२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीको कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी



अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो ।

“डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ”, उहाँले भन्नुभयो, “यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपिएको छ, यसले थप क्षेत्रफल बढ्ने र क्रमश: अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने छ ।”

अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्ने गरेको सूचना अधिकारी गौतमले बताउनुभयो । यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ र बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको छ ।

पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदानजस्तै बनेको कबुलियत वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियत वनमा अम्रिसो खेती लगाउने गरिएको छ । यसअनुसार हुप्सेकोट गाउँपालिकाको राम्चे क्षेत्रमा १९ वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या एक सय ९० रहेको छ । बौदीकाली गाउँपालिकाको रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार गाउँपालिका क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आबद्ध छन् ।

“चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “सामूहिक रूपमा अम्रिसो खेती गर्ने र आएको रकम प्रतिघर बाँड्ने गरिएको छ ।”

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा बस्ने अधिकांश सर्वसाधारणको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको हुप्सेकोट गाउँपालिका–५ का वडाअध्यक्ष पदमबहादुर रानाले बताउनुभयो । “केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “बर्सेनि अम्रिसोको कुचो बिक्री गरेर एक परिवारले तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।”

हुप्सेकोट–५ राम्चेका श्यामबहादुर राईले पनि अम्रिसो बेचेर वार्षिक करिब ९५ हजार आम्दानी गर्ने गरेको बताउनुभयो । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखोबारी छ, लगाएको धानले बढीमा चार महिना पुग्छ”, उहाँले भन्नुभयो, “पहाडको पाखामा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि यसबाट चामल खरिद गरेर वर्षभरि खानपुग्ने भएको छ ।”

प्रत्येक दुई–दुई वर्षमा काट्न सकिने भएकाले पनि कृषक बर्सेनि फरक–फरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेको बुलिङटार गाउँपालिका–४ देउरालीका मीनबहादुर आलेले बताउनुभयो । उहाँले वार्षिक अम्रिसो बिक्री गरेर करिब ६० हजार आम्दानी गर्ने गर्नुभएको छ । “यहाँ पाखोबारी धेरै रहेकाले सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ, यसले अन्य खाद्यबाली गर्न नसकिने हुनाले अम्रिसो खेती गर्ने गरेका छौँ”, उहाँले भन्नु भयो । प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ गतेसम्म अम्रिसो लगाउने गरिन्छ भने मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने गरिएको छ । रासस