१० असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेसाबारीको तरकारी दिवा खाजामा



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ ।

विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको जानकारी दिनुभयो ।

“स्थानीयस्तरमा पर्याप्त मात्रामा तरकारी नपाइने हुँदा विद्यालयमै उत्पादन गरेर दिवा खाजामा प्रयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालय परिसरको खाली जग्गामा तीन ठाउँमा मौसमी, बेमौसमी तरकारी लगाएका छाँै । दिवा खाजाका लागि ताजा तरकारी किन्नुपरेको छैन ।” बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् ।

करेसाबारी निर्माण र व्यवस्थापन गर्न विद्यालयले शिक्षक अर्जुन खत्री, सुनिता गौतम र लक्ष्मी शर्मालाई जिम्मेवारी तोकेको छ । शिक्षक खत्रीले विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञान हासिल गरेका बताउनुभयो । शिक्षक गौतमले तरकारीमा प्रयोग नहुने बन्दा, मुला र काउलीको पातलाई प्रशोधन गरेर विद्यार्थीले गुन्द्रक बनाएका बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई दुना टपरी बनाउने सीप पनि सिकाइएको छ । स्थानीय पाठ्यक्रमको पठनपाठन गराउने क्रममा विद्यार्थीलाई स्थलगतरूपमा खेतबारी, गोठ र फार्ममा लैजाने गरिएको छ ।

कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी रु १५ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीले नै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् । अर्का शिक्षक तीर्थबहादुर बानियाँले विद्यालय परिसरको खाली जग्गामा तरकारी खेती विस्तार गर्न लागिएको बताउनुभयो । खाली र बाँझो जग्गाको सदुपयोग भएको छ । विद्यालय परिसरमा सौन्दर्यकरण गर्ने उद्देश्यले फूलको बगैँचा पनि स्थापना भएको छ । विद्यालय हराभरा बनेको छ ।

रमणीय वातावरणमा व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा हासिल गर्न पाउँदा विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्न थालेको छ । फुर्सदको समयमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीका लागि उपचारत्मक कक्षा सञ्चालन गरेको छ । आठजना दरबन्दी, एकजना निजी स्रोतका शिक्षक, एकजना बालविकास र एकजना कर्मचारी छन् । रासस