१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल शान्ति सेनामा पहिलो



अ+ अ-

काठमाडौँ  । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो ।

शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको छ । बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा योगदान पुर्‍याउने मुलुकमा नेपाल पहिलो बनेको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकका २२ वटा मिसनमा ७६ हजार ४७९ जना शान्ति सेना खटाइएका छन् । जसमा ७० हजार एक सय पुरुष र छ हजार ३७९ जना महिला सैनिक छन् । नेपाल सरकारले शान्ति सेनामा हाल १० हजार पुर्‍याउने लक्ष्य राखेको छ ।

सन् १९५८ मा राष्ट्रसङ्घको आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेबनानमा पाँच जना नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । शान्ति सेनामा खटाएको ६५ वर्षमा नेपालले विभिन्न ४३ वटा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि एक हजार ८४७ महिला सैनिकसहित एक लाख ४० हजार ३५४ सैनिक पठाइसकेको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार माली मिसन बन्द भएर अन्य मुलुकका शान्ति सैनिकको कटौतीपछि नेपाल पहिलो राष्ट्र बनेको हो । नेपाली शान्ति सैनिकको पूर्वतयारी तालिम उत्कृष्ट रहेका कारण र जुनसुकै बेला खटिन सक्ने भएकाले पनि युएनको रोजाइमा नेपाली शान्ति सैनिक परेका छन् । आजको गोरखापत्रमा खबर छ ।