• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

चुँदारा समुदायको पेसा सङ्कटमा



गुल्मी ।  गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।

आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका नरबहादुर कार्कीले बताउनुभयो । आयातित प्लास्टिकका सामग्रीले काठका भाँडालाई विस्थापित गरिदिँदा पेसा नै सङ्कटमा परेको उहाँको भनाइ थियो ।

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको हो ।

“ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरीलगायत भाँडाहरु दूध, दही र मही राख्नका लागि प्रयोग गरिन्छ”, कार्कीले भन्नुभयो, “काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानको लागि निकै स्वादिलो र राम्रो मानिन्छ ।” आधुनिकताले गाईभैँसी पाल्ने, दही, मही बनाउनेको कमी हुँदै जाँदा काठका प्रयोगको पनि कमी आएको उहाँको भनाइ थियो ।

पछिल्लो समय गाउँघरमा काठबाट निर्मित सामग्रीहरु बिस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का रेशम चालिसेले बताउनुभयो । नयाँ पुस्ता बिस्तारै गाउँ छोडेर सहर तथा विदेश पलायन हुने र पुराना पुस्तामा सीप भए पनि बजारीकरण गर्न नसक्दा समस्या भएको उहाँको भनाइ थियो ।

“परम्परागत पेसा र पुराना सामग्रीको प्रयोग तथा कला, संस्कृतिको संरक्षण गर्न स्थानीय पालिका र पेसाकर्मीहरुले खासै चासो दिन सकेका छैनन्”, चालिसेले भन्नुभयो, “सीप जानेकाले हस्तान्तरण गर्न नसक्नु, बजारीकरणको कमीलगायत कारणले काठका भाँडा र भाँडा बनाउने पेसा नै लोप हुँदै जान थालेका हुन् ।”

बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडाहरु झट्ट देख्दा आकर्षक हुने र मूल्य पनि काठका भाँडाको तुलनामा कम पर्ने भएकाले यस्तो समस्या आएको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो । परम्परागत सामग्री, कला तथा संस्कृतिसँग जोडिएको काठका भाँडा बनाउने पेसाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि पालिकाले चुँदारा समुदायलाई सहयोग गर्ने नीति बनाएको उहाँले जानकारी दिनुभयो ।

“परम्परागत शैलीबाट निर्माण हुने काठका सामाग्री बनाउन बढी समय लाग्ने र खर्च पनि बढी हुन्छ । बजारमा यस्ता सामग्रीको खपत निकै कम हुन थालेको छ”, परम्परागत रुपमा यो पेसा गर्दै आउनुभएका यमन सुनारले भन्नुभयो । बिक्री कम हुने भएकाले यो व्यवसायबाट जीविकोपार्जनमा समस्या हुन थालेको उहाँले बताउनुभयो ।

“गाउँघरमा पाइने काठबाट निर्माण गरिएका सामाग्री बिक्रीका लागि लैजाँदा कहिलेकाहीँ त बिक्री नै नभएर त्यत्तिकै फिर्ता ल्यानुपर्ने बाध्यता छ”, सुनारले दुखेसो पोख्नुभयो । काठबाट निर्मित भाँडाको महत्वका बारेमा जानकारी नभएकाले पनि पछिल्लो समयमा चुँदारा समुदायको पेसा सङ्कटमा परेको उहाँले बताउनुभयो ।

सुनारका अनुसार गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा प्रतिमाना रु सात सयदेखि रु एक हजारसम्ममा बिक्री हुँदै आएको छ । जिल्लामा आयोजना गरिने मेला महोत्सवसँगै ग्रामीण क्षेत्रका बजार र सदरमुकामका केही सहकारी पसल र कोशेली घरहरुमा यस्ता प्रकारका सामग्रीहरु बिक्रीका लागि राखिने गरिएको उहाँले जानकारी दिनुभयो । रासस