• २० मंसिर २०८०, बुधबार
  •      Wed Dec 6 2023
  •   Unicode
Logo
Latest
★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी ★   बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार ★   बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर ★   विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो ★   बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा ★   बक्स अफिसमा ‘एनिमल’को धमाका: ५ सय करोड नजिक

पशुपति क्षेत्रका फूलपसल एवं अस्थायी टहरा १५ दिनभित्र व्यवस्थित गरिने



काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं टहरा १५ दिनभित्र व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेको छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवं टहरा राखिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवं उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । जसका कारण विश्वका विभिन्न भागबाट आउने तीर्थयात्री एवं पर्यटकका माध्यमबाट विश्वभर सकारात्मक सन्देश प्रवाह हुनसकेको छैन ।

भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकमासमेत यसले हिँडडुलमा समस्या हुनुका साथै नकारात्मक असर गरेको छ । पशुपति क्षेत्रको मापदण्ड एवं कोषको स्वीकृति नलिइ सञ्चालित पसल एवं बसोबासका लागि बनाइएका अस्थायी टहरा र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजासामग्री पसल, पूजा भाँडा पसल पनि हटाएर व्यवस्थित गर्न कोषले सुचित गरेको छ । 

पसल सञ्चालकसँग कोषले यसअघि गरेको सहमति बमोजिम निर्माण गरेको स्थायी संरचनामा गोलाप्रथाबाट छनोट गरी व्यवसाय गर्न दिइने कोषका सदस्य सचिव डा मीलनकुमार थापाले जानकारी दिनुभयो । 

पशुपति क्षेत्रबाट व्यवसायीलाई हटाउन नभइ व्यवस्थित गर्न लागेको उहाँले सुनाउनुभयो । पशुपति क्षेत्रलाई आकर्षक धार्मिक गन्तव्यका रुपमा विकास गर्न कोषले अव्यवस्थित संरचना हटाएर व्यवस्थित, सफा सुग्घरस्थलका रुपमा विकास गर्न लागेको हो । पशुपति क्षेत्रलाई प्रदूषणमुक्त बनाउन गत असोज महिनाको पहिलो शनिबारदेखि स्वच्छ पशुपति अभियान सुरु गरिएको छ । अभियानमा कलाकार एवं स्थानीयवासीको सहभागिता जुट्ने गरेको छ ।
 
स्थायी संरचनामा कोषको सार्वजनिक खरिद महाशाखासँग समन्वय गरेर पसल सञ्चालनका लागि गोलाप्रथाबाट छानिएकाले सामान सारेर व्यवसाय गर्न सक्नेछन् । हाल गोलाप्रथाबाट नछानिनेका लागि आवश्यकता र औचित्यका आधारमा पसल उपलब्ध गराउँदै जाने योजना बनाइएको कोषले जनाएको छ । 

कोषले जारी गरेको सूचनाअनुसार १५ दिनभित्र पसल नसार्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने भएको छ । १५ दिनभित्र नहटाइने पसल एवं सामान कोषले आफै हटाउने तयारी गरेको छ । यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पनि सम्बन्धित पसल सञ्चालकले नै लिनुपर्ने छ । 
 
कोषले घर टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्न पैदलयात्रीलाई असर गर्ने गरी राखिएका पाली एवं टहरा, नाङ्ले पसलसमेत १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । यसअघि पनि कोषले यस्तो सूचना प्रकाशन  गरेकामा कोरोना महामारी फैलिएका कारण कार्यान्वयन हुनसकेको थिएन । यसपटक भने कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले गत हप्ता पशुपति क्षेत्रको अवलोकन गरी व्यवस्थित गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभएकाले कार्यान्वयन हुन लागेको हो ।

पशुपति क्षेत्रमा यसअघि गोलाप्रथाबाट १९९ जनालाई फूलपसल राख्ने अनुमति दिइएको थियो । पछि केही व्यवसायी थपिएपछि हाल त्यहाँ करिब २५० फूलपसल छन् । फूलपसल व्यवस्थित गर्न कोषले ६४ वटा पसल राख्न मिल्ने गरी स्थायी भवन निर्माण गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । यो भवनमा गोलाप्रथाबाट ६४ पसल छान्ने तयारी कोषले गरेको छ ।

 व्यवस्थित गर्ने क्रममा बाँकीलाई भने नयाँ संरचना निर्माण हुँदा अवसर दिने नीति कोषले लिएको छ । कोषले विसं २०५८ मा पशुपति क्षेत्रबाट विस्थापित भएकाका लागि उपहार पसल सञ्चालनका लागि पनि स्थायी संरचना निर्माण गरेको थियो । पशुपति क्षेत्रलाई खुला गर्ने क्रममा जग्गा अधिग्रहण गरेको परिवारलाई उपहार पसल चलाउन प्राथमिकताका साथ राखिएको थियो । उपहार पसलका रुपमा २६ वटा पसल सञ्चालनमा छन् । भत्केका घरका सटरमा पसल चलाउनेलाई पनि उपहार पसल चलाउन प्राथमिकताका साथ राखेको कोषले जनाइएको छ ।

पशुपति क्षेत्रमा सुधार अभियानलाई निरन्तरता दिने तयारीसमेत गरिएको छ । यस क्षेत्रका जीर्ण भवन, पाटी पौवालाई सुधार गरेर अघि बढाइने तयारी भएको छ । भक्तजनलाई पशुपति क्षेत्रमा जाऔँ–जाऔँ लाग्ने गरी व्यवस्थित गर्न लागिएको सदस्य सचिव थापाले सुनाउनुभयो । (रासस,पूर्णप्रसाद मिश्र)