११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै हाटबजार

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै हाटबजार
अ अ+ अ-

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहनुभएको छ । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ ।

यहाँ उत्पादन भएको सागको बजार माग बढी हुँदा कृषकलाई मागअनुसार पुर्‍याउन कठिनाइ भएको उहाँले बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाटबजार सञ्चालनमा ल्याएपछि यस क्षेत्रका कृषकलाई कृषि उपजहरु बजारीकरणका लागि सजिलो भएको गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षको फागुनदेखि हाटबजार सञ्चालनमा आएपछि कृषि उपज सामग्री बजारीकरणको माध्यम हाटबजार बनेको छ । हाटबजारबाटै कृषि उपज सामग्री बिक्री गर्न पाउँदा उपभोक्तालाई पनि सजिलो भएको छ ।” छिम्केश्वरीमा उत्पादित सामग्रीको माग उच्च हुन थालेपछि यहाँका कृषक हर्षित भएको उहाँको भनाइ छ ।

मह उत्पादक कृषक शेरबहादुर गुरुङले उत्पादित महले बजार नपाउने हो कि भन्ने समस्याको अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मह कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन, हाटबजारबाटै छोपाछोप हुन्छ । कृषकका लागि हाटबजार कृषि सामग्री बेच्ने माध्यम बनेको छ ।”

स्थानीय कृषक सङ्गीता गुरुङ, तिलबहादुर गुरुङ, आयमान गुरुङ र डिलकुमारी भुजेलले उत्पादित कृषि सामग्री बिक्री नभए गाउँपालिकाले खरिद गरिदिने निर्णय गरेपछि आफूहरु झन् उत्साहित भएको बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि सञ्चालन गरेको हाटबजार कृषकको सहयोगी बनेको त छ नै उपभोक्तालाई पनि एकैठाउँमा फरक फरक कृषि सामग्री खरिद गर्न सजिलो भएको छ ।

गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उहाँले बताउनुभयो ।

किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा छिम्केश्वरीका सामग्रीको माग उच्च भएको पाएका छौँ । किसानले ल्याएको सामग्री बिक्री नभए हामी खरिद गरिदिन्छौँ ।” यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ ।

हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका सामग्री बिक्रीका लागि राखिन्छ । स्थानीयस्तरमा उत्पादित कृषि सामग्री सहज रुपमा बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यसहित हाटबजार सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

हाटबजारमा छिम्केश्वरीमा उत्पादित उपजहरु यहाँका सर्वसाधारणको रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित साग, मह, गुन्द्रुक, दाललगायत सर्वसाधारणको रोजाइमा परेको हो ।

छिम्केश्वरीका कृषकले हाटबजारबाट एकै दिन रु एक लाख ७८ हजार छ सयको कृषि सामग्री बिक्री वितरण गरेका छन् । सो वडाका अध्यक्ष सन्तोष गुरुङका अनुसार साग, मह, गुन्द्रुक, केराउ, सिमी, दाल, फर्सी, सखरखण्डाको माग उच्च रहेको छ । उहाँले भन्नुभयो, “यहाँ उत्पादित साग र गुन्द्रुकको माग बढी छ । मागअनुसार पुर्‍याउनै सकिएको छैन । यहाँको हावापानीका कारण साग र गुन्द्रुक सर्वसाधारणको रोजाइमा परेको हो ।” रासस