• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर

बङ्गलादेशका कप्तान शकिब अल हसन राजनीतिमा प्रवेश



ढाका । बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गर्नुभएको छ । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उहाँले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामाङ्कन माग गर्नुभएको छ ।

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामाङ्कन फाराम लिनुभएको छ । प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन् ।

क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भन्नुभयो, “उहाँ सेलिब्रिटी हुनुहुन्छ र देशका युवाहरूमाझ लोकप्रिय हुनुहुन्छ ।” शकिबको उम्मेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ । नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने आशा व्यक्त गर्नुभएको छ ।

पछिल्लो १५ वर्षदेखि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको नेतृत्व गरिरहनुभएकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ । यदि विपक्षी दलहरूले निर्वाचनलाई बहिष्कार गरेभने उहाँ चौथो पटक सत्तामा फर्कने करिब निश्चित छ ।

हसिनाले मुलुकमा प्रभावशाली आर्थिक वृद्धि हासिल गर्नुभएको छ तर पश्चिमी मुलुकहरूले प्रजातान्त्रिक मूल्य मान्यता खस्केको भन्दै उहाँलाई चेतावनी दिएका छन् । साथै पछिल्ला दुई निर्वाचनमा उहाँमाथि विपक्षीहरूले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् ।

क्रिकेट खेल अत्यन्त लोकप्रिय भएको दक्षिण एसियामा क्रिकेटरहरूका लागि राजनीतिमा आउनु कुनै नयाँ कुरा होइन । यद्यपि खेल करियरकै क्रममा राजनीतिमा आउनु दुर्लभ हो । पूर्वक्रिकेट कप्तान मशरफ मुर्तजा सन् २०१८ मा राजनीतिामा प्रवेश गर्नुभएको थियो र सोही वर्ष उहाँ सत्तारूढ दलबाट विधायक निर्वाचित हुनुभएको थियो । राजनीतिमा ध्यान केन्द्रीत गर्न खेल छाड्नुअघि उहाँले सन् २०१९ विश्वकपमा बङ्गलादेशको नेतृत्व गर्नुभएको थियो ।

तीन वटै ढाँचामा बङ्गलादेशका नियमित कप्तान शकिब अहिले औँलाको चोटबाट ग्रसित हुनुहुन्छ । सो चोटले उहाँलाई न्युजिल्यान्डविरुद्धको आगामी टेस्ट शृङ्खला छोड्न बाध्य बनाएको छ । उहाँलाई विश्वकपमा श्रीलङ्काविरुद्धको प्रतियोगिताका क्रममा चोट लागेको थियो ।

सोही प्रतियोगितामा उहाँले एन्जेलो म्याथ्युजविरुद्ध एउटा असामान्य अपिल गरेपछि चर्चा बटुल्नुभएको थियो । उहाँको सोही अपिलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा म्याथ्युज पहिलो पटक टाइम आउट हुनुभएको थियो ।