१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्र



अ+ अ-

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो ।

सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिनुभयो । त्यसमध्ये ७.२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ ।

उहाँले भन्नुभयो, “सबैगरी १९.५ किलोमिटर कालोपत्र भएको छ । कालोपत्रमध्ये ७.२ किमीमा दुईतर्फी कालोपत्र सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रको काम भइरहेको छ ।” त्यसपश्चात् बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रको काम हुने पाण्डेले बताउनुभयो । उहाँका अनुसार पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ ।

यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रू एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ ।

इञ्जिनियर पाण्डेका अनुसार पुलका लागि दुई सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ । उहाँले दुई वटा फाउण्डेशनको पाइलको काम सकिएको जानकारी दिनुभयो । हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुँदैछ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डको ठेक्का रू छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रू सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस