
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसीका बारेमा छलफल भएको बताइएको छ । खासगरी प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसीलाई संसद्बाट अनुमोदन गराउने पक्षमा हुनुहुन्छ ।
उहाँले एमसीसी पारित गराउन अवरोध भए सत्तारुढ गठबन्धन तोड्नेसम्मको सन्देश सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइसक्नुभएको छ । गठबन्धनका प्रचण्ड र नेपाल एमसीसीलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा हुनुहुन्न । यही संशयका बीच गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । शीर्ष नेताबीच स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगबी आगामी जेठ ४ गते स्थानीय निर्वाचन सम्पन्न गर्ने समझदारी भएको थियो ।