• १६ मंसिर २०८०, शनिबार
  •      Sat Dec 2 2023
  •   Unicode
Logo

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी (भिडियो सहित)



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । 

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सो को मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको राष्ट्रिय युवा संघ, नेपालले आरोप लगाएको छ । मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरुउपर छानविन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानूनी प्रावधान बमोजिम कारबाही गर्न माग गरिएको संघका अध्यक्ष किरण पौडेलले बताउनुभयो । उहाँले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाति कदम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘स्वास्थ्य मन्त्रालय भित्रैबाट २४ लाख डोज खोप हराएको छ । जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालय भित्रैबाट २४ लाख डोज खोप हराउनु भनेको अत्यन्त लज्जास्पद र अत्यन्त जनघाति कदम हो । कहीँ स्टोरेजको लिकेजबाट अथवा अन्य डाटावेश संकलन नभएको भन्ने कुतर्क दिदैँ यो प्रकरणको ढाकछोप गर्न खोजिएको छ । २ अर्ब ५० करोड रुपैयाँ बराबरको राज्यस्रोतको दुरुपयोग भएको छ । भ्रष्टाचार छ । स्वास्थ्यमन्त्री र यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरुको छानविन गरी आवश्यक कारबाहीको प्रक्रियामा ल्याउनको निम्ति मुद्धा दर्ता गरेका छौँ ।’

अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गराएको बताउनुभयो ।