२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

योगप्रति आकर्षण बढ्दो

योगप्रति आकर्षण बढ्दो
अ अ+ अ-

म्याग्दी । म्याग्दीका सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यासमा आकर्षण बढेको हो । जिल्ला सदरमुकाम बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिकरूपमा योग अभ्यास गर्छन् । व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि नियमित योग गर्ने गरेको बेनीको कालीपुलका व्यापारी तप्तबहादुर भण्डारीले बताउनुभयो ।

“दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, उहाँले भन्नुभयो, “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” उहाँले विगत पाँच वर्षदेखि नियमित योगाभ्यास गर्दै आउनुभएको छ । बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटकी रेणु शाक्यले अपच हुने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाउनुभयो ।

“योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उहाँले भन्नुभयो “रक्तचाप व्यवस्थापन र रुघा लागिरहने समस्या निको भयो ।” जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नवीन आनन्द योग केन्द्रलगायत निकाय र सङ्घ संस्थाले म्याग्दीमा योग प्रशिक्षण सञ्चालन गरेका छन् । बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँटलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागि भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक टीकाबहादुर जुग्जालीले बताउनुभयो ।

“गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ”, उहाँले भन्नुभयो, “आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।” 
योगले मानिसको शरीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव भएको हो । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो । 

“बेनी नगरपालिका–८ हिलसाइडमा योग साधना भवन निर्माणका लागि तीन वर्षअघि छ आना जग्गा व्यवस्थापन गरेका थियौँ”, उहाँले भन्नुभयो, “बजेट र आर्थिक स्रोतको अभावमा भवन निर्माण गर्न सकेका छैनौँ ।” बेनीको क्याम्पसचोकका नारायण श्रेष्ठ र अम्बिका श्रेष्ठले तीन आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । तीन आना जग्गा खरिद गरिएको थियो । 

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले योगको प्रवद्र्धनका लागि भवन निर्माणका लागि प्रदेश सरकारसँग पहल गरेको बताउनुभयो । जिल्ला समन्वय समितिको सभाहलको छतमा ट्रस राखेर योग साधनास्थल बनाउन छलफल चलाएको उहाँले बताउनुभयो ।