२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मलाई पनि उडाइलैजा हिमचुलीका डाँफ्या…

मलाई पनि उडाइलैजा हिमचुलीका डाँफ्या…
अ अ+ अ-

 ‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या
मलाई पनि उडाइ लैजा हिमचुलीका डाँफ्या’

सुदूरपश्चिम प्रदेशमा निकै चर्चामा रहेको यो गीत चर्चित देउडा गायक नन्दकृष्ण जोशीले अछाममा रहेको वैद्यनाथ धाम पुगेपछि गाउनु भएको हो । डोटी राम्रो हुनुमा डडेल्धुराको योगदान छ भने अछाम राम्रो हुनुमा अछामको साँफे बगरस्थित वैद्यनाथ धामको ठूलो महत्व रहेको सन्देश यो गीतले दिन खोजेको छ । यो गीतको सारजस्तै सुदूरपश्चिम क्षेत्रमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुमध्येकै महत्वपूर्ण धाम वैद्यनाथ हो ।

यहाँका महत्वपूर्ण र अति रमणीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलमध्येमा अछामको वैद्यनाथ गणना हुन्छ । उक्त मन्दिर ९धाम० साँच्चिकै रमणीयस्थलका रुपमा गणना हुने यहाँका स्थानीय मात्र होइन यहाँ आइपुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको धारणा छ । चारैतिर अग्ला डाँडाले घेरिएको समथर ठाउँ छ बीचमा । परभली नदी र बूढीगङ्गा नदीको किनारमा रहेको उक्त धामको पर्यटकीयभन्दा अझ बढी त धार्मिक एवं सांस्कृतिक महत्व रहेको पाइन्छ । धामको वरिपरि सौर्य बत्ती लगाइएका छन् भने प्राङ्गणका बीच भागमा मञ्च निर्माण गरिएको छ । भित्र चार ढोका भएको वैद्यनाथ धाम मन्दिर, वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवल रहेका छन् ।

मन्दिर परिसरमै यज्ञशाला छ, प्रतीक्षालय, बैठक कक्ष पनि मन्दिर परिसरमै बनाइएका छन् । हिन्दू वैदिक सनातन धर्ममा अति महत्व राख्ने नेपालमा रहेका चार धाममध्ये वैद्यनाथ पनि एक हो । नेपालको सुनसरीको बराह क्षेत्र, काठमाडौँको पाशुपत क्षेत्र, मुस्ताङको मुक्तिनाथ क्षेत्र र अछामको वैद्यनाथ क्षेत्र नेपालका चार धाममध्येको एक प्रसिद्ध धाममा पर्दछन् । वैद्यनाथ क्षेत्रलाई रावणले तपस्या गरी वरदान प्राप्त गरेको क्षेत्रका रुपमा पनि हिन्दू मान्यतामा लिने गरिन्छ । शिवजीको दर्शन पाउनका लागि रावणले कैलाश पर्वतमा तपस्या गरेका थिए तर त्यहाँ उनले शिवजीबाट बर प्राप्त गर्न सकेनन् । त्यसपछि भारतको झारखण्डमा तपस्या गरेको पाइन्छ । रावणले त्यहाँ पनि आफ्नो तपस्याबाट भगवान् शिवजीबाट वर प्राप्त गर्ने अवस्था नदेखेपछि रावणले अछामको वैद्यनाथ क्षेत्रमा हवन गर्न शुरु गरेको नेपालका विभिन्न हिन्दू धर्म ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।

धार्मिक ग्रन्थहरुका अनुसार रावण धेरै जिद्दी स्वभावका थिए, उनले जे कुरा चाहन्थे त्यो प्राप्त गर्नका लागि जस्तोसुकै बलिदानी दिन पनि तयार हुन्थे रे । वैद्यनाथ धाम मन्दिरका पुजारी देवराज उपाध्याय भन्छन्, “पुराणअनुसार दश टाउका भएका रावणले आफ्नो लक्ष्य प्राप्त गर्न आफ्नै टाउको काट्दै हवन गर्दै गए । यसरी उनले नौ टाउका काटेर होमकुण्डमा हालिसक्दासमेत शिवको दर्शन नपाएपछि पूरै शरीर हवन गर्ने सोचेर दशौँ टाउको काट्न लाग्दा शिवजीले वैद्यका रुपमा दर्शन दिएका थिए । वैद्य भएर भगवान् शिवले रावणका सबै टाउकाहरु फेरि जोडेका कारण यस क्षेत्रको नाम वैद्यनाथ धाम राखिएको हो ।”

