• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

डेडिकेटेड र ट्रंक लाइन विवाद : लाइन काटिएको हिमाल आइरनले पहिलो किस्ता बुझाएपछि विद्युत् जोडियो



काठमाडौँ । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेपछि लाइन काटिएको वीरगन्जस्थित हिमाल आइरन एन्ड स्टिलले विद्युत् प्राधिकरणलाई पत्राचार गर्दै महसुल तिर्ने प्रतिबद्धता जनाएको छ ।

पहिलो किस्ता तिरेपछि सोमबार राति नै उद्योगमा लाइन जोडिएको छ । त्यस्तै, एड्भान्स समूहको रोल्पा सिमेन्टले पनि बक्यौता तिर्ने प्रतिबद्धतासहितको पत्र पठाएको प्राधिकरणले जनाएको छ । ज्योति समूहले सञ्चालन गरेको हिमाल आइरनको आठ करोड १२ लाख ७३ हजार रुपैयाँ बक्यौता थियो । यो उद्योगले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । बाँकी रकम ३६ किस्तामा तिर्ने प्रतिबद्धता गरेको छ ।

बक्यौता नतिरेपछि गत शुक्रबार प्राधिकरणले यो उद्योगको लाइन काटेको थियो । त्यस्तै, रोल्पा सिमेन्टको पाँच करोड ७३ लाख ६३ हजार बक्यौता छ । उसले पनि किस्तामै बक्यौता तिर्ने प्रतिबद्धता गरेको छ । ‘हामी किस्तामा बक्यौता तिर्छाैँ, विद्युत् आपूर्ति कटौती नगर्नुस्’ भन्ने आग्रहसहित रोल्पा सिमेन्टको पत्र प्राप्त भएको प्राधिकरण स्रोतले बताएको छ ।

लोडसेडिङ भएको वेला प्राधिकरणले ०७२ साउनदेखि उद्योगहरूलाई ६५ प्रतिशत प्रिमियममा २४ घन्टासम्म विद्युत् उपलब्ध गराएको थियो । तर, त्यसको प्रिमियम महसुल अहिले विवादमा छ । जरिवाना र ब्याजसहित ५९ उद्योगको २२ अर्ब ४० करोड बक्यौता छ । महसुल नतिरेको भन्दै प्राधिकरणले ६ पुसदेखि उद्योगहरूमा विद्युत् आपूर्ति कटौती गर्दै आएको छ । हालसम्म २३ उद्योगको लाइन काटिएको छ  ।

विद्युत् नियमन आयोगले पुरानो सर्त पूरा भएमा ३१ वैशाख ०७५ देखि ०७७ जेठसम्मको अवधिमा पनि डेडिकेटेड फिडर र ट्रंक लाइनसरह (थप ६५ प्रतिशत प्रिमियममा) विद्युत् महसुल लिन पाउने नीतिगत निर्णय गरेको छ । ३१ वैशाख ०७५ मा लोडसेडिङ अन्त्य भएपछि पनि प्राधिकरणले विभिन्न उद्योगलाई प्रिमियम बिल पठाएको विषय पनि अहिले विवादमा छ, सोही सन्दर्भमा आयोगको सोमबार सम्पन्न २१८औँ बैठकले यस्तो निर्णय गरेको हो ।

६ घन्टा लोडसेडिङ भएको अवस्थामा उद्योगलाई न्यूनतम २० घन्टा विद्युत् आपूर्ति दिएमा प्रिमियम शुल्क लिन पाउने सर्त छ । यदि, ३१ वैशाख ०७५ पछि पनि त्यो सर्त पूरा भएमा प्रिमियममा बिल जारी गर्न सकिने आयोगको निर्णय छ । तोकिएको सर्त पूरा नभए ३१ वैशाख ०७५ पछि प्रिमियममा बिल काट्न नपाइने स्पष्ट पारिएको आयोगका प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिए ।

‘लोडसेडिङ सकिएपछि पनि कुनै न कुनै रूपमा तोकिएको सर्त पूरा हुन्छ भने प्राधिकरणलाई प्रिमियममा बिल काट्ने अधिकार हुन्छ । यदि, सर्त पूरा भएका छैनन् भने उक्त अधिकार प्राधिकरणलाई हुँदैन,’ प्रवक्ता पन्थले भने, ‘सर्त पूरा नभएको अवस्थामा के गर्ने भनेर निर्णय गर्न हामीसँग अधिकार छैन । सर्त पूरा नभई जारी भएको बिललाई अदालतमार्फत वा प्राधिकरणको पुनरावलोकन प्रक्रियामार्फत टुंग्याउँदा उपयुक्त हुन्छ होला ।’ (आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।)