२९ श्रावण २०८३, शुक्रबार
,
Latest
देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपहाडी लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा



अ+ अ-

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ ।

कालोपत्रका लागि २०७२ माघमा जिम्मा पाएको एमपी/एससीएफ/इसिसी जेभीले वर्षौँसम्म काम नगरेपछि कालोसूचीमा परेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि आठ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्रिकामा सूचना प्रकाशन गरी उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार समयमै काम नगर्ने निर्माण कम्पनी/व्यवसायीलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान छ । सोहीअनुसार लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनीलाई अधिकतम तीन वर्षका लागि कालोसूचीमा राखिएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले जानकारी दिनुभयो । काठेखोला गाउँपालिकाको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक भारत पश्चिम बङ्गालको एमपी सितानी एण्ड सन्स, सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा, काठमाडौँले संयुक्तरुपमा ठेक्का लिएका थिए । हालसम्म सो सडकको ७४ प्रतिशत प्रगति भएको इञ्जिनियर सुवेदीको भनाइ छ ।

विसं २०७५ माघमा सक्नुपर्ने सडकको काम पाँच पटकसम्म म्याद थप गरिएको थियो । विसं २०८० असार ५ गतेसम्म काम नगरेपछि लोकमार्ग कार्यालयले गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न सार्वजनिक कार्यालयलाई खरिद अनुगमन पत्र पठाएको इञ्जिनियर सुवेदीले बताउनुभयो । उक्त खण्डमा पाँच किलोमिटर मात्र कालोपत्र गरिएको छ । सात किलोमिटर कालोपत्र गर्न अझै बाँकी रहेको उहाँको भनाइ छ ।

“लोकमार्गको यो खण्डमा लामो समयसम्म काम भएन, विभिन्न बहानामा निर्माण कम्पनीले काम गरेन, पाँच पटकसम्म म्याद पनि थपियो । काम नगरेपछि कालोसूचीमा राखिएको हो”, इञ्जिनियर सुवेदीले भन्नुभयो, “नयाँ ठेक्काका लागि प्रक्रिया अगाडि बढाइएको छ, बजेटको व्यवस्था भएलगत्तै काम सुरु हुन्छ ।” लोकमार्ग कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु र स्थानीय आजित छन् । रासस