• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

यो हो संसारको सबैभन्दा पातलो होटल, के–के छन् सुविधा ?



एजेन्सी । अनौठो भवनको भिडियो र तस्बिरहरू प्रायः सोशल मिडियामा हेडलाइन बनाउँछन् । हालै इन्डोनेसियाको एउटा होटल चर्चामा छ । वास्तवमा सेन्ट्रल जाभाको सलाटिगा टाउनमा रहेको ‘पिटुरुम्स’ होटललाई विश्वको सबैभन्दा पातलो होटल मानिन्छ ।

९ फिट चौडाइमा बनेको यो होटल विलासी सुविधाले सुसज्जित छ । यो पाँच तले होटलको डिजाइन र प्रत्येक कोठाको भित्री भागको मानिसले प्रशंसा गरेका छन् ।

यस होटलले यहाँ बस्ने पाहुनाहरूलाई फरक अनुभव दिन्छ । द सनको रिपोर्टका अनुसार यो अचम्मको होटल प्रयोग नगरिएको जमिनको टुक्रामा निर्माण गरिएको हो । यो जग्गा सडक र घरको बीचमा रहेको देख्न सकिन्छ, जसलाई स्थानीयले डम्पिङ ग्राउन्डका रूपमा प्रयोग गर्दै आएका छन् ।

यो भवन सिंगापुर र जकार्तामा वास्तुकारको रूपमा तालिम लिएका आर्किटेक्ट एरी इन्द्रले पिटरुम्स प्रोजेक्टको एक हिस्साको रूपमा डिजाइन गरेको बताइएको छ ।

एरि इन्द्रले डिसेम्बर २०२२ मा यो होटल खोलेको बताइएको छ । यसको उद्घाटनदेखि नै यहाँ ९५ प्रतिशत पाहुना इन्डोनेसियाली रहेको बताइएको छ । सात कोठा भएको यस होटलको नाम पिटूरुम्स राखिएको छ किनभने जाभानीज भाषामा पिटू भनेको सात हो । विशेष कुरा यस होटलको माथिल्लो तल्लामा एक बार र रेष्टुरेन्ट छ, जसले यहाँ आउने पाहुनाहरूलाई धेरै विशेष र फरक अनुभव दिन्छ ।