२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

छठमय मिथिला : उल्लासमय वातावरण-फोटो फिचर

छठमय मिथिला : उल्लासमय वातावरण-फोटो फिचर
अ अ+ अ-

महोत्तरी  :  छठ पर्वले मधेसका महोत्तरीसहितको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका सहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ । विभिन्न रङका कलात्मक बिजुलीको उज्यालोले मिथिला क्षेत्र जगमगाएको छ ।

मिथिलाका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन् । गाउँ बस्तीका कच्ची घर पनि अहिले नयाँ माटोले लिपपोत गरिएपछि टिलिक्क भएका छन् । विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ । गाउँका गरिब अभाव, दुःख  र अन्य पीडा बिर्सेर खुसी साटी रहेका देखिन्छन् ।

भगवान् सूर्य र षष्ठी देवीको उपासना गरिने यो पर्वका लागि अहिले पवित्र जलाशयमा सुन्दर घाट बनाइएका  छन् । जलाशयमा कम्मरसम्म डुब्ने पानीमा आसन जमाएर सूर्यलाई अघ्र्य दिइने परम्पराको यो पर्वमा घाटस्थलहरु अहिले बेहुली झैं सिङ्गारिएका छन् । हिजो बिहीबार  कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबाअरबाइन’ विधिबाट पर्वको तयारी थालेका बर्तालुले आज शुक्रबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधि गरेका छन् । ‘नहाय–खाय’ विधि व्रत सङ्कल्पका लागि पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रतको पूर्वतयारीसँग जोडिने यहाँका पाका मैथिल बताउँछन् ।

पर्वको तयारीले मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा भगवान् सूर्य र छठी माताको भक्तहरुप्रति करुणा वर्षिएको भावका गीत लगातार गुञ्जीरहेका छन् । पर्व सुरु भएसँगै यस भेगका सबै दैनिक गतिबिधि पनि छठ केन्द्रित भएका छन् । यसले सम्पूर्ण परिवेश नै छठमय बनेको छ ।

पर्वविशेषले सूर्यलाई अघ्र्य दिदा देखाइने ठकुवा, भुसुवालगायत परिकार पकाउन आवश्यक सामग्रीको जोहोमा बर्तालु परिवार व्यस्त छन् । पर्वका लागि आवश्यक सामग्रीको जोहो हुँदैछ । पर्वको मुख्य दिन निराहार व्रत गरिने षष्ठी तिथि भएपनि त्यसपूर्व नै मिथिलाको सम्पूर्ण परिवेश छठमय बनेको छ । पर्वको तयारीमा रहेका बर्तालुु मात्र नभएर मैथिल जनजीवनका सबैजसो गतिविधि पर्वकै तयारीमा केन्द्रित छन् ।

छठपर्वमा उखु, केरा, अदुवा, बेसार, ज्यामिर, भोगटेसहितका कृषि उपज पूजा सामग्री मानिदै आएका छन् । यसले थोरै जग्गा भएका गरिबले करेसाबारीमै उब्जाएका यी फसलले राम्रो बजार पाउने गरेका छन् । पर्वका अन्य आवश्यकता आफ्नो करेसाबारीका यिनै उपज बेचेर सजिलै पूरा गरिएको आफैँ पनि छठ व्रत गर्नु भएकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी हेमकली थारु बताउनुहुन्छ ।

काम गर्न टाढा पुगेका परिवारजन पर्वका लागि घर आएका छन् । पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ । यसअघिका जीवनमा भोगिएका सबै अभाव र दुःख बिर्सेर गरिब पनि आफ्नो क्षमताअनुसार पर्व मनाउन जुटेका छन् । छठको अर्को विशेषता घर परिवेशको स्वच्छता एवं शुद्धता रहेको यस भेगका बुढापाका बताउँछन् । “आर्थिक रुपमा कोही सम्पन्न वा कोही गरिब हुन सक्छन्” महोत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वा सङ्ग्रामपुरका बासिन्दा ६५ वर्षीय राजकिशोर यादव भन्नुहुन्छ, “तर घर परिवेशको स्वच्छता र सरसफाइमा सबैले ध्यान दिएका छन् ।”

