• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

आर्सनलका स्टार फर्वार्ड औबामेयाङ बार्सिलोनासँग अनुबन्धित



इङलिस फुटबल क्लब आर्सनलका फर्वार्ड एवं अफ्रिकी मुलुक ग्याबोनका अन्तर्राष्ट्रिय खेलाडी पिएरे–एमेरिक औबामेयाङले आर्सनल छाडेका छन् । उनले आगामी जुन २०२५ सम्म स्पेनी क्लब बार्सिलोनासँग सम्झौता गरेको बुधबार घोषणा गरिएको छ ।

३२ वर्षीय औबामेयाङलाई बार्सिलोनाले ११ करोड ३० लाख अमेरिकी डलरमा अनुबन्धित गरेको बताइएको छ । आर्सनलमा पछिल्लो समय खटपट भएपछि निराश औबामेयाङले मागेजति रकम बार्सिलोनाले तिर्न नसक्ने बताएपछि उनले आफ्नो ज्याला घटाएका थिए ।

कोभिड–१९ का कारण बार्सिलोना क्लब आर्थिक संकटमा रहेको र क्लब अहिले झण्डै एक अर्ब युरो घाटामा रहेको बताइएको छ ।

औबामेयाङले ३०० भन्दा बढी गोल गरेर रेकर्ड कायम गरेका छन् ।

आर्सनलले मंगलबार मात्र उनलाई अन्य क्लबमा अनुबन्धित हुने गरी अनुमति दिएको थियो । उनी स्पेनी क्लबमा अनुबन्धित हुन हाल स्पेन पुगिसकेका छन् ।

लियोनेल मेस्सी जस्ता फर्वार्ड बेचिसकेको बार्सिलोना अहिले स्पेनी ला लिगामा पाँचौं स्थानमा छ । एट्लेटिको म्याड्रिड भन्दा एक अंकले पछाडि रहेको बार्सिलोनाले आइतबार आफ्नो गृह मैदानमा एट्लेटिकोसँग खेल्दैछ, र सम्भवतः औबामेयाङले बार्सिलोनाबाट पहिलो खेल खेल्नेछन् ।

जर्मान फुटबल क्लब बोरुसिया डर्टमन्डबाट सन् २०१८ जनवरीमा औबामेयाङ आर्सनल आएका थिए । त्यसबखत उनलाई आर्सनलले ५ करोड ६० लाख पाउन्ड दिएको हल्ला चलेको थियो । उनले आर्सनलमा चार वर्ष बिताउँदा क्लबका लागि १६५ वटा खेल खेलेका र ९२ वटा गोल गरेका थिए ।

तर सन् २०२० पछि प्रिमियर लिगमा उनको खेलस्तर कमजोर हुँदै गएको थियो । गत जनवरीमा अफ्रिकी कप अफ नेसन्समा उनी ग्याबोनको राष्ट्रिय टोलीमा सहभागी भएका थिए तर कोरोनाभाइरस संक्रमण भएकाले पहिला दुई खेल उनी खेल्न पाएनन् ।

औबामेयाङले क्लब छाडेपछि आर्सनलको अग्रपंक्तिमा समस्या आउने अनुमान गरिएको छ । अहिले प्रिमियर लिगमा आर्सनल छैटौं स्थानमा रहेको छ ।  एपी