२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

साकेला उँधौलीः भूमिको पूजा गर्दै साकेला नाचियो

साकेला उँधौलीः भूमिको पूजा गर्दै साकेला नाचियो
अ अ+ अ-

खोटाङ । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन् ।

पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किरात समुदाय ऐतिहासिकस्थल रुपाकोटगढीमा भेला भएर किराती पुर्खा/धामीले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको सुरुआत गरेका छन् । साकेला उँभौलीको अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गरिएको दुमकिम खार्मीका उपाध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो ।

रुपाकोटगढीमा किराती पुर्खा खारम्बु राजाले शासन गरेको इतिहास छ । उँभौलीमा आ–आफ्नो थुम (टोल)मा रहेको साकेला थानमा भेला भएर भूमिको पूजा गर्दै साकेला चाड मनाउने खार्मीका किरात समुदायले उँधौलीमा भने एकै ठाउँ (रुपाकोटगढी)मा भेला भएर सामूहिकरूपमा भूमिको पूजा गर्दै मनाउने गरेका छन् ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको जनाइएको छ ।

साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ–जायाजुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोटगढी, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ । उँधौली र उँभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।

छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक वेशभूषामा सजिएर हरेक किरात राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ ।

उँधौली तथा उँभौली जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ ।”

साकेला उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमादेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उँधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेँसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःखसुखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ । रासस