४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको केभहिल

पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको केभहिल
अ+ अ-

बेनी । धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भू–भागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ । बेनी नगरपालिका–५ स्थित गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । बेनी नगरपालिका–५ गाजने र बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित केभहिल क्षेत्रमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।

बेनीबाट पुलाचौर हुँदै गाजनेसम्म सडकको पहुँच पुगेको छ भने बेनी–पुलाश्रम–घतानकोट–ढोलठान हुँदै केभहिल र तोरीपानीबाट पैदलमार्ग हुँदै आन्तरिक पर्यटक केभहिल क्षेत्रमा पुग्ने गर्छन् । केभहिलमा बेनी नगरपालिकाले भ्यूटावर, पदमार्गलगायतका पूर्वाधार निर्माण गरेपछि पर्यटकको आगमन बढेको स्थानीयवासी बताउँछन् । पहिले गुफा डाँडाका नामले चिनिने यस क्षेत्रलाई पर्यटक आकर्षित गर्न केभहिलका नामले चिनाउन थालिएको र पर्यटन प्रवर्द्धन अभियानले पर्यटकको चहलपहल बढ्दो क्रममा छ । गाजने, पुलाश्रम र तोरिपानी क्षेत्र भएर केभहिलको भ्रमणमा जानेहरू बढेको तोरिपानीका स्थानीय सागर बानियाँले बताउनुभयो ।

“पहिले खासै चर्चामा थिएन, अहिले यस क्षेत्रको प्रचार–प्रसार र पर्यटन पूर्वाधार बन्ने क्रम बढेपछि आन्तरिक पर्यटक बढेका छन्, शनिबार र बिदाका समयमा त यस क्षेत्रमा घुम्न आउनेको लर्को नै लाग्ने गर्छ”, उहाँले भन्नुभयो । यहाँबाट धवलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको अवलोकन गर्न सकिन्छ । प्राकृतिकरूपमै भ्यू प्वाइन्टको आकारमा समुद्री सतहबाट दुई हजार दुई सय मिटर उचाइमा रहेको केभहिलको पहाडबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमाल एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

पहाडको थुम्कोबाट मनोरम हिमशृङ्खला र भू–बनोटको अवलोकन गर्न पाउँदा मन प्रफुल्लित भएको केभहिलमा पुग्नुभएका बेनीका सङ्गीता पौडेलले बताउनुभयो । “ठाउँ अत्यन्तै रमाइलो रहेछ, म्याग्दीका धेरैजसो गाउँठाउँसमेत देख्न सकिने, हिमाल आँखै अगाडि उभिएजस्तो देखिने रहेछन्, पैदल र मोटरबाटो सजिलो भैदिए धेरै जना यहाँ आउन पाउने थिए”, उहाँले भन्नुभयो । केभहिल, डढेकोट र भुमेथानबाट हिमालका चुचुरा, वनजङ्गल, नदीनाला, विविधतायुक्त ग्रामीण भूगोल र बेँसीका तरेली परेका फाँटको मनमोहक दृश्यावलोकन गर्न पाउनु यहाँ पुग्ने पर्यटकका लागि प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

पर्यटकीयसँगै धार्मिक र ऐतिहासिक महत्वका हिसाबले समेत गाजने क्षेत्र सम्भावनायुक्त मानिन्छ । तत्कालीन बाइसे–चौबीसे राजाका पालामा तत्कालीन पर्वत राज्यका तृतीय मल्लराजा दिलीप बमले डढेकोटमा दरबार बनाएर शासन सञ्चालन गरेको इतिहासमा उल्लेख छ । गाजनेमा दिलीपबम मल्लले विसं १५५०–६० को समयमा जगन्नाथ मन्दिरसमेत निर्माण गरी नृत्य पूजाआजा गर्न सुरु गरेको मन्दिरसमेत रहेकाले यस क्षेत्र पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्वले भरिपूर्ण रहेको गाजनेका स्थानीय अगुवा नीलकण्ठ शर्माले बताउनुभयो ।

यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भ्यूटावर निर्माण, ऐतिहासिक जगन्नाथ मन्दिरको पुन:निर्माण, पदमार्ग निर्माणलगायतका कार्यले सहयोगी भूमिका खेलेको छ । विसं २०६९ मङ्सिर ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रु एक करोड आठ लाख रकममध्ये जगन्नाथ मन्दिरको पुन:निर्माणका लागि रु ४७ लाख ९१ हजार नौ सय ७३ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिवसमेत रहुनभएका स्थानीय अगुवा शर्माले जानकारी दिनुभयो ।

मन्दिर शिखरशैली एवं काठमाडौँको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ । डढेकोटमा तत्कालीन राजाले बनाएको दरबार भग्नावशेषका रूपमा रहेको छ । यस क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यको विकासका लागि पूर्वाधार निर्माण र प्रचार–प्रसारका लागि पहल गरिएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो । उहाँले नगरपालिकाबाट केभहिलमा भ्यूटावर निर्माण गरिएको र त्यसलाई थप सुधार गरेर सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो ।

गाजनेबाट डढेकोटसम्म पदमार्ग निर्माण भएको छ । पुलाचौरबाट नयाँगाउँ हुँदै जगन्नाथसम्म सडक पुहँच पुगेको छ । यो सडकलाई स्तरोन्नति गरी नियमित सहज सवारीआवत जावत गर्ने बनाउनका लागि नगरपालिका र प्रदेश सरकारमा पहल गरिएको छ । बेनीबाट पदमार्गले समेत जोडिएको यो क्षेत्रलाई व्यवस्थित पदमार्ग बनाउन बेनी–अर्थुङ्गे–पुलाश्रम–घतानकोट–ढोलठान–केभहिल–डढेकोट हुँदै पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग निर्माण गर्न सकेमा यो क्षेत्रको पर्यटन विकासले थप सार्थकता पाउने वडाध्यक्ष बानियाँको भनाइ छ । यस क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरेर गाजनेमा घरबास र सरिबोटको फाँटमा होटल सञ्चालन गर्ने स्थानीयवासीले तयारी गरेका छन् । रासस