९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धएयरले जनकपुरबाट अयोध्यामा सिधा उडान सञ्चालन गर्ने



अ+ अ-

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।

‘सीताराम’ सम्बन्ध त्रेतायुगदेखि नै चलिआएको छ । यस पौराणिक, धार्मिक सम्बन्धको साक्षी जनकपुरधाम र अयोध्या शहरलाई जोड्नका लागि उडान सञ्चालनको तयारी गरिएको हो । बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० मा निवेदन दिएको छ । प्रदेश नं २ सरकारलाई पनि बोधार्थ पठाइएको छ ।

तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी शहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेजस्ता सहमति भएको थियो । जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ । यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्यै लाभान्वित हुने कम्पनीको विश्वास छ ।

जनकपुर विमानस्थल आन्तरिक विमानस्थल भएकाले अन्तर्राष्ट्रिय उडानका लागि भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न सरोकारवाला निकायले पनि सहजीकरण गरिदिएको खण्डमा निकट भविष्यमा यो गन्तव्यबाट भारतीय पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

कोभिड–१९ पछिको उडान बजारमा आफूनो उपस्थिति बलियो बनाउन बुद्धले आक्रामक बजार विस्तार गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । हरेक गन्तव्यमा यात्रुको चाप हेरी थप उडान भरिनेछ । बुद्धएयरसँग अहिले नौ थान एटिआर–७२, तीन थान एटिआर–४२ र दुई थान बीचक्राफ्ट गरी १४ जहाज छन् । कोभिडका कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन बजार विस्तारसहित उपस्थिति जनाउने कम्पनीको योजना छ । अहिले बुद्धले दैनिक १२० उडान गरिरहेको छ । उडान सङ्ख्या बढे पनि विदेशी पर्यटक नआएसम्म पूर्ववत अवस्थामा फर्कन कठिन हुने बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले बताउनुभयो ।

बुद्धले पोखराका लागि दैनिक नौ, विराटनगरका लागि आठ, भैरहवा सात, सिमरा, भरतपुर, भद्रपुर पाँच, जनकपुर, नेपालगञ्जका लागि दैनिक चार उडान गर्दै आएको छ । अन्य गन्तव्यमा पनि यात्रुको चाप हेरी उडान विस्तार गर्ने बुद्धएयरले जनाएको छ ।

बुद्धएयरलले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यीबाहेक काठमाडौँ र पोखराबाट पर्वतीय उडान पनि सञ्चालन गरिरहेको छ । भारतको वनारस उडान दुवै देशको स्वीकृतपछि पुनः उडान सञ्चालन गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । रासस