• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता



बेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ । दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उहाँले त्यसबापत शुल्क तिर्ने गरेको बताउनुभयो ।

“वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ । यो पुल पनि अब जीर्ण बन्दै गएको छ”, उहाँले भन्नुभयो, “बर्खामा ओहोरदोहोर गर्न झनै समस्या हुन्छ ।”

वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । “पक्की पुल निर्माण गर्ने भनेको वर्षौँ भइसक्यो । काम कहिले सकिन्छ ? त्यसको केही सुरसार छैन”, लालझाडी–५ का धोके रानाले भन्नुभयो, “पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।”

स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु २० शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के निर्माण गर्नुभएको छ । सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीय कृष्ण रानाले बताउनुभयो । “पुलका टेको मक्किएका छन् । दुर्घटनाको खतरा छ । हामीले कहिलेसम्म काठे पुल प्रयोग गर्ने ?”, उहाँले भन्नुभयो ।

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुने गरेको छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । “वर्षात्मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले पुल हटाइन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।” रासस