यसरी भगवान् शिवको दर्शन पाएपछि रावणले शिवजीसँग वाचा गराई शिवलिङ्ग लङ्का लैजान पाऊँ भनी मागेका थिए रे । वाचाअनुसार शिवले आफ्नो लिङ्ग दिए । सो कुरा पार्वतीले थाहा पाएपछि उनले अदृश्य शक्तिको प्रयोग गरी शिवलिङ्गलाई उठाउनै नसक्ने गरी निकै गह्रौँ नाइदिनुभएको थियो भन्ने विश्वास गरिन्छ । त्यसकारण रावणले लैजान नसकेपछि यो शिवलिङ्ग यसै वैद्यनाथ क्षेत्रमा रहेको पुराणहरुमा उल्लेख गरेको पुजारी उपाध्यायले बताए । १२ वटा ज्योतिर्लिङ्गमध्ये एक नेपालमा रहेको छ, जुन वैद्यनाथ धाममा अवस्थित छ । “हुन त भारतले झारखण्डमा रहेको वैद्यनाथ धामलाई असली वैद्यनाथ धाम भनेर प्रचार गर्दैछ, तर पुराणहरुमा गरिएको व्याख्याअनुसार सबै कुरा अछामकै वैद्यनाथ धामको मेल खान्छ”, वैद्यनाथ विद्याश्रमका प्रधानाध्यापकसमेत रहेका उपाध्यायले थप भने, “वैद्यनाथ धाम क्षेत्रमा वृद्धनदी (बूढीगङ्गा), पद्मा नदी (पाइली गाड), गोदावरी नदी (परभली नदी) र सरस्वती नदी (परभलीगाड) यस क्षेत्रमा मात्रै छन्, जुन पुराणमा व्याख्या गरिएका छन् ।”

यस्तै, खेचरादी पर्वत (खप्तड) को फेदमा रहेको भन्ने उल्लेख भएको तर भारतमा खेचरादी पर्वत नभएको उपाध्यायको दाबी छ । मन्दिर संरक्षण र व्यवस्थापनका लागि विसं २०४४ सालमा वैद्यनाथ क्षेत्र विकास संस्था स्थापना भएको छ । संस्थाले मन्दिरको संरक्षण र विकास गर्दै आइरहेको अध्यक्ष नेत्र कुँवरले बताए । उनले भने, “नदी कटान प्रमुख समस्या छ, यसका लागि तटबन्दन आवश्यक छ, हामीले पहल गरिरहेका छौँ ।”

साँफे हाट बजारबाट करीब तीन किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा महाशिवरात्रिका दिन धुमधामसँग मेला लाग्ने गर्दछ । उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, विहारलगायत क्षेत्रबाट भक्तजन आउने गरेको संस्थाका अध्यक्ष कुँवरले बताए । उक्त मेलामा सशस्त्र प्रहरी बलले सलामी दिने प्रचलन रहेको छ ।

यस्तै माघे सङ्क्रान्तिका दिन पनि उक्त धाममा भव्य मेला लाग्ने गरेको छ । राष्ट्र शान्तिका लागि बटुकहरुले प्रत्येक बिहान दुई घण्टा रुद्राभिषेक गर्ने गरेको पुजारी उपाध्यायले जानकारी दिए ।

मन्दिरभित्रै विद्याश्रम
वैदिक सनातन जोगाउनका लागि विसं २०५५ मा मन्दिर परिषरभित्रै वेद विद्याश्रमको स्थापना गरिएको छ । कक्षा ६, ७ र ८ को पढाइ हुने उक्त विद्याश्रममा हाल ४३ विद्यार्थी रहेका छन् । विद्याश्रममा एक दरबन्दी र दुई राहत गरी तीन जना सरकारी शिक्षक रहेका छन् । यस्तै नेपाल महर्षि फाउण्डेशनले एक कर्मचारी र सशस्त्र प्रहरी बलले एकजना कर्मचारी विद्याश्रमलाई सहयोग गरेको छ । “यस विद्याश्रममा ४३ जना बटुक र हामी तीन जना बस्छौँ र यतै खाना खान्छौँ”, शिक्षक केशवराज भट्टले भने, “बटुकहरुको खानाका लागि मुख्य स्रोत ‘पीरपाथी’ नै हो । पहिले ‘पीर’ ९पुजारी० हरुको भरणपोषणका लागि प्रत्येक बालीमा प्रत्येक घरबाट एक पाथी अन्न छुट्याउनुपर्ने व्यवस्था थियो । पीरका लागि नछुट्याएसम्म किसानले नयाँ बाली खानु हुँदैन भन्ने मान्यता रहेको थियो ।

