२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

छठपर्व सुरु: पोखरीहरु सजाउने कार्य अन्तिम चरणमा-फोटो फिचर

छठपर्व सुरु: पोखरीहरु सजाउने कार्य अन्तिम चरणमा-फोटो फिचर
अ अ+ अ-

वीरगञ्ज (पर्सा): तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ ।

कतिपय पोखरीका घाटहरुमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्त्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा, नगवा, छपकैया, श्रीपुर पोखरी तथा रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको सक्रियतामा सरसफाइ गरी सजाउने काम अन्तिम चरणमा पुगेकोे छ ।

प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यामा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारहरुमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठमा आवश्यक पर्ने सामानको मूल्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् । यो वर्ष भोलि (आइतबार) षष्ठीका दिन विधिपूर्वक साँझको अघ्र्य दिने परम्परा भए पनि यसको मुख्य विधि भने हिजैदेखि निष्ठापूर्वक सुरु भइसकेको छ ।

छठ पर्वको पहिलो दिन हिजो व्रतालुहरुले नहायखाय गरी पर्वको आरम्भ गरेका छन् । छठको दोस्रो दिन आज खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुहरु दिनभरि उपवास बस्ने पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।

“बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाइन्छ”, उहाँले भन्नुभयो, “यस्तो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादका रुपमा ग्रहण गर्दछन् ।” यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको शास्त्रीले बताउनुभयो । उहाँका अनुसार अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा बजार तथा पोखरी, घाटहरुमा भीड लाग्ने गर्छन् । अहिले गाउँगाउँ घरघरमा छठ पर्वको गीत गुञ्जिन थालेका छन् । योसँगै सूर्यषष्टी अर्थात् छठ पर्व प्रारम्भ भएको छ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

ज्योतिष शास्त्रका आधारमा छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलदायीसमेत मानिएको पण्डित शास्त्रीले बताउनुभयो । छठ पर्वको मुख्य प्रसादका रुपमा रहेको फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गरिन्छ ।

छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । छठका लागि तयार पारिएका घाटहरुमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रतालु महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गर्दछन् ।

महाभारतअनुसार द्रोपतीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठ पर्व मनाउने परम्परा चलिआएको जनविश्वास रहेको पण्डित शास्त्रीले बताउनुभयो ।

अर्को तिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात् अटलसौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको उहाँको कथन छ । छठ पर्व मनाउनाको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्वहरु पनि त्यतिकै महत्त्व राख्ने शास्त्रीले बताउनुभयो । “जसअनुसार सूर्य तत्त्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण ठानिन्छ । भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्त्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ”, उहाँले भन्नुभयो ।

घडिअडर्वा पोखरीमा छठघाट निर्माण 

छठपर्वका लागि वीरगञ्जस्थित घडिअडर्वा पोखरीलाई दुलही झैँ शृङ्गारिएको छ । छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।

यो वर्ष घडिअडर्वामा छठ घाटको सजावट र व्यवस्थापनमा गर्न करिब रू १५ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको समितिका अध्यक्ष दिलीप साह कानुले जानकारी दिनुभयो । टेन्टपण्डाल, परिसर बाहिरको बत्ती सजावट, भिडियोग्राफी, पुरस्कार, सरसफाइलगायत काममा खर्च भएको उहाँको भनाइ थियो ।

छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी एक सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वयंसेवक परिचालन गरिने अध्यक्ष कानुले बताउनुभयो । उहाँका अनुसार छठघाट परिसरमा २० वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ ।

छठपर्वका अवसरमा रक्तदान

छठ पर्वका अवसरमा घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन र असहायहरुमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था

छठ पर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न वीरगञ्ज नगरक्षेत्रसहित जिल्लाभरि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार छठघाटमा सुरक्षाका लागि थप प्रहरीसमेत परिचालन गरिने छ ।

छठ व्रतालुहरू पूजा गर्न पोखरी, नदी, तलाउ लगायतका स्थानमा जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष क्युआरटी टोली, मोबाइल गस्तीदेखि, स्ट्राइकिङ सहितका प्रहरी टोली परिचालन गरिने प्रहरी उपरीक्षक शाहले बताउनुभयो । छिटो प्रतिक्रिया (फास्ट रिस्पोन्स) का लागि क्युआरटी अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलगत्तै वीरगञ्ज महानगरमा पाँच मिनेटभित्र क्युआरटी टोली पुग्ने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।रासस