• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

सुन्तलाबाटै करोडौँ कमाउँछन् सुन्थानका किसान, बगैँचामै पुग्छन् व्यापारी



पनौति । काभ्रेपलाञ्चोकको पनौति नगरपालिकास्थित सुन्थान गाउँ यतिबेला सुन्तलाले ढकमक्क छ । गाउँभर सुन्तलाबाट १ करोड रुपैयाँ भन्दा बढी पैसा आउँछ । अर्थात किसानहरुले सुन्तला बेचेर एक करोड भन्दा बढी आम्दानी गर्ने गर्दछन् । सुन्थानका बासिन्दाहरुलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । धेरै क्षेत्रफलमा सुन्तला लगाउनेहरुका घरमै व्यापारीहरु सुन्तलाको दाम दिन पुग्ने गरेपनि थोरै सुन्तला लगाउनेहरु भने बनेपा झरेरै सुन्तला बेच्ने गर्दछन् ।

थोरै मात्रामा सुन्तला किन्नै भनेर गाउँसम्म पुग्नेहरु पनि प्रशस्त छन् तर सबै समयमै बिक्री नहुने भएकाले बनेपासम्म झरेर भएपनि सुन्तला बेच्ने गरेको स्थानीय किसानहरुको भनाइ छ । सुन्थानमा भूकम्पपछिको केही वर्ष सुन्तला उत्पादनमा ह्रास आएपनि पछिल्लो दुई वर्ष यता सुन्तला उत्पादन बढ्दै गएको कृषकहरु बताउँछन् । मकै, तोरी र तरकारी खेती हुने ठाउँमा सुन्तलाले अहिले प्रशस्त ठाउँ पाएका छन् । सुन्थानका डेढ सय घरधुरीमा थोरै भएपनि सुन्तलाका बोट छन् ।

विगत ३० वर्षदेखि सुन्तला खेती गर्दै आउनुभएका सुन्थानका यज्ञबहादुर भण्डारी सुन्तला खेतीले त्यहाँका किसानको जीवन धानेको बताउनु हुन्छ । मकै, तोरी लगाउँदा साठीदेखि सत्तरी हजारसम्म वार्षिक कमाइ हुने सुन्थानमा सुन्तला लगाएपछि ५ लाखसम्म कमाइ हुने गरेको उहाँको भनाइ छ । २०५१ सालबाट सुन्तला खेती गर्न लाग्नुभएका भण्डारीले यस पटक पनि दुई लाख ६२ हजारको सुन्तला बिक्री गरिसक्नुभएको छ । अझै केही सुन्तला बिक्री हुन बाँकी रहेको उहाँ बताउनु हुन्छ । २०७१ सालमा ५ लाखको सुन्तला बेचेको सम्झिँदै उहाँले त्यसताका हेरेर अहिले आधा पनि कमाइ नभएपनि आफू सन्तुष्ट रहेको बताउनु भयो । नगरपालिकाले सुन्तला खेती गर्ने किसानहरुलाई अनुदान नदिएको गुनासो गर्दै कृषक भण्डारीले सिंचाईका लागि पानी, मल र बिरुवा पाएदेखि सुन्तला उत्पादन अझै बढाउन सकिने बताउनु भयो ।

‘मकै, तोरी लगाउँदा साठी सत्तरी लाख हुन्थ्यो भने अहिले ५ लाखको सम्म बेचियो । यसपालि मैले दुई लाख ६२ हजारको बेचेँ । यो ०७१ सालको हिसावले त आधा पनि आएन, यसपालि आयो । कसैले केही सहयोग गरेको छैन, पानी छैन, हामीले अनुदानहरु केही पाएको छैन, मल बिरुवा पाएको छैन, मल भए राम्रो फल्थ्यो होला ।’ उहाँले भन्नुभयो, ‘एउटा बोटमा २ सय किलोसम्म फल्छ । यहीँ किन्न थोरै आउनेहरुलाई सय रुपैयाँ किलो बेच्ने गरेका छौँ ।’

