२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

बिसे नगर्चीका सन्ततिद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायणको सालिकमा नगरा-फोटो फिचर / भिडियोसहित

बिसे नगर्चीका सन्ततिद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायणको सालिकमा नगरा-फोटो फिचर / भिडियोसहित
अ अ+ अ-

काठमाडौँ: नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले नेपालको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै शाहको तत्कालीन राज्य गोरखा, सिंहदरबारको मूलढोका तथा देशका विभिन्न स्थानमा राखिएका शाहका सालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको छ तर आज काठमाडौँको चन्द्रागिरि डाँडामा भने अलग्गै र नयाँ तरिकाबाट उहाँको स्मरण गरिएको छ । चन्द्रागिरि डाँडा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिकस्थल भएकाले यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरिएको छ ।

त्यससमय भन्ने गरिएको नेपाल खाल्डो (काठमाडौँ उपत्यका) माथि विजय हासिल गर्ने प्रण पृथ्वीनारायण शाहले यही डाँडाबाट गरेको इतिहास रहेकाले चन्द्रागिरि हिल्स लिमिटेडले विसं २०७४ मा यहाँ निर्माण गरेको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुभएको थियो ।

सो ऐतिहासिकस्थलमा निर्मित सालिकमा आज पृथ्वीनारायण शाहको नेपाल एकीकरणका एक ऐतिहासिक व्यक्ति बिसे नगर्चीका सन्ततिले परम्परागत बाजा बजाएर नगरा लगाई उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गोरखाबाट आएका बिसेका सन्ततिले पृथ्वीनारायण शाहकालीन समयकै जस्तो परम्परागत बाजा दमाहा, सहनई आदि बजाएर शाहप्रति नगरा अर्पण गरेर स्मरण गरेका हुन् । इतिहासविद्हरुका अनुसार बिसे नगर्ची पृथ्वीनारायणको नेपाल एकीकरण अभियानका एक जना सारथी हुन् ।

गोरखाको माझकोट नजिकै बस्दै आएका बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरेको इतिहासमा पाइन्छ । त्यस समय नेपाल एकीकरणका लागि हातहतियार किन्न रकम अभाव भएको अवस्थामा नगर्चीले नै गोरखा राज्यका घरधुरीबाट प्रतिघरधुरी एक रुपैयाँ कर उठाउन सुझाउँदै आफैँले एक रुपैयाँ झिकेर राजालाई दिइ यसको सुरुआतसमेत गराएका थिए भन्ने इतिहास पाइन्छ ।

यसरी सङ्कलन गरिएको सो रकमबाट शाहले वनारसबाट हातहतियार किनेर ल्याएको र थप सैन्य भर्ती गरी उनीहरुका लागि हतियार किनेको इतिहासविद्को भनाइ छ । त्यसैगरी युद्धका समयमा सैनिक कपडा सिलाइदिने र विजयपछि बजाउने बाजा बनाउन र बजाउन पनि नगर्ची परिवारको योगदान रहेको थियो ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आयोजित कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपालले तथ्यहरुका आधारमा भन्दा पनि अफवाहमा विश्वास गरी इतिहासको व्याख्या हुने गरेको भन्दै राष्ट्रनिर्माताप्रति राज्यले न्याय गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीनारायणको योगदान नहुँदो हो त नेपाल आज स्वतन्त्र र सर्वभौम मुलुक नहरन पनि सक्थ्यो । जसले यो राष्ट्र बनाए र बचाए आज उनैलाई राज्यले सम्मान नगर्नु दु:खद् हो ।”

त्यसैगरी नेपालको इतिहास र संस्कृतिका अध्येता हरिप्रसाद सोडारीले वर्तमान नेपाल राज्यका प्रणेता पृथ्वीनाराण शाहप्रति देशले सम्मान प्रदान गर्दै उनको योगदानको थप अध्ययन र अनुसन्धान हुन जरुरी छ भन्नुभयो ।

चन्द्रागिरि हिल्स लिमिटेडका पूर्वमहाप्रबन्धक अभिषेकविक्रम शाह र निमित्त महाप्रबन्धक श्याम तण्डुकारले चन्द्रागिरि डाँडा नेपाल एकीकरणको इतिहाससँग जोडिएकाले यो महत्वलाई सदा जीवन्त राख्न पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको जानकारी दिनुभयो । यस दिन नेपालको इतिहास र संस्कृतिप्रति जानकारी राख्ने नेपालीहरु यहाँ आएर पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्ने गरेका पूर्वमहाप्रबन्धक शाहले बताउनुभयो ।

उता गोरखाबाट आउनुभएकी बिसेकी सन्तति तिलकुमारी परियारले तत्कालीन राजालाई समेत सहयोग र सल्लाह गर्नसक्ने बिसेको योगदानकोसमेत उचित कदर हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “त्यस समय राजाले दिएको लालमोहर हाम्रा साथमा छ तर हातमा केही छैन ।” उहाँले बिसेको नाममा गोरखामा एक सङ्ग्रहालय बनाउनुपर्ने बताउनुभयो । आज सो कार्यक्रममा पृथ्वीनारायाण शाहप्रति सम्मान प्रकट गर्न तिलकुमारीसहित शिवशङ्कर परियार, यादव परियार, पूर्णबहादुर परियार र राजु परियार आउनुभएको थियो ।

उहाँहरुले देशले इतिहास बिर्संदै गएको महसुस आफूहरुलाई भएकाबेला बिसे नगर्चीका सन्ततिलाई चन्द्रागिरि हिल्सले स्मरण गरी यहाँसम्म आमन्त्रण गरेकामा खुसी लागेको बताउनुभयो ।

गोरखा माझकोटमा विसं १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपाल उपत्यकामाथि विसं १८२६ विजय हासिल गरेपछि आधुनिक नेपालको जग बसालेका थिए । उनको जन्मदिन पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा नेपालभर मनाउने गरिएको छ ।

अच्युत रेग्मी/रासस  – तस्बिर/न्यूजपोलार