• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   सदनका बैठक निर्वाध सञ्चालनका लागि सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल ★   सुकेधारामा पुरुषको शव फेला ★   छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको नि:शुल्क उपचार ★   गृहमन्त्रीले आजकै बैठकमा बोल्न पाउनुपर्ने रास्वपाको अडान ★   जलदेवता मानिने आँधीमूलका माछा मरे ★   इतिहासकार ज्ञानमणि नेपालको निधन ★   वर्षाको कारण रद्द भएको खेलको टिकटको पैसा फिर्ता गर्दै गुजरात ★   चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने ★   आईपीएल प्लेअफअघि नै इंग्ल्याण्ड फर्किए राजस्थानका बटलरसहित अन्य टिमका स्टार खेलाडी ★   जिबी राईको पासपोर्ट रोक्न राहदानी विभागमा प्रहरीको पत्राचार

बराह क्षेत्रको कात्तिक मेलामा झण्डै चार लाख तीर्थालु सहभागी



बराहक्षेत्र : पछिल्लो समय सुनसरीको बराह क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै बराह क्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराह क्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिउँद लागेसँगै विशेषगरी कात्तिक मेला र माघी मेलामा बढी तीर्थालु भक्तजन बराह क्षेत्र आउने गरेका छन् ।”

बराह क्षेत्र मन्दिरमा पूजाआजा एवं कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटक यहाँ आउने गर्दछन् । उहाँले भन्नुभयो, “यसपटकको कात्तिक मेलामा झण्डै चार लाख पर्यटक बराह क्षेत्र आएका छन् । ”

बराह क्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म कात्तिक मेला लाग्ने गर्दछ । मेलामा नेपाल विभिन्न जिल्ला सहित भारतको बिहारबाट तीर्थालु भित्रिने गरेको बराह क्षेत्र नगरपालिका वडा नं १ का वडाध्यक्ष किसन थापाले बताउनुभयो ।

चार क्षेत्रमध्येको एक क्षेत्र मानिएको बराह क्षेत्रमा हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल रहेको बराह क्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “किंवदन्तीअनुसार पृथ्वी आकाशगङ्गामा हराएको बखत सम्पूर्ण प्राणीजगत्को उद्धार गरेर यस ठाउँमा बराह भगवानको अवतार भएको मानिन्छ । यही विश्वासले महिमागान गर्दै बराह क्षेत्रको दर्शन गर्न तीर्थालु आउने गर्दछन् ।”

बराह क्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने विश्वास छ । साथै बराह क्षेत्र मन्दिरमा भाकल गर्ने, पूजा गर्ने, कोकाकौशिका नदीमा स्नान गर्नाले पाप नष्ट भइ आनन्द प्राप्त हुने जनविश्वास छ । रासस