पनौति नगरपालिका वडा नम्बर ९ कै अर्का किसान शहदेव महतले पनि ३ रोपनी जग्गामा सुन्तला खेती गर्नुभएको छ । अहिले तीन रोपनी जग्गामा डेढ सय सुन्तलाका बोट रहेको र यस वर्ष २ लाख रुपैयाँसम्म आम्दानी हुने आँकलन आफूले राखेको बताउनु भयो । गत वर्षहरुमा किरा लागेका कारण उत्पादनमा ह्रास आएपनि यस वर्ष नगरपालिकाले किरा मार्ने औषधि दिएसँगै सुन्तलाको उत्पादन बढेको उहाँ बताउनु हुन्छ । मकै, तोरी लगायतका बालीहरु लगाउँदा भन्दा सुन्तला खेतीबाट धेरै आम्दानी गरेको बताउनु भयो । उहाँले भित्री बालीका रुपमा कोदो र मकै लगाउन सकिने भएकाले पनि सुन्तला खेतीबाट आम्दानी राम्रो हुने गरेको बताउनु भयो । सुन्तला टिपिसकेपछि सुकेका हाँगा, अ‍ैँजेरुहरु काँटछाँट गर्नुपर्ने र मलजल गर्नुबाहेक अन्य केही पनि कुराहरु सुन्तला खेतीका लागि गर्नु नपर्ने भएकाले पनि धेरै सहज रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले बिजो बिरुवा सारेको हो, यो फल्न पाँच वर्ष लाग्छ । सबै एकै ठाउँमा हुँदा ५ लाखसम्मको बेचियो । अहिले ३ रोपनीमा डेढ सय बोट जति छन् । अघिल्लो वर्ष कीराका कारण धेरै झरेको थियो । यसपालि औषधि दिनुभएको थियो, १० पटक हाल्नुपर्नेमा ३ पटकका लागि मात्रै औषधि दिनुभएको थियो, यसपालि खासै झरेन । गाउँमा धेरथोर सबैकोमा छ । रोगले नराम्रो भएको हो, यसमा मकै लगाउँदा पनि सुन्तलाको जति आम्दानी हुँदैन, यसमा भित्री बाली लगाउन सकिन्छ । अहिले मैले २ लाख चानचुनको बेच्ने आँकलन छ । यसको सुकेका हाँगा, अ‍ैँजेरुहरु काँटछाँट गर्नुपर्छ, यो टिपीसकेपछि त्यसपछि मलजल गर्नुपर्छ । यस पटक पनि किरा नलाग्ने औषधि नि:शुल्क दिनुभयो भने राम्रो हुन्थ्यो ।’

उहाँले नगरपालिकाबाट सुन्तला किसानहरुलाई गत वर्ष झै यस वर्ष पनि किरा नलाग्ने औषधि नि:शुल्क दिए राम्रो हुने बताउनु भयो ।

वडा नम्बर ९ कै किसान गोपी महत पछिल्लो समय सुन्तलाको उत्पादन र व्यापार फस्टाइरहेको बताउनु हुन्छ । आफूले थोरै क्षेत्रफलमा सुन्तला लगाएको भएपनि २५ हजार रुपैयाँसम्मको सुन्ता बेच्ने लक्ष्य राखेको उहाँको भनाइ छ । आफूले धेरैजसो खेती तरकारी गरेकाले सुन्तला खेती कम रहेको र कम सुन्तलाहरु बनेपा बजारसम्म झरेर आफैँले बेच्ने गरेको बताउनु भयो । उहाँले सुन्तलाबाट गाउँले वार्षिक एक करोड भन्दा बढी आम्दानी गर्ने गरेको बताउनु भयो ।

‘पछिल्लो समय सुन्तलाको व्यापार बढी नै छ । नगरपालिकाले विषादी दिएको थियो त्यो हालेपनि कुहिन र झर्न कम भएको छ । हामीले यसपालि २० देखि २५ हजारसम्म बेच्छौँ । थोरै हुनेले बनेपा लगेर बेच्छौँ, धेरै हुनेले यहीँबाट बेच्नुहुन्छ ।’ उहाँले भन्नुभयो, गाउँभरमा सुन्तलाबाट एक करोड बढी पैसा किसानहरुले भित्र्याउनु हुन्छ ।’

