८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्यामा मैले जे देखेँ



अ+ अ-

अयोध्याको राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठाको कार्यक्रममा सहभागी हुन निम्ता आएपछि त्यो ऐतिहासिक र अलौकिक कार्यक्रममा सहभागी हुन म पनि अयोध्या गएको थिएँ ।

मसहित पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक कल्याण तिमिल्सिना , बिश्व हिन्दू परिषद्को बरिष्ठ उपाध्यक्ष ज्योत्सना साउद, र प्रभात रेग्मी टोलीमा रहेका थियौँ । भैरहवा जान बिमानस्थल पुग्दा पशुपतिनाथका मुल भट्ट भेट हुनुभयो । हाम्रो टोली भैरहवा हुदै सोही दिन अयोध्या पुग्यो ।

भैरहवाबाट १८५ किलोमिटर मात्र टाढा रहको अध्योध्या पुग्दा थाहा भयो सहर पुरै फुलले ढाकिएको थियो । फुलमलय थियो सहर । अयोध्या पुगेको भोलिपल्ट हनुमानगढीको दर्शन गरियो । अयोध्या पुगेलगत्तै यस स्थान धार्मिक एकता, सांस्कृतिक पर्यटन र आर्थिक गतिबिधिको भरपुर उपयोग गरिरहेको अनुभव भयो । हामीले पशुपतिनाथमा मात्र कुनै धार्मिक पर्यटकीय आकर्षण दिन सक्यौँभने भारतबाट मात्र करोडौँ पर्यटक सहभागी हुने कुरामा कुनै शंका छैन । राम मन्दिर निर्माणको बेला पनि केही आलोचना नभएको होइन तर मन्दिरबाट त्यस क्षेत्रमा भएको आर्थिक कायापलटको अब कुनै हिसाब हुदैन । यही मन्दिरको स्थापनाबाट पनि अब यस क्षेत्रको विकासले फड्को मारेको छ ।

अब यहाँको विकास खरायोका गतिमा दौडिएको देखिन्छ । राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठा कार्यक्रममा करिब ७ हजार व्यक्तिलाई विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरेको थियो । त्यस दिन आरएसस प्रमुख मोहन भागवत, पूर्व उपराष्ट्रपति बैंकैया नायडू, मुकेश र नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल थिए । कार्यक्रममा पुग्दा भारतका चर्चित कलाकारहरु, क्रिकेट खेलडी सचिन तेल्दुकर लगायतका व्यक्तिहरु उपस्थित थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र आरएसएसका प्रमुख एकै स्थानमा रहनु भएको थियो । राममन्दिरका महन्थले मोदीको वर्णन गर्दै मन्दिरको प्राणप्रतिष्ठाका लागि अनुरोध गरे । प्राणप्रतिष्ठाका लागि केही दिनदेखि निराहार बस्नुभएका मोदीले ११ दिनदेखी खाटमा नसुती भुईमा नै सुत्नु भएको रहेछ । ११ दिन भित्र उहाँले अमरनाथ, नासिर, रामेश्वर, तामिलनाडू लगायतका नौ विभिन्न धार्मिकस्थलको दर्शन गर्नुभएको रहेछ । त्यसदिन पनि निराहार रहनुभएका मोदीले साढे १२ बजेपछि करिब ९० मिनेट प्राणप्रतिष्ठाको पूजा गर्नुभयो । नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राणप्रतिष्ठाको विधि गराउनुभयो ।

मोदीले रामलल्लाको आँखाको पट्टी हटाएर हातमा कमलको फूल लिएर पूजा गर्नुभएको थियो । रामलल्ला पीताम्बराले सजिएका थिए भने हातमा धनुष र बाण रहेको थियो । सोमबार बिहान मंगल ध्वनीबाट कार्यक्रमको सुरुवात भएको थियो । बिहान १० बजेदेखि १८ राज्यका ५० वटा बाजा बजिरहेका थिए । अयोध्यामा जताततै राम नामका झण्डा फहराइरहेका थिए । सडकमा जय श्रीरामको नारा गुञ्जिरहेको थियो । घाटहरू चम्किरहेका थिए र श्रीरामको ध्वनीका साथमा सम्पूर्ण अयोध्या सहर सुन्दर देखिन्थ्यो र अलौकिक महसुस भएको थियो ।

प्राणप्रतिष्ठापछि प्रधानमन्त्री मोदीलाई पुजारीले फलफुलको रस दिनुभएको थियो । प्राणप्रतिष्ठापछि मोदीले कुनै राजनीतिक भाषण गर्नुभएन । उहाँले भगवान राम उत्प्रेरणाको स्रोत भएको भन्दै रामको राज्यमा कसैलाई बिभेद नहुने बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो– केहीले भनेका थिए राम मन्दिर बनेमा आगो लाग्छ । राम मन्दिरले आगोलाई होइन उर्जालाई जन्म दिएको छ । त्यस बेला भित्रको वातावरण पुरै सन्नाटा छाएजस्तो भएको थियो । सबका आँखा टिलपिलाएका थिए ।

