
काठमाडौं । काठमाडौंमा आज विभिन्न समूहले प्रदर्शन गर्दै छन् । राप्रपा, सामुदायिक विद्यालयका शिक्षक र सहकारीपीडितले गर्ने प्रदर्शनले ट्राफिक अबरुद्ध हुने देखिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गर्दैछ । राप्रपाको विभिन्न स्थानबाट निकालिएको र्याली बल्खुमा पुगेर विरोध सभामा परिणत हुने छ ।
काठमाडौंको माइतीघरदेखि बबरमहल सडकमा शिक्षक आन्दोलन विगत केही दिनदेखि जारी रहेको छ ।
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गर्दै आएका छन् ।
यसरी छुट्टाछुट्टै प्रदर्शनका कारण काठमाडौं उपत्यकाको आवागमन प्रभावित हुने देखिएको छ ।
यसैबीच सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरीले हिजो एक सूचना जारी गर्र्दै सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको हो ।
यी हुन् डाइभर्सन गरिने स्थानहरू
खसिबजार – मकालु – कलङ्की चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू :
टियू गेटदेखि चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुक्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला – बाफल सडक खण्डमा एक लाइन
नेपाल शिक्षक महासंघले माइतीघर मण्डलादेखि बानेश्वर–माइतीघर सडक खण्डको बीचमा र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा आवश्यकता अनुसार डाइभर्सन मिलाएको प्रहरीको भनाइ छ ।
आन्दोलन स्थलको सडक प्रयोग गर्दा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।