त्यस्तै पनौति नगरपालिका वडा नम्बर ९, ओम डाँडास्थित शिकारी गाउँका किसान रमा महतले भूकम्पपछि सुन्तला खेतीमा कमी आएको बताउनु भयो । नगरपालिकाले सुन्तलामा लाग्ने किरा मार्नका लागि औषधि दिएपछि यस वर्ष सुन्तला झर्न कम भएको उहाँको भनाइ छ । औषधि १० पटकसम्म हाल्न पाए अर्को वर्ष सुन्तला खेती राम्रो हुने अनुमान गरेको बताउनु भयो । उहाँले थोरै जग्गामा लगाएको भएपनि सुन्तला खेतीले वर्षभर आफूलाई खान पुग्ने आम्दानी हुने बताउनु भयो । उहाँले नगरपालिकाले तरकारी र सुन्तला खेतीका लागि आवश्यक तालिम दिए झनै राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गएको साल वर्षमा औषधि पनि पठाइदियो नगरपालिकाले । अझ दुई पटक मात्रै हाल्यौँ । यो वर्ष झरेको छैन । भूकम्पपछि त्यस्तो भएको हो । सुन्तलाबाट राम्रो छ । थोरै जग्गामा लगाएको भएपनि त्यसले आफूलाई वर्षभर खान पुग्छ । वर्षको दुई पटक मलजल गर्नुपर्छ । हामीलाई सबैथरी तालिम दिए हुन्थ्यो । बढी तरकारीको तालिम दिँदा राम्रो हुन्थ्यो ।’

अर्का किसान शिवबहादुरले ७ रोपनी क्षेत्रफलमा आफूले सुन्तला खेती गरेको बताउनु भयो । उहाँले अहिले जलवायु परिवर्तनजन्य प्रभावका कारण कम पानी पर्ने र त्यसको असरले सुन्तलाका बोटहरु मर्ने गरेको बताउनु भयो । अझै १ स १५ जति सुन्तलाका बोटहरु रहेको र यसवर्ष तिनीहरबाट १ लाख ४० हजार रुपैयाँको सन्तला बिक्री गरेको बताउनु भयो । २० वर्षबाट सुन्तला खेती गरेको भन्दै उहाँले सुन्तला बेचेर किसानहरुले करोडौँ रुपैयाँ भित्र्याउने गरेको बताउनु भयो । उहाँले सुन्तलाको लागि पानीका कारण सिंचाई हुन नसक्नु र जमिनमा चिसो नहुँदा उत्पादन राम्रो नहुने गरेको बताउनु भयो । सुन्तलाको उत्पादन बिस्तारै कम भइरहेकाले स्थानीय सरकारले त्यसमा विशेष आवश्यक दिनुपर्नेमा जोड दिनुभयो । किसानहरु सुन्तला उत्पादन कम हुँदा चिन्तित रहेको बताउँदै उहाँले पानीको कमीका कारण यी समस्या उत्पन्न भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसपालि ठिकै सुन्तला फलेको छ । ७ रोपनीमा लगाएको छु । अहिले सवा सय बोट बाँकी छन् । मैले यसवर्ष १ लाख ४० हजारमा बेचेँ । राम्रो आम्दानी नभएपनि अरु बाली भन्दा राम्रो हछ । १० देखि १५ वटा बिरुवाबाट शुरु गरेको थिएँ, पछि गाउँघरमा सबैले लगाउन थालेपछि शुरु गरेका हौँ । करिव २ सय लगाएका थियौँ । मरे कति काटियो गर्दा सवा सय जति छन् । यहाँ करोडौँ भित्र्याउँछन्, सुन्तला बेचेर गाउँमा । नगरपालिकाले खासै केही गरेको छैन । यस पटक औषधि छर्किने भनेर गरेका थिए । त्यसबाहेक केही सहयोग छैन । सुन्तलाको लागि पानीको कमी छ, बढी भएको भए सिंचाईका कारण हुन्थे । मौसमका कारण पानी कम पर्छ, जमिनमा चिसो छैन, त्यसले सुन्तला मरिरहेका छन् । सुन्तलाको उत्पादन भूकम्पपछि केही कम हुँदै गयो । सुन्तलाको उत्पादन बिस्तारै कम भइरहेको छ । किसानहरु नफलेर अलि चिन्तित छन्, पानीको कारणले त्यस्तो कमी आइरहेको छ भन्ने महशुस भएको छ ।’

