• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

एकदिवसीय विश्वकपको फाइनल आज, उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै



काठमाडौँ । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपको फाइनल आज आइतबार हुँदैछ । उपाधिका लागि आयोजक भारत र पाँच पटकको विजेता अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा २ बजे अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

आजको खेलबाट भारत तेस्रो पटक विश्व च्याम्पियन बन्ने कि अष्ट्रेलियाले फेरि भारतलाई स्तब्ध पार्दै छैटौं पटक विश्व उपाधि जित्ने भन्ने टुंगो लाग्नेछ ।

प्रदर्शन र भाग्य दुवै रोहित शर्माको टिममा अहिलेसम्म रहेको छ । अपराजित रहँदै भारतीय टोली विश्वकपको फाइनल खेल्न लागेको यो पहिलो पटक हो । भारतले १० मध्ये १० खेल नै जितेको छ । यदि भारतले आइतबारको ११औं खेल जित्यो भने अष्ट्रेलिया र वेस्ट इन्डिजपछि कुनै पनि खेल नहारी विश्व च्याम्पियन बन्ने तेस्रो राष्ट्र हुनेछ ।

जब कपिल देवले १९८३ मा लर्ड्समा विश्वकप ट्रफी उचाले, त्यो भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात थियो । महेन्द्र सिंह धोनीले २०११ मा वानखेडे स्टेडियममा फाइनलमा विजयी छक्का प्रहार गरे, जसले विश्व क्रिकेटमा भारतको प्रभुत्वको सुरुवात गरेको थियो ।

लगातार १० खेल जितेको भारतीय टोलीले तुलनात्मक रूपमा अस्ट्रेलियाभन्दा राम्रो प्रदर्शन गरेको छ । भारत १२ वर्षपछि फेरि विश्वकप जित्ने प्रबल दावेदार हो । अर्कोतर्फ, अष्ट्रेलियालाई कम आँकलन गर्न सकिँदैन । उसले पछिल्लो सात फाइनलमध्ये पाँच फाइनल जितेको छ ।

भारत र अष्ट्रेलिया अहिलेसम्म एकदिवसीय क्रिकेटमा १५० पटक आमनेसामने भएका छन् । जसमध्ये भारतले ५७ र अष्ट्रेलियाले ८३ खेल जितेको छ । १० खेलमा नतिजा आएको छैन । दुवै टोली भारतीय भूमिमा ७१ पटक भिडेका छन् ।

जसमध्ये भारतले ३३ खेल जितेको छ भने अष्ट्रेलियाले पनि ३३ खेल जितेको छ । पाँच खेलमा नतिजा आएको छैन । विश्वकपमा दुवै टोली १३ पटक भिडेका छन् । भारतले पाँच पटक र अष्ट्रेलिया आठ पटक जितेको छ ।

भारत र अष्ट्रेलिया कुनै पनि प्रतियोगिताको फाइनलमा १३ पटक भिडेका छन् । यीमध्ये चार खेलमा भारत र अष्ट्रेलियाले नौ खेल जितेको छ ।

पछिल्लो १० वर्षमा दुवै टोली एकदिवसीयमा ३९ खेलमा आमनेसामने भएका छन् । भारतले १९ खेल जितेको छ भने अष्ट्रेलियाले १८ खेल जितेको छ । दुई खेलमा नतिजा आउन सकेन । यस्तै, पछिल्लो १० वर्षमा दुवै टोली भारतीय भूमिमा २४ पटक भिडेका छन् । जसमध्ये भारतले १४ खेल जितेको छ भने अष्ट्रेलियाले ९ खेल जितेको छ । एउटा खेल भने अनिर्णित रह्यो ।