इन्टरपोलले गत १२ गते राईका नाममा डिफ्युजन नोटिस जारी गर्दै उनलाई फरार सूचीमा राखिसकेको छ । पीडितहरूको दाबी र महानगरको अध्ययन प्रतिवेदनअनुसार लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड र बुटवलमा सञ्चालित सुप्रिम सहकारीको पनि एक करोड रुपैयाँ प्रवाह भएको छ ।

ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा पनि सहकारीबाट गैरकानुननी रूपमा ऋण प्रवाह भएको, तत्कालीन समयमा लामिछाने उक्त कम्पनीका प्रबन्ध निर्देशक रहेको र लामिछानेको नाममा समेत ऋण प्रवाह भएको देखिएकाले पुन: अनुसन्धानको माग गरी जाहेरी दिएको संघर्ष समितिले जनाएको छ । पोखरा, चितवन, वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ ।

आजको कान्तिपुर पत्रिकामा समाचार छ ।