• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

अध्यागमन विभागद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण



काठमाडौँ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ ।

बुधवार विभागको टिमले विमानस्थलमा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरुले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु राखेर सेवा दिँदै आएको बताउनु भयो । उहाँले विदेशी नागरिकका लागि ४ वटा काउण्टर र १० वटा काउण्टर नेपाली नागरिकका लागि राखेर सेवा प्रदान गर्दै आएको बताउनु भयो । उहाँले अहिले करिव एक दिनमा ९ देखि १० हजार यात्रुहरु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा छौँ । यहाँ सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु रहेका छन् । यसमा नियमित रुपमा रुपमा सेवा प्रवाह हुन्छ । तीन वटा सिफ्टमा काम हुन्छ । यहाँ विदेशी नागरिकका लागि ४ वटा काउण्टरहरु छन् । त्यस्तै १० वटा काउण्टर नेपाली नागरिकका लागि छन् । सोहीअनुरुप सेवा लिनुहुन्छ । अहिले करिव एक दिनमा ९ देखि १० हजार यात्रुहरु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको देखिन्छ । पर्यटक सिजनमा अझै बढ्छ । बिहान र बेलुका यात्रुहरुको चाप अलि बढी हुन्छ । हामीले यहाँ औषतमा हेर्दा कम्तीमा तीन सयको हाराहारीमा एक जना कर्मचारीले ३ सयको हाराहारीमा काम गरेको र एक वर्षमा ६४ हजार यात्रुलाई प्रस्थानको अनुमति दिएको देखिन्छ ।’

उहाँले अहिले एउटा कर्मचारीले तीनदेखि ४ सयको हाराहारीमा यात्रुहरुलाई पठाउने काम गरेको बताउनु भयो ।