रामलल्लाको पहिलो तस्बिर देख्नेबित्तिकै भक्तजनमा यस्तो हर्षोल्लास भयो कि धेरैको आँखामा आँसु आयो । सम्बोधन सकिएपछि मोदी अतिथीहरुसँग कुराकनी गर्न आउनुभयो । भित्र कार्यक्रम चलिरहदा बाहिरबाट हेलीकप्टरले पुष्पबृष्टि भैरहेको थियो । त्यसदिन अयोध्या एकातार्फ राममय थियो भने अर्कातर्फ प्रधानमन्त्रीको यस कामको पनि प्रशंसा भएको थियो । आफू नै प्रत्यक्ष उपस्थित भएर हेर्दा लाग्थ्यो कि त्यो एक अदुभुत कार्यक्रम थियो । त्यतिधेरै मानिस सहभागी भएको कार्यक्रमको पनि बडो उत्कृष्ट व्यवस्थापन देखियो । साधु सन्त र अन्य व्यक्तिलाई छुट्टा छुट्टै व्यवस्था गरिएको थियो ।

मन्दिरमा ४ ओटा सुनका ढोका राखिएका छन् । बाहिर पटाङ्गीनी बाट ५० मिटर हिडेपछि सो सुनको ढोका पुग्न सकिन्छ । त्यहाबाट २० मिटर हिडेपछि मुल मन्दिरमा पुग्न सकिन्छ । एक हजार बर्षसम्म नभत्कने दाबी गरिएको मन्दिरमा सिमेन्ट तथा फलामको प्रयोग गरिएको छैन । १४ मिटर लामो त जग नै बनाइएको छ रे । यहाँ राजस्थानको मार्वल बढी प्रयोग भएको छ ।

कार्यक्रममा भारतका पच्चीसै प्रान्तका संगीत साधकहरुबाट बिशेष संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रम हेरिरहुँजस्तो थियो र आँखा झिमिक्क गर्न मन लाग्दैन थियो । कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले पटकपटक जनकपुरको नाम लिएपनि नेपालको नाम लिएको भने सुनिएन ।

प्राणप्रतिष्ठाका लागि करिब १५० मुलुकबाट बिभिन्न सगुनहरु पठाइएको रहेछ । १०८ मिटर लामो धुप देखी १८० लिटर घीउ जाने पानसमा दिप प्रज्वलन गरिएको थियो । मन्दिर पुरै फूल नै फूलले सजाईएको थियो ।

कुनै अगुवाको सामान्य निष्ठाले मात्र यस्तो कार्य गर्न सम्भब हुदैन । यस कार्यमा प्रधानमन्त्री मोदी र लाग्छ पूरा देशकै निष्ठा देखियो । कार्यक्रम अबधि भर भित्र पुरै मौनता थियो । पुजा सकेर गुरुले जल बितरण गरेपछि मात्र मौनता भंग भयो । नेपालबाट पनि प्रतिष्ठित साधु सन्तहरु सहभागी हुनु भएको थियो । योसँगै कोशी प्रदेशसभाका सदस्य भिम पराजुली, धनगढी उपमहानरपालीकाका प्रमुख गोपाल हमाल, कलाकार टिका पहाडी र उपप्रधान तथा गृहमन्त्रीका स्वकिय सुसन कर्माचार्य पनि देखिनुभएको थियो ।

अयोध्या पुग्दा अर्काे अनौठो कुरा पनि थाहा भयो । त्यहाँ एक नेपाली मन्दिर पनि रहेछ, जहाँ काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको ब्रतबन्ध भएको रहेछ । राणाकालमा भन्दा अगाडी नै स्थापना भएको सो मन्दिरमा पहिला नेपालबाट दक्षिणा जाने गरेको रहेछ । तत्कालीन समयमा भेटीस्वरुप भनेर बार्षिक ५०० रुपैयाँ चढाउन पठाइने गरिएको रहेछ । कोइराला भारत भ्रमणमा जाँदा आफनो चुडाकर्म भएको स्थानका बारेमा थाहा पाएपछि ५०० रुपैयाँलाई बढाएर उहाँले अबदेखि रु पाँच हजार पठाउने भनेर पठाउन थाल्नुभएको रहेछ ।

अहिले त त्यो पनि पठाउन रोकिएको कुरा मैले पनि त्यहाँ पुगेपछि थाहा पाएँ । अचम्म लाग्यो । त्यति सानो रकम, त्यो पनि मन्दिरका लागि जाने गरेको भेटिघाटीको रकम किन रोकियो होला ? त्यो मन्दिरको संरक्षणमा हाम्रो पनि सहयोग हुनुपर्ने देखियो । नेपालले चासो दिने हो भने आवश्यक जग्गासहित अन्य सहयोग गर्न तयार रहेको जानकारी पनि पाइयो । भारतीय भूमीमा भएपनि मन्दिरमा नेपाली पुजारीदेखि सबै कुरा नेपालको जस्तै रहेछ ।

