• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले



चितवन । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् ।

यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन् । ‘अगष्ट’ महिनादेखि हिउँदे आगन्तुक चरा आउन थालेको जनाउँदै उहाँले अहिले यस्ता चरा कतिपय आइसकेको र कतिपय आउन बाँकी रहेको बताउनुभयो । यस्ता चरा ‘अक्टोबर’सम्म आउने उहाँले जानकारी दिनुभयो । नेपालकै पहाडी भागबाट समेत चिसो छल्न चितवनमा चरा आउने गरेका छन् ।

चराविद् हेमसागर बरालका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्र्छे, मालक, खडखडे, बिजुला, गैरीजस्ता चरा आउँछन् भने सुडसुडिया प्रजाति वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाज हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो छल्न, आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”

नेपालमा एक सय ५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गरेको जनाउँदै उहाँले अहिलेसम्म एक सय प्रजातिका चरा आइसकेको बताउनुभयो । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उहाँले जानकारी दिनुभयो । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको उहाँले बताउनुभयो ।

नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल आठ सय ९२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा छ सय ५० प्रजातिका चरा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउ नदी र यस वरपरका सिमसार क्षेत्रमा जलपक्षीको राम्रो बासस्थान हुने गरेको छ । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पक्षीको राम्रो विचरण क्षेत्र हुन् । रासस