१८ श्रावण २०८३, सोमबार
,
Latest
भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार साउनको तेस्रो सोमबारः पशुपतिनाथमा दर्शनार्थीको घुइँचो प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण ‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् छ: पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन



फाईल फोटो
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् ।

विद्युत् शक्ति (भोल्टेज) कम हुँदा एक दशकदेखि विद्युत् सेवा भने सहजरूपमा पाउन सकेका छैनन् । एक बल्वबाहेक अन्य विद्युतीय उपकरण नचल्ने गरेको वीरबहादुर चन्दले गुनासो गर्नुभयो । “ पङ्खा चल्दैन, खेतमा सिँचाइ गर्ने विद्युतीय मोटर चल्दैन, टिभी राखेका छौँ, कम भोल्टेजकै कारण हेर्न पाएका छैनौँ”, उहाँले भन्नुभयो, “यस समस्याबारे पटक–पटक वडादेखि विद्युत् कार्यालयसम्म पुगे पनि सुनवाइ हुनसकेको छैन ।” दुई वर्षअघि वडामा गाउँका सबै जनाको संयुक्त हस्ताक्षर गरी निवेदन दिए पनि बेवास्ता गरिएको उहाँले बताउनुभयो ।

“पोलमा विद्युत्का दुईवटामात्रै तार तानिएका छन्”, स्थानीय हेमराज जोशीले भन्नुभयो, “विद्युत्को भोल्टेज नपुग्दा ‘डिमलाइट’ हुने गरेको छ, एक दशकदेखि समस्या भए पनि निराकरण हुनसकेको छैन ।” तार तानेर तीन वा चार फेसको विद्युत् लाइन बनाइनुपर्ने उहाँको माग छ ।

विद्युतीय मोटर चलाउनका लागि भोल्टेज नपुग्दा सबै जनाले विकल्पका रूपमा डिजेल इन्जिन राखेर खेतमा सिँचाइ गर्दै आएका छन् । “विद्युत् सेवा सहज भए विद्युतीय मोटरबाट पानी तान्न सस्तो पर्ने थियो”, स्थानीय मानसिंह जाग्रीले भन्नुभयो, “महँगो डिजेल इन्जिन खरिद गरी सिँचाइको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।”

वडाध्यक्ष कमल ठकुल्लाले ट्रान्फर्मरले भार धान्न नसक्दा नयाँ ट्रान्सफर्मर जडानका लागि पहल भइरहेको बताउनुभयो । “प्राविधिकले ट्रान्सफर्मर जडान गर्ने ठाउँ हेरेर गएका छन्”, उहाँले भन्नुभयो, “एक–दुई महिनाभित्रै ट्रान्सफर्मर जडान गर्ने कार्यसँगै थ्री फेज विद्युतीय लाइन जडानको कार्य हुन्छ ।”

सिकलपट्टिका बासिन्दाको विद्युत्को समस्या समाधान गर्नका लागि पटक–पटक विद्युत् कार्यालयसम्म पुगेको उल्लेख गर्नुहुँदै उहाँले पटक पटक पचात्रार गरिएको बताउनुभयो । धेरै पहलपछि सङ्घीय सरकारका तर्फबाट ‘ट्रान्सफर्मर’ उपलब्ध हुन लागेको उहाँको भनाइ छ । रासस