अयोध्या नेपालबाट खासै टाडा पनि होईन । अहिले त भैरहवा कपिलबस्तुबाट भारतको बस्ती हुदै अयोध्या पुग्ने राजमार्ग पनि तयार भएको रहेछ । अयोध्यासँग जोडेर पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी लगायतका क्षेत्र जोडेर धार्मिक सर्किट बनाउने हो भने यो क्षेत्रमा धार्मिक तथा सांस्कृतिक पर्यटक उल्लेख्य बृद्धि हुनसक्छ । नेपालका मठ मन्दिरप्रति अगाध आस्था लगाव र झुकाब देखियो ।

मलाई त लाग्त छिमेकमा संसारका मानिस आएर त्यति ठूलो कार्यक्रम सम्पन्न गर्दा पनि त्यसबाट हामी कसरी लाभ लिन सकिएला भनेर सरकारले कुनै चिन्तन राखेकै देखिएन । हामी लाभ लिनबाटै चुक्यौँ कि भन्ने पो मलाई लाग्यो । हामी पशुपतिनाथको देशका मानिस । पूर्वीय दर्शनका अग्रज र अध्येतादेखि लिएर समग्र हिन्दू धर्मकै देवताहरुको भूमि । हाम्रो देश त देवभूमि तपोभूमि । भगवान रामसँग हिन्दू वैदिक दर्शनको मात्र नभएर हाम्रो भूगोलको पनि सम्बन्ध छ । सीताको जन्मभूमि, अनि भगवान विष्णुकै अवतार राम र गौतम बुद्ध भएकाले गौतम बुद्धको जन्मभूमि । अनि सीताको जन्मभूमि । तर त्यहाँ अयोध्यामा भएको यति ठूलो अनुष्ठानमा हामी कहाँ थियौँ ? नेपालबाट सरकारले पनि एक प्रकारको यो निटकटता तथा धार्मिक सांस्कृतिक सम्बन्धका बारेमा कुनै न कुनै सन्देश दिनुपथ्र्याे ।

त्यसो त धार्मिक हुनु भनेको देखावटी स्वरुपमा प्रस्तुत हुनुमात्र होइन । धर्मका लागि अन्तर हृदयमा निष्ठा चाहिन्छ । मन र बचनभित्रै निष्ठा नभएकाहरु यस्ता कार्यमा जोडिन सक्ने कुरा पनि भएन । सायद देखावटी धर्म मात्र मान्ने तर निष्ठापूर्ण नरहेकै कारण पो यत्रिठूलो कार्यक्रममा भारत सरकारले पनि नेपाल सरकारलाई नै औपचारिक आमन्त्रण पो नगरेको हो कि ? यो मेरो अनुमान मात्र हो, वास्तविकता भने थाहा भएन । तर मलाई लागेको के हो भने सानातिना कार्यक्रममा पनि मन्त्री प्रधानमन्त्रीहरु भारत अथावा भनौँ विदेशतिर दौडिएको देख्छु, सुन्छु । तर यतिठूलो ऐतिहासिक कार्यक्रममा भने कोहीपनि नदेखेकाले यहाँ सरकार देखिएको भए राम्रै हुन्थ्यो भन्ने मलाई लागेको मात्र हो ।

तर म कार्यक्रममा गएँ र धन्य भएँ भन्ने महसुस गरेको छु । मैले मेरो जन्मभूमिको सानो कोशेली चाहिँ लिएर गएको थिएँ । दामोदार कुण्ड, मुक्तिनाथ र कालिगण्डकीको जल तथा सालग्राम लगेको थिएँ । यो पवित्र कोशेलीको निकै महत्व दिए । मलाई पनि निकै आनन्द आयो । यो पवित्र कोशेली पञ्चमहालक्ष्मीका उपासक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले उक्त रामलल्ला मन्दिर प्राणप्रतिष्ठा समारोहका लागि पठाइदिनुभएको थियो । स्वामी कमलनयनाचार्य शालग्राम संरक्षण र पूजनका एक नेपाली अभियन्ता हुनुहुन्छ । उहाँको सदिच्छाबाट मैले प्राप्त गरेका यी पवित्र वस्तु यो महत्वपूर्ण समारोहसम्म पुर्याउन पाउँदा मलाई पनि खुसी लागेको छ ।

भ्रमणको संयोजन गर्नुभएका कल्याणजीले  १०८ ओटा रुद्राक्ष चाँदीको माला र टोलीमा सहभागी हुनु भएका अन्य साथीहरुले पनि बिभिन्न उपहारहरु चढाउनु भएको थियो ।

सो कार्यक्रममा डा आरकेसीसँग पनि भेट भयो । उहाँ भारतको प्रतिष्ठित पद्यभूषणबाट बिभूषित हुनुभएको व्यक्तित्व हुनुहुन्छ । यस्ता कैयौँ विद्वान विदूषी, समाजका प्रतिष्ठित व्यक्तित्व तथा सेलिब्रेटीहरुसँग पनि भेटघाट र कुराकानी हुन पायो । यस कार्यक्रमका आयोजकहरुलाई मनमनै धन्यवाद दिएँ । सारमा भन्दा यो एक अलौकिक र ऐतिहासिक कार्यक्रम थियो । जय श्रीराम ।