वीरेन्द्रनगरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल कर्णाली प्रदेशको आइतबार बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको छ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षधर सांसदहरु पनि सहभागी बैठकले मन्त्रीहरुलाई राजीनामा गराउन निर्देशन दिएको थियो ।
संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले ‘तीन जना मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएकोे थियो ।
नेकपा एमालेको उक्त निर्णयपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद धरापमा परेको छ । ४० सदस्यीय प्रदेशसभामा शाहीको दल माओवादी केन्द्रको १२ सांसद (१३ मध्ये एमाले प्रवेश गरेका धर्मराज केसीलाई कारबाही गर्ने निर्णय भइसेको छ) छन् । सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।
बैठकमा सहभागी एक सांसदले पार्टीको निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाएको बताए ।
संसदीय दलका नेता यामलाल कंडेलले गत चैत ४ गते भएको निर्णय अनुसार नै पार्टी अघि बढेको जानकारी दिए । उनले आजको बैठक सौहार्दपूर्णरुपमा सम्पन्न भएको र अर्को बैठक आगामी चैत २४ गते बस्ने तय भएको बताए ।
बैठकले दलको विधान निर्माणको लागि समिति बनाएको छ । प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य भएको कार्यदल बनाइएको हो । २४ गतेको वैठकमा समितिले विधान पेश गर्नेछ ।
नेकपा एमालेले चैत ५ गतेदेखि लागू हुनेगरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेकाले अविलम्ब मार्गप्रशस्त गर्नका लागि आग्रह गरिएको छ ।
दलका नेता कंडेलले नेकपा एमाले संसदीय दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा बाँकी रहेका दलहरु मिल्दा पनि संख्या नपुग्ने देख्दादेख्दै विश्वासको मत लिन्न भन्ने कुराले राजनीतिमा राम्रो गर्दैन भन्दै त्यसले समयको वर्वादी र विलम्ब मात्रै हुने बताए ।
कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी छन् ।











