८ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य



अ+ अ-

चौतारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा र्‍याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई छान पनि प्रवद्र्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् ।

प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहे पनि पर्यटकको मुख्य आकर्षक क्षेत्र अहिले पनि उभिन सकिरहेका छैनन् । चीन जोड्ने प्रमुख नाकामात्र नभई पर्यटकीय गन्तव्यमा उत्तिकै चर्चित तातोपानी नाका बल्ल शून्यबाट उभिँदैछ । भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका यहाँका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन् ।

बर्सेनि धेरै सङ्ख्यामा तातोपानी धारा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले भारी गिरावट आएको धारा संरक्षण समितिका सचिव विष्णुलाल श्रेष्ठ बताउनुहुन्छ । भोटेकोशी गाउँपालिकामा रहेको ऐतिहासिक स्थल दुगुनागढी नेपाली सेनाले पुन:निर्माण गरेर पुरानै अवस्थामा फर्काए पनि त्यहाँ पर्यटक पुग्ने वातावरणको बनेको छैन ।

भूकम्पअघि वार्षिक पश्चिमा मुलुकका दुई हजारभन्दा बढी नागरिक दुगुनागढी र भैरवकुण्ड भ्रमणमा आउने गरेका थिए । तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । सोमध्ये ५० हजारभन्दा बढी चीनका हुन्थे । अहिले यो कथाजस्तै भएको तातोपानीका व्यापारी दीपेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

भोटेकोशी र सुनकोशी नदीमा गरिने र्‍याफ्टिङ र बञ्जीजम्पको पर्यटन पनि नदी उत्खनन र प्रदूषणले बगरमा परिणत गराएपछि व्यवसायी निरुत्साहित छन् । “जलपर्यटनलाई अरु चुनौती छैन, जथाभावी दोहन र नदी प्रदूषणलाई नियन्त्रण नगरिँदा यहाँको भविष्य धर्मराउँदो छ”, सुकुटे बिच एडभेन्चर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा भन्नुहुन्छ ।

विश्वका सानाठूला गरी छ हजार नदीनालामध्ये एडभेन्चरका लागि उत्कृष्ट १० नदीमा भोटेकोशी र सुनकोशी सातौँमा परेको छ । विसं २०५६ मा पहिलोपटक न्यूजील्याण्डका डेविट र नेपाली विष्णुप्रसाद न्यौपानेबाट सञ्चालित बञ्जीजम्प पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ । दैनिक ७० जना पर्यटकमा ४५ जना नेपालीले ‘बञ्जी एड्भेन्चर’ हान्छन् ।

सडकलाई व्यवस्थित नबनाइएकाले बञ्जीसम्म आउने अवस्था जोखिम बन्दै गएको छ । भूकम्पअघि वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बुको बस्तीबाट पाँचपोखरीका विभिन्न धार्मिकस्थल अवलोकन गर्ने गर्दथे । अहिले पूर्वाधार र धार्मिक मन्दिर तङ्ग्रिने चरणमा रहे पनि दैनिक ४० पर्यटक मात्रै आउने गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाका अनुसार ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्ची घ्याङ, महादेव पाइला, आमायाङ्ग्री, ग्रेटटेल र पाँचपोखरी घुम्न अत्यधिक आन्तरिक पर्यटक आउने गरेका छन् । रासस