• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

कस्तालाई निर्वाचित गर्ने राष्ट्रियसभामा ?



काठमाडौं ।  राष्ट्रियसभा निर्वाचनको मिति नजिकिँर्दै छ । यसैकारण पछिल्ला केही दिन यता राष्ट्रयसभामा सांसद बन्नेको चर्चा पनि बढेको छ । अर्कातर्फ केही राजनीतिक दलका नेताले अहिले आफू रहेका पदबाट राजीनामा दिएका पनि छन् । यसबाट पनि उनीहरु सोही पदमा आउन लागेका हुन् कि भन्ने पनि चर्चा छँदैछ ।

यता कांग्रेसबाट उनै पाका पुरानाको चर्चा सुनिएको छ । जस्तो कि कृष्ण सिटौला, गोपालमान श्रेष्ठ  आदि । यस्तै प्रवृत्ति र पात्र अरु पार्टीमा पनि चर्चामा छन् यद्यपि उनीहरु उम्मेदबार बन्ने नबन्ने भने पक्का भएको छैन ।

अहिले यहाँ उठाउन खोजिएको प्रसंग चाहिँ मुलुकको संघीय संसदको माथिल्लो सभा राष्ट्रियसभामा हुने उम्मेदबारको हो । कस्तालाई सो सभामा उम्मेदबार बनाउने त ? यो चर्चा विगतमा पनि चल्ने नै गरेको हो तर नियुक्त भने दलका नेताहरुले आफ्नै नेतालाई मात्र गर्ने गरेका छन् ।

वास्तवमा जुन देशमा दुई सदनात्मक व्यवस्थापिका हुन्छ र तल्लो सदन अर्थात् प्रतिनिधिसभा प्रमुख कार्यकारी प्रकृतिको हुन्छ त्यस देशको माथिल्लो सभालाई विद्धत् सभा र मुलुकको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका र मुलुकलाई विभिन्न क्षेत्र र बर्गबाट विशिष्ट रुपमा योगदान पर्याएका व्यक्तिहरुलाई मनोनित गर्ने गरिन्छ ।

यसो गर्दा देशको सबै क्षेत्रको प्रतिनिधित्व यो संसदमा हुन्छ । जसले गर्दा ती क्षेत्र, बर्ग, भूगोल एवं विषयका कानून निर्माणका लागि सहयोग पुग्दछ भनिन्छ । यसरी गरिएको प्रतिनिधित्वले देशको विकास सन्तुलित रुपमा हुने र मुलुकको सर्वाङ्गीण विकासमा टेवा पुग्ने गर्दछ ।

यस्तै हिसाबले नियुक्त हुने गर्दछन् बेलायतको माथिल्लो सभा हाउस अफ लर्ड होस् या अन्य देशका राष्ट्रयसभा या माथिल्लो सदनहरु हुन् । ती सभामा देशका शिक्षा, स्वास्थ्य, कला, संगीत, खेलकूद, विज्ञान प्रविधि, पत्रकारिता, अर्थशास्त्र तथा अर्थतन्त्र या यस्तै क्षेत्रमा ख्याति कमाएका वरिष्ट व्यक्तिहरुलाई मनोनित गर्ने गरिन्छ ।

तर नेपालमा भने यहाँका नेताहरुले आफ्नै पार्टीका नेतालाई सांसद बनाउने गरेका छन् । उनीहरुले प्रतिनिधि सभा होस् या राष्ट्रयसभा पार्टीकै नेताहरुको भर्ती केन्द्र बनाउने गरेका छन् । र यसपालि पनि पार्टीको पारा त्यस्तै देखिएको छ ।

यदि विश्वव्यापी मान्यता बमोजिम नेपालको पनि राष्ट्रयसभालाई त्यस्तै विद्धत एवं विशेषज्ञ व्यक्तित्वहरुको सेवा बनाउने हो भने समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका र मुलुकको नाम चिनाएकाहरुलाई राख्नुपर्ने हो ।

जस्तो कि चिकित्सकहरु डा भगवान कोईराला डा.भोला रिजाल, डा मदन पिया , खेलकुदका बैकुण्ठ मानन्धर, हरिबहादुर रोकाय, कलाक्षेत्रका शम्भुजित बाँस्कोटा,निर शाह ,बसुन्धरा भुसाल, शिक्षाबिद् केदारभक्त माथेमा, डा शुरेसराज शर्मा ,धनञ्जय शर्मा अधिकारी , सस्कृतिक क्षेत्रमा डा जगमान गुरुङ , डा दिनेशराज पन्त या यस्तै अरु क्षेत्रका सफल व्यक्तिहरुको बिज्ञता लिने कि अलोकप्रिय बन्दै गएका दलहरुलाई झनै अलोकप्रिय बनाउने गरी पटक पटक अबसर पाएकालाई लैजाने ?