• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण



दमौली (तनहुँ) : तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुन:निर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो ।

विभागको टोलीे मन्दिर परिसरको पाँचवटा मन्दिर (पञ्चदेवल) को उत्खनन गरेको थियो । पाँच सय वर्षअघि सोह्रौँ शताब्दीमा तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाटमा आई ध्यान गरी विभिन्न मठमन्दिर र देवालयको निर्माण गरेको बताइएको छ । विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ ।

मन्दिर परिसरमा रहेका पाँच मन्दिरमध्ये चक्रवर्ती महादेवको मन्दिरको यसअघि नै रु ८० लाखको लागतमा पुन:निर्माण सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरको उत्खनन गरी हालै पुन:निर्माण सम्पन्न भइसकेको छ । उत्खननका क्रममा शताब्दिऔँ अघिको शिलालेख र करुवामा पैसाको सिक्का भेटिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।

उत्खनन तथा पुन:निर्माणमा विभागका प्राविधिकसहित पाँच र गैरप्राविधिक मजदुरसहित २५ खटिएका थिए । उत्खननका क्रममा मुख्य मन्दिरको गर्भ भागमा शिवलिङ्ग भेटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त शिवलिङ्ग भेटिएपछि उक्त मन्दिर महादेवको मन्दिर रहेको पुष्टि भएको थियो ।

उक्त मन्दिर मुकुन्देश्वर महादेवको नामले चिनिन्छ । पाल्पाका तत्कालीन राजा मुकन्द सेनले स्थापना गरी पूजाआजा गरी मानी आएकाले यसको नाम मुकुन्द ईश्वर हुँदै मुकुन्देश्वेर महादेव भयो भन्ने भनाइ रहेको बताइन्छ । जुन–जुन स्थानमा उत्खनन गर्दा जे प्रमाण भेटिन्छ सोहीअनुसारको मन्दिरको पुन:निर्माण गरिएको थियो ।

उत्खनन कार्यपश्चात त्यसको प्रतिवेदनका आधारमा मन्दिर पुन:निर्माणको ढाँचा र शैली तयार भएको थियो । पूर्व अध्यक्ष पौडेलका अनुसार पुरातत्व विभागबाट शिला कुँदेर मन्दिर पुन:निर्माण गर्दा सिमेन्ट र छडको प्रयोग गरिएको छैन । ऐतिहासिक, पौराणिक एवं पुरातात्विक महत्वको पावन तीर्थस्थल देवघाटधाममा रहेका यस्ता सम्पदाको संरक्षण गर्नसके धार्मिक पर्यटनको विकास गर्न सकिने उहाँको भनाइ छ । रासस