२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

अस्पतालबाट छुट पाएपछि दुर्गाप्रसाद घर फर्किनुभयो

अस्पतालबाट छुट पाएपछि दुर्गाप्रसाद घर फर्किनुभयो
अ अ+ अ-

इलाम । उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किनुभएको छ ।

बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उहाँलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैँ भएर अस्पतालमै बस्नु परेको थियो ।

परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई घर पठाएको छ । दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन सो अस्पतालमा रहनुभएको अस्पतालले जनाएको छ । उहाँ निको भएको छ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब रु चार लाख १५ हजार नहुँदा घर जान पाइएको थिएन ।

विभिन्न सञ्चारमाध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उहाँले बुझाउन बाँकी रकम नलिई घर पठाएको अस्पतालका अध्यक्ष डा गिरिराज भन्तानाले बताउनुभयो । उहाँले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो ।

“दुर्गाप्रसादमा देखिएको रोग सिजिफ्रेनिया हो”, डा भन्तानाले भन्नुभयो, “शत्प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।” उहाँले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताउनुभयो ।

“छ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो”, दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भन्नुभयो, “अस्पताललाई बुझाउने पैसा नभएपछि करिब छ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ ।”

दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता हुनुभएको थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएका उहाँ २०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला पर्नुभयो । विभिन्न सङ्घ–संस्थाको पहलमा उहाँलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो ।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उहाँको केही उपचार निःशुल्क गरिदिएको थियो । उहाँको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन रु ५० हजार प्रदान गरेको थियो ।

उपचारपछि घर आउनुभएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बन्नुभएका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उहाँलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताउनुभयो । रासस