• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी



चितवन । पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र  पुरुष ४५ प्रतिशत छन् ।
 
गत आर्थिक वर्षमा अस्पतालमा ९० हजार ५७१ ले सेवा लिएकामा चार हजार ६०८ नयाँ क्यान्सरका बिरामी थिए । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार नयाँ क्यान्सका बिरामीमध्ये दुई हजार ५१७ महिला र दुई हजार ९१ पुरुष रहेका छन् । पच्चिस हजार हाराहारी पुराना क्यान्सरका बिरामी रहेको उहाँको भनाइ थियो ।

अघिल्ला वर्षको तुलनामा कोभिडका कारण गत वर्ष बिरामीको सङ्ख्या कम देखिएको र त्यस अवधिमा महिलाको सङ्ख्या बढ्दै गएको कार्यकारी निर्देशक गौतमले बताउनुभयो ।  अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा बढी १२ प्रतिशत फोक्सोको क्यान्सरका थिए । दोस्रो धेरै पाठेघरको मुखको क्यान्सर १० दशमलव १७ प्रतिशत, स्तनको क्यान्सर १० दशमलव ११ प्रतिशत, मुखभित्रको क्यान्सर नौ दशमलव पाँच प्रतिशत रहेका थिए । यस्तै महिलाको पाठेघर, पित्तथैली, आमाशय, थाईराइड र कलेजोमा ल्युकेमिया, कोलनजस्ता क्यान्सर हुने गर्दछ । पुरुषको आमाशय, पिसाबथैली, ल्यारेक्स, कलेजो, ल्युकेमिया र जिब्रोमा रेक्टम, कोलनजस्ता क्यान्सर बढी हुने गरेका छन् ।
 
क्यान्सर हुनाको यकिन कारण भन्न नसकिए  पनि स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएका कारण महिलाको सङ्ख्या बढ्दै गएको हुनसक्ने अनुमान उहाँको थियोे । पुरुष प्राय उपचारका लागि विदेश जाने तर धेरैजसो महिलाको यही उपचार हुने भएकाले पनि महिलाको तथ्याङ्क बढेको हुनसक्ने पनि अनुमान गरिएको छ । निर्देशक गौतमको भनाइमा नेपालमा २५ हजार हाराहारी नयाँ बिरामी थपिन्छन् । तीमध्ये आधाभन्दा बढी उपचारका लागि विदेश जाने गर्दछन् ।

अस्पतालका महिला क्यान्सर रोग विशेषज्ञ डा विजय आचार्यले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर धेरैजसोलाई हुने भएकाले महिलाको सङ्ख्या बढ्नामा एउटा कारण हुनसक्ने बताउनुभयो । पुरुष विदेश गएर उपचार गराउने र प्राय महिलाको नेपालमै उपचार हुने भएर सङ्ख्या बढेको हुनसक्ने उहाँको पनि आँकलन थियो । यहाँको क्यान्सर अस्पतालमा गत वर्ष थोरै सङ्ख्यामा उपचार भएकाले यही तथ्याङ्कको आधार नै सही हो भन्न सक्ने अवस्था नरहने उहाँको भनाइ थियो । पहिले पहिले दुई तीन प्रतिशत पुरुष बढी क्यान्सर रोगी हुने गरेको अस्पतालका पूर्वकार्यकारी निर्देशकसमेत रहनुभएका आचार्यको भनाइ थियो ।

सोही अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा अनिलविक्रम कार्कीले महिलामा जनचेतना बढेका कारण परीक्षण गराउन आउने सङ्ख्या बढेको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पाठेघरको मुख र स्तनजस्ता क्यान्सर घटाउन स्थानीयस्तरमा जनचेतनाका कार्यक्रम गर्नुप¥यो ।” स्क्रिनिङ कार्यक्रम गरेर परीक्षण गर्ने र व्यापक जनचेतना जगाउन सकेमा क्यान्सर रोकथाम गर्न सहज हुने उहाँको भनाइ थियो  ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले खानपान र आनीबानीबाट आधाभन्दा बढी क्यान्सर रोग घटाउन सकिनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “समयमै उपचार गरे धेरैजसो क्यान्सर निको हुन्छ ।” सुर्तीजन्य पदार्थ, मदिरा र लागुपदार्थले क्यान्सर बढाउने गर्दछ । बासी, सडेगलेका र ढुसी परेका खानेकुरा, पोलेर वा डढेको मासुलगायत खानेकुरा  र अखाद्य रङ प्रयोग गरेका खानेकुरा खाएमा क्यान्सर हुनसक्ने सम्बद्ध चिकित्सकले बताए  ।
धुलो, धुँवा र वातावरणीय प्रदूषणबाट जोगिन, नियमित शारीरिक व्यायाम गर्न, मौसमअनुसारका सागपात, तरकारी र फलफूलको नियमित सेवन गर्न पनि उनीहरुले सुझाए । रासस