पर्वको अर्को सामाजिक विशेषता आपसी मनोमालिन्य हट्नु र प्रेमभाव देखिनु रहेको छठ तयारीलाई नजिकबाट नियालेका अन्य फरक धर्मावलम्बीको बुझाइ छ । “एक ठाउँमा बसेपछि गृहस्थ जीवनमा ठाकठुक त कहिलेकाँही पर्छ” जिल्लाको बलवा नगरपालिकाको रौजाका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता इस्लाम धर्मावलम्बी मन्सुल कवारी भन्नुहुन्छ, “तर छठ पर्वको तयारी सुरु भएपछि बोल्न छाडेका छिमेकी पनि विनम्र भएर कुराकानी गर्ने गर्छन् ।” पर्वमा शुद्धता, स्वच्छता, श्रद्धा र निष्ठाको मूलभाव रहने भएकाले नै छठ पर्वभरि सामाजिक किचलो र झैझगडा पनि कम देखिने, सुनिने गरिएको महोत्तरीकै जलेश्वर–६ बखरी बस्तीका बासिन्दा यस क्षेत्रका प्रसिद्ध साहित्यकार  ८४ वर्षीय पूर्वप्रशासक महेश्वर रायको ठम्म्याइ छ । खासगरी मिथिलामा छठ पर्व नजिकिएसँगै सामाजिक, सांस्कृतिक र पारिवारिक परिवेश नै सङ्गीतमय र भक्तिमय बन्ने गरेको छ ।

विधिको गणनाले कात्तिक शुक्ल तृतीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा क्रमशः अरबाअरबाइन, नहाय–खाय, खरना, सझुका अरख र भोरका अरख मुख्य विधि मानिन्छन् । तृतीयाका दिन बर्तालुले उसिना चामल, माछामासु, कोदो, लसुन–प्याज खान छाड्छन् । यसलाई ‘अरबाअरबाइन’ भनिन्छ । चौथीका दिन बर्तालुले हात गोडाका नङ काटेर स्नान गरेर व्रत सङ्कल्प गर्दै चोखो खान्छन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । त्यसैगरी पञ्चमी तिथिमा राती एकछाकमात्र अलिनो खानेकुरा खाएर बर्तालुले ‘खरना’ विधि गर्दछन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिने ‘सझुका अरख’ सम्पन्न गरिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिने ‘भोरका अरख’ विधि भएपछि  पर्व समापन गरिने परम्परा छ ।

नेपाली समाजमा अझै निर्मूल हुन बाँकी जातीय छुवाछुत र उचनिचको भेदभाव पनि यो पर्वमा सबैका निम्ति समान छ । “ छठ घाटमा फरक जाति समुदायका बर्तालु आआफ्ना पूजा र प्रसाद सामग्री फिजाएर बस्छन्, यो बेला को छुत को अछुत भन्ने कसैले वास्ता गर्दैनन्”, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल भन्नुहुन्छ, “छठ पर्वमा देखिने यो अति नै सुन्दर पक्ष लाग्छ ।” दाहाल अगाडि भन्नुहुन्छ, “अन्य बेला उचोनिचो भनेर नाक खुम्च्याउने पनि सप्तमीका दिन बिहान घाटमा पर्व सम्पन्न गरेपछि दलित समुदायका बर्तालुले कथित उपल्लो जाति समुदायका भनिने दर्शकलाई प्रसाद स्वरुप ठकुवा, भुसुवा दिने र पाउनेले खुशीसाथ ग्रहण गरेका देखिन्छ ।”

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेलसम्म बर्तालुले सूर्य र छठी देवीको महत्ता झल्कने गीत गाएर आआफ्ना मनोकाङ्क्षा पूरा गरी दिन पुकारा गर्छन् । उपासकको इच्छित माग पूर्ति गर्ने भगवान सूर्यको उपासनाले सन्तान सुख र रोगव्याधी नलाग्ने हिन्दू मैथिल जनविश्वास रहेको छ । केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्वीले मनाउन थालेपछि छठ पर्व साझा बनेको यस क्षेत्रका वुद्घिजीवीको भनाइ छ । इस्लाम धर्मावलम्वीले भाकल गरेर अघ्र्य र प्रसाद सामग्री सूर्यलाई देखाइ दिन बर्तालु हिन्दूलाई अराएका बाक्लै देखिन्छ । अब छठ पर्व मुलुकको राजधानीसहित विभिन्न भेगमा धुमधामसँग मनाउन थालिएसँगै राष्ट्रिय पर्व बनेको आम मैथिल गर्वसाथ बताउँछन् ।

गोपालप्रसाद बराल / रासस