• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

ताइवान रेल दुर्घटनाबाट देशभर शोक, एक दशकयताकै भयानक दुर्घटना



एजेन्सी । ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । 
मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
 
खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन् । अधिकारीहरुले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् ।

छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए । तिब्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ (टनेल) भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो । पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ । 

उद्धारकर्ताहरुले सुरुङ भित्रको अवस्था दयनीय रहेको र रेलको अग्रभागका साथै डब्बाहरु कच्याककुचुक भएको पाएका थिए । तीमध्ये अगाडिको आठ नम्बरको डब्बामा सबैभन्दा बढी क्षति पुगेको थियो र यही डब्बामा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो, उद्धारकर्मी चाङ जि–चेनले बताउनुभयो ।  

ताइवानको गृह मन्त्रालयले देशभर तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएको थियो भने राष्ट्रपति चाई इङ्ग–वेनले हुलियानको अस्पतालमा पुगेर घाइतेहरुलाई भेट्नु भएको थियो ।

उक्त दुर्घटनामा परेका १७५ जनाभन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो । मृतकहरुमा एक जना फ्रान्सेली नागरिक पनि रहेका थिए । दुर्घटनामा परेकाहरुले आफूले भोगेका निकै डरलाग्दा कथाहरु सुनाएका छन् । एप्पल दैनिकसँग कुरा गर्दै एक पीडितले आफूले मानिसका शरीर र अङ्गहरु छरपस्ट देखेको बताएका छन् । 

ताइवानमा सन् २०१८ मा पनि ठूलै रेल दुर्घटना भएको थियो जसमा १८ जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दुईवटा रेल एकआपसमा ठोक्किएर भएको अर्को दुर्घटनामा ३० जना यात्रुको ज्यान जानुका साथै ११२ जना गम्भीर घाइते भएका थिए ।