यता, पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले नगरपालिकाले कृषिलाई विविधिकरण गर्न खोजिरहेको बताउनु भयो । उहाँले नगरपालिका कृषि क्षेत्र र किसानका लागि विशिष्टिकृत तरिकाबाट योजना बनाएर अघि बढीरहेको दाबी गर्नुभयो । उहाँले नगरमा रहेका ५६ हजार नागरिकमध्ये अधिकांश कृषि पेशामै आश्रित रहेको बताउनु भयो । नगरपालिकाका उत्पादनलाई बजारीकरण गर्न आफूहरुले पहल गरिरहेको पनि बताउनु भयो । केही समय पहिला जनप्रतिनिधिको कम चासो र किसानको पनि हेलचेक्राँईले गर्दा सुन्तला खेती मासिन लागेको स्मरण गर्दै उहाँले आफू नगपालिकाको प्रमुखका रुपमा आएपछि किसानहरुका समस्या समाधान गर्न र उनीहरका उत्पादनलाई बजारीकरण गर्न चासोका साथ काम गरेको बताउनु भयो । आगामी दिनमा यसको सरसफाई र गोडमेलको लागि किसानसँग अन्तरक्रिया गरेर पहिलाको जस्तै हराभरा बनाइदिने नगरपालिकाको योजना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पनौति नगरपालिका कृषिप्रदान नगरपालिका पनि हो । अधिकांश नगरवासी ५६ हजार नागरिक छन् । यो नगरमा अधिकतम कृषिमै आश्रित छन् । हामीले कृषिलाई विविधिकरण गर्न खोजिरहेका छौँ । हामी विशिष्टिकृत तरिकाबाट जाँदैछौँ । राम्रो कुन पेशा गर्नसक्नुहुन्छ, त्यो एउटा राम्रो गर्नुहोस् भनेका छौँ । कृषिलाई आफूले व्यवसायीकरण गरौँ भनेर अघि बढेको छु । फलफूल खेती धेरै पहिलैदेखि हुँदै आइरहेको छ । विशेष गरी सुन्तला खेतीले । जनप्रतिनिधिको कम चासो र किसानको पनि हेलचेक्राँईले गर्दा लगभग सकिन लागेको थियो । म आइसकेपछि किराको औषधि दिएर केही भएपनि किसानलाई सहयोग गरिरहेका छौँ । त्यसको नतिजा सन्तोषजनक पाएका छौँ । यसको सरसफाई र गोडमेलको लागि किसानसँग अन्तरक्रिया गरेर पहिलाको जस्तै हराभरा बनाइदिँदै छौँ । समयमै किसानलाई रोगहरुको बारेमा जानकारी दिएर रोकथामका उपाय सिकाउने हो भने उत्पादनमा असर हुँदैन । हामी त्यहीअनुसार अघि बढीरहेका छौँ ।’

प्रमुख भण्डारीले नगरपालिकाले समयमै किसानलाई रोगहरुको बारेमा जानकारी दिएर रोकथामका उपाय सिकाउने हो भने उत्पादनमा असर नहुने आफूहरुको ठम्याइ रहेको बताउनु भयो । उहाँले नगरपालिकामा उत्पादित सुन्तलालाई ब्राण्डिङ गर्न नसकेको र आगामी दिनमा सिंचाईको समस्यालाई समाधान गर्ने प्रतिवद्धता गर्नुभयो ।

प्रसन्न ढुंगाना/निमेष गुरागाईं: न्युज एजेन्सी नेपाल