सोहीअनुसार अहिले पनि स्थानीय पायल, लुङ्ग्रा र पर्वा गाउँहरुबाट पीरपाथी सङ्कलन हुन्छ । यसरी सङ्कलन भएको धान नै बटुकहरुको भोजनको मुख्य स्रोत भएको उपाध्यायले बताए । त्यस्तै, महर्षि फाउन्डेशनले नित्य पूजाका लागि वार्षिक रु छ लाख दिने गरेको र उक्त रकम पनि बटुकहरुको खाना, लुगामा खर्च गर्ने गरेको वैदनाथ धाम संस्थाले जनाएको छ । बटुकहरुको भोजनका लागि साफे नगरपालिका तथा वडा कार्यालयहरुले पनि सहयोग गर्ने गरेका छन् ।

वैद्यनाथ धाममा सङ्ग्रहालय
मन्दिर परिसरभित्रै वैद्यनाथ सङ्ग्रहालय पनि स्थापना गरिएको छ । विसं १८४८ मा जर्नेल अमरसिंह थापाको टोलीले आछाम विजय गरेका बेला प्रयोग गरेका हातहतियार उक्त सङ्ग्रहालयमा राखिएको छ । अछाम विजयपछि डोटीका लागि हिँडेको थापाको टोली हालको पूर्वीचौकी गाउँपालिका–५, काँडा पुगेपछि एकाएक आँखा नदेख्ने भएछ । फर्केर अछामतिर हेर्दा आँखा देख्ने तर डोटीतिर जान खोज्दा नदेख्ने भएपछि राति काँडामै बास बसेर द्वीप प्रज्ज्वलन गरी भगवतीको आराधना गरेर सुतेछन् । राति टोलीका एक सदस्यलाई भगवतीले सपनामा टोलीसँग भएका सम्पूर्ण हातहतियार वैद्यनाथ मन्दिरमा चढाएर जानु भनेपछि सोही अनुसार ३१ नाल बन्दुक र खुकुरीलगायत हतियारहरु वैद्यनाथलाई चढाएको साँफेवगर नगरपालिका–१ का वडाध्यक्ष अमरबहादुर शाहले बताए ।

उहाँले भने, “पुरातत्व विभागले पनि यो हतियार त्यतिबेलैको भएको पुष्टि गरेको छ, जो हामीले सुरक्षित राखेका छौँ ।” सङ्ग्रहालयमा पीर (पुजारी)ले लाउने लुगा, पूजा गर्ने भाँडाहरु, गहना, शालिग्राम राखिएको छ । यसका साथसाथै अछामका महत्पूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलका तस्बिरहरु पनि उक्त सङ्ग्रहालयमा राखिएको छ ।

नौमुठे गाई पनि मन्दिरभित्रै
अछाम जिल्ला नौमुठे गाईले प्रसिद्ध जिल्ला हो । अगाडिको खुट्टाको खुरबाट मुट्ठीले नाप्दै जाँदा जुरोसम्म नौ मुट्ठी उचाइमात्रै हुने भएकाले यस जातको गाईलाई नौमुठे गाई नामकरण गरिएको साँफे नगरपलिकाका स्थानीयवासी गोकुल शाहले बताए । उनले भने, “नौ मुठे गाई हेर्दा सुन्दर र दूध पनि बढी दिने भएकाले यसको संरक्षणका लागि वैद्यनाथ धाममा राखिएको छ ।” मन्दिर दर्शन गर्न आउने भक्तजनले नौमुठे गाईका बारेमा पनि जानकारी पाउन भन्ने उद्देश्यका साथ मन्दिरभित्रै नौमुठे गाई पाल्न शुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।बिमलबहादुर विष्ट/रासस