डुम्रे (तनहुँ): तनहुँको देवघाट गाउँपालिका–४ बासपानी डुडे बसेनीका ४० वर्षीया फुलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त हुनुहुन्छ । आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पूर्खौली पेसाबाट नै आम्दानी गर्दै आएको फुलमायाले बताउनुभयो ।
खेतीबाली लगाउनुका साथै फुलमायाले बाख्रा, कुखुरा पाल्नुभएको छ । मुख्य आयस्रोत भने डालो बुनेर बिक्री गर्नु रहेको भन्दै उहाँले घरधन्दासँगै दैनिक १० वटासम्म डालो बुन्ने गरेको बताउनुभयो । डालो बुनेर नै यहाँका भुजेलको जीविकोपार्जन हुने गरेको उहाँले सुनाउनुभयो ।
फुलमायाले भन्नुभयो, “हामीले पूर्खाबाट सिकेको सीपले नै घर धानेका छौँ । महिलाले डालो, सोली बुन्छौँ । पुरुषले ठूलो भकारी बुन्छन् । हामीले बुन्ने बाँसका सामग्री चाहीँ छोरा मान्छेले बुन्दैनन् ।” यहाँ उत्पादित बाँसका सामग्री बिक्रीका लागि चितवनसम्म पुर्याउने गरिएको उहाँले बताउनुभयो ।
रू दुई सय घनमा बाँस किनेर सामग्री बनाउँदै आएको फुलमायाले जानकारी दिनुभयो । “ठूलो घनको बाँसबाट करिब १० वटा डालो बनाउन सकिन्छ । बाँसको घनअनुसार सामान बनाउने हो”, उहाँले भन्नुभयो ।
फुलमायाका अनुसार रू एक सय २० मा यहाँबाट लगिएका सामग्री बजारमा बिक्री गर्ने गरिएको छ । “पहिले धेरै बनाउँदा बिक्री पनि हुन्थ्यो । अचेल पहिलाको जस्तो किन्दैनन्”, उहाँले भन्नुभयो, “यी बाँसका सामान बिक्री गरी दैनिकी चलाउनका लागि चितवनबाट चामल किनेर ल्याउने गरेका छौँ ।”
यही बाँसको सामान बेचेर छोराछोरी हुर्काएको फुलमायाले अनुभव सुनाउनुभयो । “अहिले छोराहरुले रोजगारी गर्छन् । आफूले जानेको सीप बेचेर अहिलेसम्म जीवन धानेका छौँ । सीप त छ तर बजार र मूल्यको समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो ।
यहाँका भुजेल समुदायले बाँसको सामान उत्पादन तथा बिक्री वितरण गरी जीविकोपार्जन गरिरहेका सोही ठाउँका सञ्जय भुजेलले बताउनुभयो । “पुरुषले भन्दा छिटो महिलाले बाँसका सामान बुन्न सक्छन् । तुलनात्मक रुपमा महिलाले बुनेका सामान बढी बजारमा माग हुन्छ”, उहाँले भन्नुभयो, “हामीले ठूला सामान बनाउछाँैं । महिलाले साना सामान बनाउने र उत्पादन पनि धेरै हुँदा कमाइ पनि धेरै हुन्छ ।”
बजारमा पहिलेको जस्तो ठूला सामानको माग घट्दा बजार अभाव हुन थालेको सञ्जयको गुनासो छ । उहाँका अनुसार ग्रामीण क्षेत्रमा पनि भनेजस्तो बाँस पाउन छोडेपछि किनेर सामग्री बुन्ने गरिएको छ । “किनेर बनाउनु पर्ने भएकाले महङ्गोमा बेच्दा बिक्री हुदैन । कम मूल्यमा बेच्दा सीप र मेहनत अनुसारको लागत उठ्दैन”, उहाँले भन्नुभयो ।
सामान कम मूल्यमा बेच्दा सीपको मूल्य नपाएको फुलमायाको गुनासो थियो । उहाँले भन्नुभयो, “बाँसको मूल्य तिर्छौँ । हामीले सीपको मूल्य पाएका छैनौंँ ।” यहाँका साना बच्चाबच्चीले पनि बाँसका सामग्री बुन्न जानेका छन् । यहाँका बालबालिकालाई परम्परागत सीप सिक्न प्रोत्साहन गरिँदै आइएको उहाँको भनाइ थियो ।
“पछि काम नै नपाएर खानलाउन समस्या हुँदा यही सीपको सदुपयोग गर्न सकिन्छ भनेर बच्चादेखि नै सीप सिकाउछौँ । सीप जानेपछि नयाँ प्रविधिको प्रयोग गरेर सामग्री बनाउन र आम्दानी गर्न सकिन्छ”, फुलमायाले भन्नुभयो । उहाँका अनुसार यहाँका करिब ५०/६० घरपरिवारले बाँसको सामग्री बनाउने गरेका छन् ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले ग्रामीण क्षेत्रमा सीप विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । परम्परागत तथा पूर्खौली पेसा र सीपको विकास भने गर्न सकेको पाइदैन । पूर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै सङ्कटमा पर्ने अवस्था आएको छ । बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवद्र्धन गर्न नसक्दा स्थानीयवासी मारमा पर्ने गरेका छन् ।
बजारमा रू पाँच–सात सयमा बिक्री हुने सामग्री स्थानीयवासीले बढी समय र मेहनत लगाएर बनाए पनि सीपको उचित मूल्य पाउन नसकेको गुनासो छ । किन्न नपर्ने गरी बाँस रोप्न, बढाउन र सामग्री उत्पादनमा प्रोत्साहन गर्न सकिएमा पूर्खौली पेसाबाट आयआर्जन वृद्धि हुनुका साथै स्वरोजगार बन्न सक्ने उनीहरुको भनाइ छ ।रासस