५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् ।

यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन् । ‘अगष्ट’ महिनादेखि हिउँदे आगन्तुक चरा आउन थालेको जनाउँदै उहाँले अहिले यस्ता चरा कतिपय आइसकेको र कतिपय आउन बाँकी रहेको बताउनुभयो । यस्ता चरा ‘अक्टोबर’सम्म आउने उहाँले जानकारी दिनुभयो । नेपालकै पहाडी भागबाट समेत चिसो छल्न चितवनमा चरा आउने गरेका छन् ।

चराविद् हेमसागर बरालका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्र्छे, मालक, खडखडे, बिजुला, गैरीजस्ता चरा आउँछन् भने सुडसुडिया प्रजाति वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाज हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो छल्न, आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”

नेपालमा एक सय ५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गरेको जनाउँदै उहाँले अहिलेसम्म एक सय प्रजातिका चरा आइसकेको बताउनुभयो । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उहाँले जानकारी दिनुभयो । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको उहाँले बताउनुभयो ।

नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल आठ सय ९२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा छ सय ५० प्रजातिका चरा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउ नदी र यस वरपरका सिमसार क्षेत्रमा जलपक्षीको राम्रो बासस्थान हुने गरेको छ । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पक्षीको राम्रो विचरण क्षेत्र हुन् । रासस