२१ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेष्ठ नागरिकमा रहेको अन्तर्निहित ज्ञान, सिप र अनुभवबाट नयाँ पुस्ताका जीवनोपयोगी शिक्षा: पूर्व राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश उहाँले जीवनभरको संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सिप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि जीवित पाठशाला रहेको जनाउनु भएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले उहाँहरूमा अन्तर्निहित ज्ञान, सिप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गर्न सक्दछ । ज्येष्ठ नागरिकहरूले आर्जन गरेका अमूल्य ज्ञान र अनुभवहरूलाई समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग गर्न परिवार‚ समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्ने जनाउनु भएको छ ।

सन्देशमा भनिएको छ- वितेका केही दशकयता जीविकोपार्जनमा आएको परिवर्तन, फेरिएको जीवन पद्दति, आप्रवासन आदिका कारण हाम्रो पारिवारिक संरचनामा समेत अभूतपूर्व परिवर्तनहरू देखिन थालेका छन् । ठूलो आकारको संयुक्त परिवारको सट्टा सानो एकल परिवारमा बस्ने प्रचलन बढ्दै गएको छ । यस्तो परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदैछ । जीवनको उत्तरार्द्धमा पुगेका वृद्धवृद्धाप्रति सन्ततिको कर्तव्यबोध र जिम्मेवारीको भावना समेत क्रमश: ह्रास हुँदै गएका कारण पारिवारिक स्नेह र हेरविचारबाट अग्रजहरू विमुख हुँदैछन् ।

सन्देशमा भनिएको छ -आफ्नो जीवनको सम्पूर्ण उर्जाशील र उत्पादनशील समय परिवार, समाज र राष्ट्रका निम्ति समर्पण गरेका ज्येष्ठ नागरिकहरूको सहज, सुरक्षित र सम्मानित जीवनलाई सुनिश्चित गर्ने दायित्व पनि परिवार, समाज र राज्यकै हो । तसर्थ, ‘मातृदेवो भवस्, पितृ देवो भवस्’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित हाम्रो परिवार प्रणाली, मूल्य, मान्यता, संस्कार र संस्कृतिलाई बचाउँदै ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।

वि.सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ को रूपमा मनाउन सुरु गरिएको हो ।