१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान

‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान
अ अ+ अ-

देउखुरी । घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उहाँलाई बाख्रा पाल्न सजिलोे भएको छ । उहाँ हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउनुहुन्छ । उहाँले पूरै खेतमा घाँस लगाउन थालेको पाँच वर्ष भयो । हरियो हुँदा काटेर गाईवस्तुलाई खुवाउन पनि पाइएको छ । सुकेको डाँठलाई खुवाउन पाइने र फल लाग्यो भने बिक्री पनि गर्न पाइने अत्यन्तै उपयोगी घाँस भएको उहाँले बताउनुभयो । “बाख्राका लागि घाँस खोज्न भौँतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिएको छ । समयको बचत पनि भएको छ । एक बिघा खेतबाट एक सिजनमा एक लाख रुपियाँ आम्दानी हुन्छ । गत वर्ष मात्र मैले रु दुई लाखको बरसिम घाँस बेचेँ”, उहाँले भन्नुभयो । 

घोराही–६ का महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाउनुभएको छ । हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेंडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पु¥याउँछ । पशुपालक किसानका लागि बरसिम घाँस एकदमै उपयोगी भएको उहाँले बताउनुभयो । गत वर्ष रु असी हजारको घाँस बिक्री गरिएको उहाँले बताउनुभयो । “यसपालि पनि राम्रो उत्पादन हुने आशा गरेको छु”, उहाँले भन्नुभयो । 

घोराही–१७ कर्जाहीका पूर्ण चौधरीले दुई भैंसी, चार भेडा र छ बाख्रा पाल्नुभएको छ । “दश कट्ठा खेतमा बरसिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ”, उहाँले भन्नुभयो । घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उहाँले बताउनुभयो । “गत वर्ष रु ६० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ । यसपालि हिउँदे वर्षा भएकाले घाँस राम्रो भएको छ । एक पटक काटेर सकियो । चार पटकसम्म काट्न सकिन्छ”, उहाँले भन्नुभयो । गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानमा ‘ग्रिन गोल्ड’मा आकर्षण बढेको छ । 

किसानले प्रायः आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने चलन भए पनि दाङका किसानले वागवानीअन्तर्गतका तरकारी, फलपूmल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषकले व्यावसायिकरूपमा एकवर्षीय हिउँदे कोसे बरसिम घाँसखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही–६,७ र १७ का किसानले पछिल्लो समयमा घाँसखेतीबाट राम्रो आम्दानी लिने गरेका छन् । धान खेतीपछि बरसिम घाँस खेती गर्ने गरिन्छ । । ‘भुइँघाँस’ खाएका पशुले दिने दूध अत्यन्तै लाभकारी मानिन्छ । 

वर्षात्मा लगाइएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । हरियो र सुकेको बरसिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही –६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भए पछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो र गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ ।

घोराही– ६ का गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा तथा घोराही –१७ को गैरागाउँका किसानले बरसिम घाँसखेती गरेका छन् । अहिले पुरै खेत भरी हरियो बरसिम खेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका १६० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ । जोत्न नपर्ने , मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटकपटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । घाँसका लागि कम लगानी गर्नुपर्ने भएकाले हरेक वर्ष घाँसखेती गर्ने किसान बढ्दै गएको शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घले जनाएको छ । सङ्घका सचिव अधिकारीका अनुसार अहिले १०० हेक्टरमा बरसिम घाँस खेती गरिएको छ । व्यावसायिकरूपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । घाँस खेतीबाट गत वर्ष रु ७० लाख आम्दानी भएको सचिव अधिकारीले बताउनुभयो । कतिपय किसानले आफैँ बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफैँ बिक्री गरेको रकम जोड्दा धेरै हुने उहाँ बताउनुहुन्छ । यस वर्ष बरसिम घाँसको बीउ करिब रु ७५ लाखको बिक्री हुने उहाँको अपेक्षा छ । पानी परेकाले यस वर्ष घाँस खेती राम्रो हुने किसान बताउँछन् । 

दङ्गीशरण गाउँपालिकामा पनि पछिल्लो समय किसानले बरसिम घाँस खेती गर्न थालेका छन् । त्यहाँका किसानको मागका आधारमा ७५ प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताउनुभयो । तीन सय ६४ किसानले बरसिम घाँसको बीउ पाएका छन् । घाँसको बीउका लागि तुलसीपुर र घोराही जानुपर्ने बाध्यता हटेकाले यहाँका किसान खुशी भएका छन् । गाउँपालिकामा बरसिम, जै र भेज घाँसको बीउ वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

लमही नगरपालिकाका किसानलाई व्यावसायिकरूपमा पशुपालन गर्न सजिलो होस् भनेर अनुदानमा घाँसको बीउ वितरण गरिएको नगरपालिका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । “स्थानीयस्तरमा उत्पादित बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । व्यवसायी र साधारण किसानलाई पशुआहार कार्यक्रमअन्तर्गत सहयोग गरिएको हो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको छ । 

दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा रहेको अधिकारीले बताउनुभयो । जिल्लामा व्यावसायिकरूपमा यसरी गरिएको घाँस विभिन्न जिल्लामा बिक्री भएको छ । दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा बिक्री हुने गरेको छ । घोराही –६ (साबिक सौडियार गाविस) मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँसखेती सुरु भएको हो । दाङमा उत्पादित घाँसमा उमार शक्ति धेरै छ । यहाँ प्रतिकठ्ठा ३० देखि ३५ किलोग्रामसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । हिउँदे घाँस बरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा काटेर गाईभैंसीलाई खुवाउन सजिलो हुन्छ । 

कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रतिकिलो रु १६० देखि २२० सम्ममा बिक्री गर्ने गरिएको छ । घाँसको राजा बरसिम गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेको पाइन्छ । घाँसको हरियो र सुकेको डाँठ दुवै पशुपक्षीलाई खुवाउन सकिन्छ । जिल्लामा गाई, भैंसी र बाख्राको व्यावसायिकपालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिनुभयो । 

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिनुभयो । खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको चौधरीले बताउनुभयो । घाँस खेती गरेका किसानले हरियो घाँस र फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको चौधरीको भनाइ छ । 

दाङमा घोराही, नारायणपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर र सौडियार क्षेत्रमा व्यावसायिक घाँसखेती हुने गरेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा बरसिम घाँसको बीउ वितरण गर्दै आएका छन् । घोराही उपमहानगरपालिकाले २४४ किसानलाई एक हजार ८१५ किलो बरसिम घाँसको पचास प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखा प्रमुख जीवराज पौडेलले बताउनुभयो । उपमहानगरभित्रका व्यावसायिक किसानको मागका आधारमा घाँसको बीउ वितरण गरेको छ । उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नतजातका पशुपालन गर्ने बढ्दै गएका छन् । किसानले हरियो र सुकेको दुवै घाँस बिक्री गरेर आम्दानी गर्न थालेका छन् । किसानलाई व्यवसायमा सजिलो होस् भनेर गत वर्षदेखि घाँसको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न थालिएको प्रमुख पौडेलले जानकारी दिनुभयो । सिंचाइको सुविधा भएका अन्य पालिकामा पनि बरसिम घाँसखेतीका लागि प्रोत्साहन गर्ने सोचाइ राखिएको जिल्लास्थित भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । (रासस, रञ्जिता अधिकारी)