• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको केभहिल



बेनी । धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भू–भागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ । बेनी नगरपालिका–५ स्थित गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । बेनी नगरपालिका–५ गाजने र बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित केभहिल क्षेत्रमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।

बेनीबाट पुलाचौर हुँदै गाजनेसम्म सडकको पहुँच पुगेको छ भने बेनी–पुलाश्रम–घतानकोट–ढोलठान हुँदै केभहिल र तोरीपानीबाट पैदलमार्ग हुँदै आन्तरिक पर्यटक केभहिल क्षेत्रमा पुग्ने गर्छन् । केभहिलमा बेनी नगरपालिकाले भ्यूटावर, पदमार्गलगायतका पूर्वाधार निर्माण गरेपछि पर्यटकको आगमन बढेको स्थानीयवासी बताउँछन् । पहिले गुफा डाँडाका नामले चिनिने यस क्षेत्रलाई पर्यटक आकर्षित गर्न केभहिलका नामले चिनाउन थालिएको र पर्यटन प्रवर्द्धन अभियानले पर्यटकको चहलपहल बढ्दो क्रममा छ । गाजने, पुलाश्रम र तोरिपानी क्षेत्र भएर केभहिलको भ्रमणमा जानेहरू बढेको तोरिपानीका स्थानीय सागर बानियाँले बताउनुभयो ।

“पहिले खासै चर्चामा थिएन, अहिले यस क्षेत्रको प्रचार–प्रसार र पर्यटन पूर्वाधार बन्ने क्रम बढेपछि आन्तरिक पर्यटक बढेका छन्, शनिबार र बिदाका समयमा त यस क्षेत्रमा घुम्न आउनेको लर्को नै लाग्ने गर्छ”, उहाँले भन्नुभयो । यहाँबाट धवलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको अवलोकन गर्न सकिन्छ । प्राकृतिकरूपमै भ्यू प्वाइन्टको आकारमा समुद्री सतहबाट दुई हजार दुई सय मिटर उचाइमा रहेको केभहिलको पहाडबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमाल एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

पहाडको थुम्कोबाट मनोरम हिमशृङ्खला र भू–बनोटको अवलोकन गर्न पाउँदा मन प्रफुल्लित भएको केभहिलमा पुग्नुभएका बेनीका सङ्गीता पौडेलले बताउनुभयो । “ठाउँ अत्यन्तै रमाइलो रहेछ, म्याग्दीका धेरैजसो गाउँठाउँसमेत देख्न सकिने, हिमाल आँखै अगाडि उभिएजस्तो देखिने रहेछन्, पैदल र मोटरबाटो सजिलो भैदिए धेरै जना यहाँ आउन पाउने थिए”, उहाँले भन्नुभयो । केभहिल, डढेकोट र भुमेथानबाट हिमालका चुचुरा, वनजङ्गल, नदीनाला, विविधतायुक्त ग्रामीण भूगोल र बेँसीका तरेली परेका फाँटको मनमोहक दृश्यावलोकन गर्न पाउनु यहाँ पुग्ने पर्यटकका लागि प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

पर्यटकीयसँगै धार्मिक र ऐतिहासिक महत्वका हिसाबले समेत गाजने क्षेत्र सम्भावनायुक्त मानिन्छ । तत्कालीन बाइसे–चौबीसे राजाका पालामा तत्कालीन पर्वत राज्यका तृतीय मल्लराजा दिलीप बमले डढेकोटमा दरबार बनाएर शासन सञ्चालन गरेको इतिहासमा उल्लेख छ । गाजनेमा दिलीपबम मल्लले विसं १५५०–६० को समयमा जगन्नाथ मन्दिरसमेत निर्माण गरी नृत्य पूजाआजा गर्न सुरु गरेको मन्दिरसमेत रहेकाले यस क्षेत्र पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्वले भरिपूर्ण रहेको गाजनेका स्थानीय अगुवा नीलकण्ठ शर्माले बताउनुभयो ।

यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भ्यूटावर निर्माण, ऐतिहासिक जगन्नाथ मन्दिरको पुन:निर्माण, पदमार्ग निर्माणलगायतका कार्यले सहयोगी भूमिका खेलेको छ । विसं २०६९ मङ्सिर ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रु एक करोड आठ लाख रकममध्ये जगन्नाथ मन्दिरको पुन:निर्माणका लागि रु ४७ लाख ९१ हजार नौ सय ७३ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिवसमेत रहुनभएका स्थानीय अगुवा शर्माले जानकारी दिनुभयो ।

मन्दिर शिखरशैली एवं काठमाडौँको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ । डढेकोटमा तत्कालीन राजाले बनाएको दरबार भग्नावशेषका रूपमा रहेको छ । यस क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यको विकासका लागि पूर्वाधार निर्माण र प्रचार–प्रसारका लागि पहल गरिएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो । उहाँले नगरपालिकाबाट केभहिलमा भ्यूटावर निर्माण गरिएको र त्यसलाई थप सुधार गरेर सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो ।

गाजनेबाट डढेकोटसम्म पदमार्ग निर्माण भएको छ । पुलाचौरबाट नयाँगाउँ हुँदै जगन्नाथसम्म सडक पुहँच पुगेको छ । यो सडकलाई स्तरोन्नति गरी नियमित सहज सवारीआवत जावत गर्ने बनाउनका लागि नगरपालिका र प्रदेश सरकारमा पहल गरिएको छ । बेनीबाट पदमार्गले समेत जोडिएको यो क्षेत्रलाई व्यवस्थित पदमार्ग बनाउन बेनी–अर्थुङ्गे–पुलाश्रम–घतानकोट–ढोलठान–केभहिल–डढेकोट हुँदै पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग निर्माण गर्न सकेमा यो क्षेत्रको पर्यटन विकासले थप सार्थकता पाउने वडाध्यक्ष बानियाँको भनाइ छ । यस क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरेर गाजनेमा घरबास र सरिबोटको फाँटमा होटल सञ्चालन गर्ने स्थानीयवासीले तयारी गरेका छन् । रासस